आइसीपीको काम अघि बढाएकोमा धन्यवाद दिदै संघले भन्यो-समयमै काम पुरा होस्


नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले एकिकृत भन्सार जाँचचौकी (आइसीपी)को निर्माण कार्य बढाएकोमा नेपाल र भारत सरकारलाई धन्यवाद दिएको छ ।

नेपालगन्जस्थित नेपाल –भारत क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को नेपालका सहकारी विकास मन्त्री  कृष्णगोपाल श्रेष्ठ र भारतका उद्योग वाणिज्य मन्त्री पियुष गोयलद्धारा संयुक्तरुपमा शिलान्यास भएको थियो ।

शिलान्यास भएसंगै बैदेशिक व्यापार व्यवस्थित बनाउन कोशेढुङ्गा सावित हुने आइसीपी निर्माण कार्य शुरु भएकोमा नेपालगन्ज उद्योग वाणिज्य संघ अत्यन्त हर्षित भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्धारा प्रेसित बिज्ञप्तीमा उल्लेख छ ।

यसक्षेत्रका उद्योगी, व्यवसायी एवं सम्बद्ध सबैले लामो समयदेखि प्रतिक्षा र माग गर्दै आएको आइसीपी निमार्ण कार्यले उत्साह थपेको संघले जनाएकोे छ । यस अवसरमा संघले नेपाल र भारत सरकारलाई धेरै –धेरै धन्यवाद ज्ञापन गर्दै समयमै काम सक्न आग्रह गरेको छ ।

नेपाल र भारत सरकारबीच आइसीपी निर्माणको सम्झौता भएको १५ वर्षपछि ढिलै भएपनि निर्माण कार्य शुरु भएकाले लक्ष्य अनुसार चाँडै निर्माण कार्य सम्पन्न हुने बिश्वास व्यक्त गर्दै संघले निर्माणका क्रममा आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बिश्वास दिलाउँदै चाँडो भन्दा चाँडो आइसीपीको काम सक्न हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार १९:३१  |