तिहारपछि लाइसेन्स परिक्षा, ट्रायलको गृहकार्य


काठमाडौं । लामो समयदेखि रोकिएको सवारी अनुमति पत्र आवेदन(लाइसेन्स परिक्षा, ट्रायल) तिहार लगत्तै खुलाउने तयारी भएको छ । यातायात व्यवस्था विभाग तथा बागमती प्रदेश यातायात कार्यालयले कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै लाइसेन्स आवेदनलाई पनि निरन्तरता दिने गृहकार्य थालेको हो ।

कोरोना महामारीका कारण बन्द रहेका यातायातका सेवा गत असोज महिना देखि सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भएपनि नयाँ लाइसेन्सका लागी आवेदन, लिखित परिक्षा र ट्रायल कहिले खुल्ने भन्ने बिषयमा अन्योलता कायम नै थियो ।

अब भने यातायात व्यवस्था विभागले लाइसेन्स आवेदन रोकिएको लामो समय भएको भन्दै कारोना महामारीकै बिच वैकल्पिक उपाय अपनाउँदै ट्रायल परिक्षाको प्रक्रियालाई अगाडी बढाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोँगनकुमार हमालले सेवा बन्द भएको लामो समय भएको अवस्थामा कसरी व्यवस्थापन गरेर अगाडी बढ्ने भन्ने बिषयमा सम्बन्धीत निकायसँग छलफल भइरहेको बताए ।

‘हामीले लाइसेन्स ट्रायल खुलाउने भनेर मात्रै भएन, त्यसमा स्वास्थ्य मापदण्ड, सेफ्टी, स्वास्थ्य सुरक्षाका कुराहरु पनि आउँछन’ हमालले भने ‘सम्भवत तिहार लगतै लाइसेन्स ट्रायल खुलाउने गृहकार्य हो ।’

हाल लोकसेवा आयोग, लगायत स्कुल कलेजका सम्पूर्ण परिक्षाहरु बन्दै अवस्थामा छन् । सरकारले पनि परिक्षाको बिषयमा बैकल्पिक उपाय खोजिरहेको छ ।

खासगरी यातायातका सेवा अन्तर्गत अन्य क्षेत्रको तुलनामा लाईसेन्स आवेदन, लिखित परिक्षा, र ट्रायल परिक्षा सबैभन्दा बढी भीडभाड हुन्छ ।
भीडभाड कम गरी, स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तवरबाट कसरी सेवा दिन भन्ने बिषयमा केहि दिन भित्रै टुङ्गो लागउने विभागका महानिर्देशक हमालको भनाई छ ।

उनका अनुसार कोभिडका बीच लाइसेन्स परिक्षाको सन्दर्भमा नयाँ मापदण्ड खाका बनाएर अघि बढ्ने तयारी छ । यसै सन्दर्भमा विभिन्न निकाय, ट्राफिक प्रहरी, प्रदेश यातायात कार्यालय, स्टेकहोल्डरसँगको छलफलको क्रम अघि बढिरहेको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम ढकालपनि यो क्षेत्रलाई सधैँभरी बन्दै राखेर नहुने बताउँदै वैकल्पिक उपाय अपनाउँनुपर्ने बताउँछन् ।

लामो समय बन्द रहेको अवस्थामा पछि खुलाउँदा फेरी लाइसेन्स आवेदनको चाँप र भीडभाडलाई थेग्न वा व्यवस्थापनमा कठिनाइन नआउँला भन्न नसकिने उनको भनाई छ ।

हाल यातायात व्यवस्था विभागले पुराना बाँकी रहेका स्मार्ट लाइसेन्स छपाईको काम पनि सकिसकेको छ । अब नयाँ लाइसेन्स आवेदन तथा ट्रायल परिक्षा खुलेपछि सेवाग्राहीले लामो समय लाइसेन्सको पर्खाइमा बस्न नपर्ने समेत यातायात विभागले जनाउँदै आएको छ ।

विभागका अनलाइनमा मात्रै नभई सम्पूर्ण लाइसेन्स आवेदनमा कोटा प्रणाली लागू गर्ने योजना छ । तर, दैनिक यति आवेदन लिने भन्ने बिषयमा यकिन भइसकेको छैन् ।

प्रकाशित मितिः     २२ कार्तिक २०७७, शनिबार ०७:१९  |