नेपालगन्ज : कोभिडबाट प्रभावित होटल एवं पर्यटन क्षेत्र लक्षित सहुलियत प्याकेज ललिपप सावित भएको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् ।
मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ल्याएका कार्यक्रम झण्झटिलो बनाएका कारण त्यसबाट सरोकारावाला निकायले लाभ लिन निकै कठिन भएको भन्दै सच्याउन माग गरेका छन् ।
बाँकेका ठूला होटलहरुको संस्था हानका प्रतिनिधिहरुको आईतवार छलफल कार्यक्रम भएको थियो ।
स्रोतका अनुसार उक्त छलफलमा मौद्रिक नीति मार्फत आएका राहत कार्यक्रमले व्यवसायीलाई आहत दिने बाहेक अर्को कुनै काम गर्न नसकेको दुखेसो गरिएको थियो ।
सस्तो ब्याजदरमा दिने भनिएको पुर्नकर्जा यति झण्झटिलो प्रक्रियामा आधारित छ, जुन पाउन व्यवसायीलाई असाध्यै मुस्किल पर्ने गरेको विषयमा छलफल भयो ।
छलफलमा सहभागि होटल सन्चालकले भने,–‘अत्तो थाप्ने हिसावले पुर्नकर्जामा अनावश्यक प्रक्रिया राखिएका छन् जो पाउन व्यवसायीलाई कठिन छ ।’
कोभिडका कारण सबैभन्दा धेरै प्रभावित भएको होटल एवं पर्यटनक्षेत्रलाई राहातका लागि प्राथमिकता दिनुपर्नेमा सरकारले चासो नदिएको प्रति व्यवसायीले दुख मनाउन गरेका छन् ।
यस्ता विषयमा सामुहिकरुपमा आवाज उठाउने विषयमा पनि बैठकमा छलफल भएको छ । यसैबीच उक्त छलफलले हान बाँकेलाई औपचारिकता प्रदान गर्ने निर्णय गरेको छ ।
तदर्थ समितिलाई दर्ता प्रक्रियामा लैजानका लागि पाँच सदस्यीय मस्यौदा निर्माण समिति गठन भएको छ ।