सुदुरपश्चिमको बडिमालिकामा साढे ८ अर्ब लगानीमा केवलकार सञ्चालनको तयारी


काठमाडौं । सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा निजी लगानीमा केवलकार सञ्चालन हुने भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाको बाम्कादेखि बडिमालिकासम्म ८ किलोमिटर लामो केवलकार सञ्चालन गर्न खप्तड बडिमालिका केवलकार पर्यटन विकास समितिले लगानी बोर्डमा प्रस्ताव पेश गरेको छ ।

कम्पनीले गरेको प्रारम्भीक अध्ययनअनुसार केवलकार बनाउन साढे ८ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

विस्तृत अध्ययन पुरा भएपछि मात्र लगानी रकम यकिन हुनेछ । आन्तरिक लगानीबाट केवलकार बनाउने योजना कम्पनीले पेश गरेको लगानी बोर्डले जनाएको छ ।

बोर्डबाट अनुमति प्राप्त भएपछि केवलकारको थप संभाव्यता अध्ययन गरिने प्रर्वद्र्धक कम्पनी खप्तड बडिमालिकाले जानकारी दिएको छ । कम्पनी बोर्डको अनुमति पर्खाइमा छ ।

प्रसिद्ध तीर्थस्थल बडिमालिकालाई लक्षित गर्दै केवलकार सञ्चालन हुन लागेको हो ।

पछिल्लो समयमा केवलकारमा निजी लगानी बढिरहेको छ ।

नेपालका विभिन्न क्षेत्रमा एक दर्जन बढी केवलकार सञ्चालनको तयारीमा छन् । मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालन भइरहेको छ ।

यस्तै पोखराको बिरेठाँटीदेखि मुक्तिनाथसम्म ८० किलोमिटर लामो केवलकार पनि सञ्चालनको तयारी भएको छ ।

मौलाकाली, पोखराको पुम्दीभुम्दी र ताप्लेजुङको पाथिभरामा केवलकार सञ्चालनको तयारी छ ।

प्रकाशित मितिः     २३ कार्तिक २०७७, आईतवार १९:५९  |