नेपालगन्ज : अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसगैं सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याँग र पश्चिममा भादा खोला छ ।
पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ ।
ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरमदृष्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा पुग्ने जोकोही पर्यटक आनन्दित नभइरहन सक्दैनन् ।
नगरपालिकाभित्र पर्ने भए पनि बाटोमा ग्रामीण जीवनको अवलोकन गर्न सकिन्छ । बर्खायाम होस् वा गर्मी अथवा कठ्यांग्रिने चिसो । जङ्गलबाटो छिचोल्दै हिँड्नुको मज्जा बेग्लै हुन्छ ।
सतखलुवा होमस्टे हुँदै १० मिनेट पैदल हिँडेपछि सीमसार जङ्गलमै उक्त ताल देखिन्छ ।
सार्वजनिक सवारीमा नेपालगन्जबाट करिब सवा घण्टा हिडेपछि बर्दियाको बासँगढी हुँदै सतखलुवा पुग्न आधा घण्टा लाग्छ । निजी सवारीमा डेढ घण्टामै पुगिन्छ ।
बर्दियाको ककौरा हुदै कतर्निया पुग्नु अगावै बैदीचोकबाट उत्तरतिर लागेपछि सतखलुवा पुग्न सकिन्छ ।
जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न २५० बढी प्रजातिका चराचुरूंगी, पुतलीका साथै जंगली पाटेबाघ, चित्तल, बँदेल लगायतका जनावर तालमा देख्ने मौका मिल्छ । बाटोमा होमस्टे र साना चियापसल भेटिन्छन् ।
अर्गानिक तरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ ।