घुम्ने होइन त गुर्भाकोट ?


  • ध्रुवकुमार अधिकारी

सुर्खेतको गुर्भाकोट कर्णाली प्रदेशको उदयमान नगरपालिकाका बनेको छ । प्रदेश राजधानी विरेन्द्रनगर भन्दा पूर्व पर्ने यो नगरपालिका साविकका मालारानी, सहारे, धारापानी, मेहेलकुना, गुमी, घुमखहरे र दहचौर गाविस मिलेर बनेको छ । पूर्व र दक्षिणमा सल्यान जिल्ला, पश्चिममा भेरीगंगा नगरपालिका, उत्तरमा सिम्ता र चिङ्गाड गाउँपालिका रहेका छन् । करिब ४४ हजार जनसंख्या रहेको यस नगरपालिकाको क्षेत्रफल करिब २२९ वर्गकिलोमिटर रहेको छ ।

सुर्खेत जिल्ला भएर बग्ने सेतो सुन भेरी नदी यसै क्षेत्र भएर बगेको छ । यस क्षेत्रमा लघु तथा घरेलु उद्योग, पर्यटन, कृषि, पशुपालन, ¥याफ्टिङलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गरी उत्पादन बढाइ आम्दानी बढाउने राम्रो सम्भावना रहेको छ । व्यापारको लागि पनि यो नगरपालिकाका विभिन्न स्थानहरू उपयुक्त मानिन्छ । यो नगरपालिका पनि सुर्खेतका अन्य नगरपालिका जस्तै विविधताको साझा फूलबारी हो ।

विविधता र विकासमा गुर्भाकोट

सामान्य रूपमा विविधता भन्ने वित्तिकै जातीय विविधताको मुद्दा अलि बढी रूपमा आउने गर्छ । यहाँ मैले उठान गर्न खोजेको विषय गुर्भाकोट नगरपालिकाको समृद्धि र विकासको लागि कुन–कुन क्षेत्रको उपयुक्त व्यवस्थापनले यो नगर समुन्नत बन्न सक्ला भन्ने हो । यहाँका भौगोलिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र प्राकृतिक पहिचानसहित यसको व्यवस्थापकीय अवस्थाको बारेमा चर्चा गर्न खोजेको छु ।

भौगोलिक रूपमा यस नगरपालिकाको उत्तरी भाग महाभारत पर्वत श्रृंखलादेखि दक्षिणी भाग चुरे पर्वत श्रृंखलासँग जोडिएको छ । उत्तर–दक्षिण भिरालो भू–भाग छ । उत्तरी खण्ड भन्दा दक्षिणी खण्ड कृषिको लागि उपयुक्त छ । सबैभन्दा राम्रो त बीचको क्षेत्र अलि समथर र कृषिको लागि राम्रो पनि छ । बीचको क्षेत्रमा सिँचाइको व्यवस्था केही हदसम्म भएकोले उर्वर मानिन्छ । यातायातको सुविधा छ । जनघनत्व पनि बढी नै छ । जलवायु औषत छ । न त धेरै गर्मी न त चिसो ।

सांस्कृतिक रूपमा पनि गुर्भाकोटमा विविधता पाइन्छ । विभिन्न मेला र महोत्सवको आयोजनाले यस नगरलाई पर्यटन प्रवद्र्धन गर्न सहयोग पु¥याउँछ । मालारानीको खरीगैरा मेला, बथौकाँडा मेला, टिमुरे, जुरीचुला मेला, बडाखोली मेला, सहारे झाँकी, बोटेचौर माघी मेला, मेहेलकुना भेरी किनारमा लाग्ने खैरेनी मेला, गुमी निकट सइँया मेलाहरूले यस नगरपालिकाका जनताको आफ्ना इष्टमित्र, पूराना साथीसँगी र आफन्तजनसँग रमाइलो भेटघाट गराउँछन् । त्यतिमात्र होइन यस क्षेत्रमा विभिन्न जातीय पहिचानसहितका पोशाक, स्थानीय कलाकारको प्रस्तुती र उनीहरूलाई हौसला प्रदान गर्ने काम समेत हुने गर्छ । घरेलु उत्पादनको बिक्री वितरण गरी ग्रामीण तहका जनताको आर्थिक समुन्नतिसमेत गराउँछन् ।

