२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग


नेपालगञ्ज, कात्तिक २८ गते । भेरी अस्पताल नेपालगञ्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ ।

मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले २० रुपियाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपिया सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो ।

विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।

अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन विहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ । २० रुपियाँमा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार १९:४७  |