नेपालगन्ज आईसीपीको काम शुरु हुँदै, परामर्शदाता र ठेकेदार छनौट


नेपालगन्ज २१ कात्र्तिक :  नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण कार्य अगाडी बढेको छ ।

नेपालगन्ज– रुपैडियामा संयुक्तरुपमा बन्ने उक्त आईसीपीको निर्माण कार्यका लागि भारतीय पक्षले परामर्शदाता र ठेकेदार कम्पनी छनौट गरेसंगै काम अगाडी बढेको हो । भारतीय लोकसभा निर्वाचन, कोरोना कहरले प्रभावित भएको काम अब शुरु हुने छ ।

आईसीपी निर्माण तथा सन्चालनमा प्रत्यक्ष चासो राख्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका मेकानिकल इन्जिनियर जीवन ढकालका अनुसार, भारतीय पक्षले राईट्स नाम कम्पनीलाई परामर्शदाता र राजदीप बिल्डकनलाई ठेकेदार कम्पनीका रुपमा छनौट गरी आईसीपी निर्माणको काम अगाडी बढाएको हो ।

परामर्शदाता र ठेकेदार कम्पनी छनौटसंगै भारतीय पक्षले नेपालमा ल्याउनुपर्ने भन्सार रहित सामाग्रीको सूची माष्टरलिष्ट पठाइसकेको छ ।

प्रयोग गर्न मिल्ने र नमिल्ने दुई थरी सामाग्री आयातको अनुमतिसंगै आईसीपीको काम औपचारिकरुपमा अगाडी बढ्ने छ । सबै कागजाती काम सम्पन्न भए तिहार पछि पूर्वाधार निर्माणको काम हुने अपेक्षा गरिएको छ ।

उक्त आईसीपीका लागि नेपाल पक्षले जग्गा अधिग्रहणको काम सम्पन्न गरिसक्दा पनि भारतले पूर्वाधार निर्माणका ढिलाई गरेको थियो ।

आईसीपी निर्माणको सम्पूर्ण जिम्मा भारतीय पक्षका भएकाले उक्त आईसीपी निर्माणको भविष्य भारतीय पक्षमै निर्भर रहेको छ । भारततर्फ ५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

२०७५ पुष ३० गते भारतका तत्कालिन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रुपैडियामा आएर शिलान्यास गरेका थिए ।

उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको पनि डेढ वर्ष बितिसक्दा समेत तर काम शुरु हुन सकेको थिएन ।

भारतले आफ्नो र नेपालतर्फ नै भौतिक पूर्वाधारको काम गर्न बाँकी छ ।

भारततर्फ १ सय ४२ एकड जमिनमा आईसिपी बन्दै छ ।

दुई अरव भारतीय रुपैया लागतमा दुई वर्षभित्र आईसिपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ । हाल काममा ढिलाई भएपनि अब भने काम चाँडो शुरु हुने आशा पलाएको छ । भवन निर्माण सम्बन्धी काम भने शहरी विकास कार्यालयले हेर्ने गर्छ ।

प्रकाशित मितिः     २१ कार्तिक २०७७, शुक्रबार १४:२५  |