विश्वकै मूल्यवान ब्रान्ड एप्पलले स्मार्टफोनको विश्वबजारमा आफ्नो प्रभाव थप गुमाउँदै गएको तथ्यांकले देखाएको छ ।
एप्पलले स्मार्टफोन उत्पादन गरेर विश्व बजारमा सिपमेन्ट (ढुवानी) समेत पठाउने दर समेत पछिल्लो तीन वर्षयता लगातार घट्दै गएको छ । स्मार्टफोन ब्रान्डको बजार प्रभुत्वको श्रेणीकरण (र्याङ्किङ) का लागि सम्बन्धित कम्पनी वा ब्रान्डले सिपमेन्ट गरेको फोनको संख्या र बजार हिस्सालाई आधार मान्ने गरिएको छ ।
यसका आधारमा एप्पलको आइफोनलाई यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा दुई चिनियाँ स्मार्टफोन ब्रान्डले उछिनेका छन् । इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासको तथ्यांकले यस्तो देखाएको हो ।
आईडीसीको तथ्यांकअनुसार कोरियाली कम्पनी सामसङ उत्कृष्ट स्मार्टफोन ब्रान्डका रुपमा रहेको छ भने दोस्रोमा हुवावे र तेस्रोमा साओमीले स्थान बनाएको छ । अघिल्लो वर्ष अर्को चिनियाँ ब्रान्ड ओप्पो दोस्रो नम्बरमा थियो भने तेस्रोमा हुवावे ।
यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा साओमीले ओप्पोलाई मात्र नभएर स्मार्टफोनको विश्व बजारमा सबैभन्दा प्रिमियम ब्रान्डका रुपमा चिनिएको एप्पललाई समेत उछिनेर तेस्रो उत्कृष्ट स्मार्टफोन ब्रान्डका रुपमा उक्लिएको छ ।
तथ्यांक अनुसार, हुवावेले अघिल्लो वर्षको यही त्रैमासको तुलनामा चालु वर्ष सबैभन्दा ठूलो बजार गुमाएको छ । हुवावेको सिपमेन्ट समिक्षा अवधिमा झन्डै डेढ करोड थानले घटेको छ भने यस अवधिमा बजार हिस्सा पनि करीब २२ प्रतिशतले खस्किएको देखिन्छ ।
२०२० को तेस्रो त्रैमाससम्ममा विश्व बजारमा कुल ३५ करोड ३६ लाख थान स्मार्टफोन आपूर्ति भएका छन् । यो अघिल्लो वर्षको समान अवधिमा ४९ लाख थानले बढी थियो ।
अहिले पहिलो स्थानमा रहेको सामसङले चालु वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ४ लाख थान सिपमेन्ट गरेको आईडीसीको तथ्यांकले देखाएको छ । यस्तै, हुवावेको ५ करोड १९ लाख, साओमीको ४ करोड ६५ लाख र एप्पलको ४ करोड १६ लाख थान रहेको छ ।
यसका साथै, चालु वर्षको तेस्रो त्रैमासमा सामसङको बजार हिस्सा गत वर्षको तुलनामा करीब १ प्रतिशतले बढेर २२।७ प्रतिशत पुगेको छ । यसको सिपमेन्ट भने २।९ प्रतिशतले बढेको तथ्यांक छ ।
हुवावेको बजार हिस्सा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष झन्डै ४ प्रतिशतले खस्किएको छ । सिपमेन्टमा २२ प्रतिशतले गिरावट देखिएको छ । साओमीले भने विश्व बजारमा समिक्षा अवधिमा पोहोरको भन्दा ४२ प्रतिशत अर्थात् एक करोड ३८ लाख थान बढी स्मार्टफोन सेट पुर्याएको छ । यससँगै तेस्रो अग्रणी स्मार्टफोन ब्रान्डमा उक्लिएको साओमीको बजार हिस्सा अघिल्लो वर्षको ९।१ प्रतिशतबाट अहिले १३।१ प्रतिशत पुगेको छ ।
बजार गुमाउँदै गएको एप्पलको भने बजार हिस्सा समिक्षा अवधिमा १३ प्रतिशतबाट ११।८ प्रतिशतमा झरेको देखिन्छ । यस अवधिमा यसको सिपमेन्ट पनि १०।६ प्रतिशतले कम भएको छ ।
एप्पलभन्दा एक स्थान पछाडि पाँचौंमा रहेको अर्को चिनियाँ ब्रान्ड भिभोले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको समान अवधिमा ४।२ प्रतिशतले स्मार्टफोन सिपमेन्ट संख्या वृद्धि गर्दै ३ करोड १५ लाख थान पुर्याएको छ भने बजार हिस्सा पनि ०।५ प्रतिशतले बढाएर ८।९ प्रतिशत हासिल गरेको छ ।
एप्पलको मोबाइल सेट सिपमेन्ट अघिल्लो वर्ष २०१९ मा पनि सन् २०१८ को भन्दा ६० लाख थानले घटेको थियो । यसले २०१८ को दोस्रो त्रैमाससम्ममा ४ करोड १३ लाख थान मोबाइल सेट विश्व बजारमा पठाएको थियो भने गत वर्षको सोही अवधिमा यो संख्या ३ करोड ५३ लाख थान रहेको आँकडा छ । सिपमेन्ट मात्र नभएर गत वर्षको तेस्रो त्रैमासमा बिक्री समेत ११।८ प्रतिशतले घटेको एप्पलले जनाएको छ ।
कोभिड(१९ महाव्याधिका कारण पनि यो वर्ष स्मार्टफोनको विश्व बजार नराम्ररी खस्किने पूर्वानुमान थियो । त्यसविपरित स्मार्टफोनको बिक्री केही घटेको भए त्यो अपेक्षितभन्दा सन्तोषजनक रहेको बताइएको छ । सन् २०१९ को तुलनमा यस वर्षको तेस्रो त्रैमाससम्ममा स्मार्टफोन सिपमेन्ट १।३ प्रतिशतले मात्र घटेको आईडीसीको तथ्यांक छ ।