यी मेलाहरूमा बाहिरी पर्यटकहरू भि¥याउने रणनीतिमा नगरपालिका लाग्नुपर्छ । यसका अतिरिक्त ग्रामीण विद्युतीकरणले विकासमा सकारात्मक छाप पार्छ । केही दिन अघि प्रदेश संसद ठम्मर विष्टले राजीगाँउमा विद्युत उद्घाटन गरेका सुनेंको थिएँ । यो कार्य सबै ठाउँमा पुगोस् । सञ्चार र पिउने पानीलाई पनि सँगै लैजाउन् । जनभावना पनि यही छ ।

पर्यटन व्यवसायको लागि यो नगरपालिका राम्रो सम्भावना भएको नगरपालिका हो । गुर्भाकोट नगरपालिकाका पर्यटकीय स्थलहरूमा राम्रीकाँडा दह, प्रकृती दह, जुरीचुला लेक, वेतिनीको लेक, देउती बज्यै मन्दिर, दूरपिन डाँडा, गणेश ढुङ्गा, चमेरे गुफा, खटाङ, खड्कदेवी मन्दिर, ढाकेचरी, र भोटेचुली प्रमुख हुन् । भेरी नदीको किनारमा रहेको मेहेलकुनामा अवस्थित खटाङ बनभोजका लागि सुर्खेतकै राम्रो स्थल मानिन्छ । भेरी नदीको पानीको सदुपयोग गरी ¥याफ्टिङको लागि पनि विशेष सम्भावित क्षेत्र रहेको छ ।

यसको सम्भाव्यता अध्ययन गरी योजना र कार्यक्रम बनाएर नगरपालिकाले अघि बढाउन सकेमा आम्दानीको एउटा स्रोतमा यो पर्न सक्छ । यसैगरी गुमीचुली पनि पर्यटकीय आकर्षकको लागि राम्रो क्षेत्र बन्न सक्छ । यसलाई भोटेचुली पनि भनिन्छ । यो गुमीको सिरानमा रहेको अग्लो डाँडा हो । यो एउटा भ्यू टावर पनि हो ।


यहाँबाट सुर्खेतका विभिन्न स्थानहरूको सहजरूपमा दृष्र्यावलोकन गर्न सकिन्छ । यहाँसम्म पक्की बाटो भएमा यो अति आकर्षक स्थल बन्न सक्छ । पूर्वी सुर्खेतको नगरकोटको रूपमा यसको उपयोग हुनसक्छ । यहाँ छिन्चु–जाजरकोट सडक, मदन भण्डारी राजमार्ग, दाङ–सुर्खेत सडक खण्ड पर्नु र दहचौर तथा भेडावारी–मेहेलकुना पक्की पुल निर्माणले यसको पर्यटन विकासमा राम्रो सम्भावना थपेको छ । यो एक पर्यटकीय केन्द्र नै हो ।

कृषि, वन, चरन, आवास क्षेत्र, खोला क्षेत्र, सडक प्रयोजन, सिमसार क्षेत्र, औद्योगिक क्षेत्र, ताल क्षेत्र गरेर यहाँको भूमीको उपयोग गरेको देखिन्छ । यहाँका वनहरूमा मालारानीको लालिगुँरास, फूलबारी, अन्नपूर्ण, धारापानीको जडिबुटी सामुदायिक वन, सहारेको शान्ती र देउती सामुदायिक वनका साथै अन्य दूर्विनडाँडा, राधादेवी, पारथरी, पवित्र, रानीवन, शान्ति हरियाली, कालिका, रानीवन, देउराली, खैरेनी, मुना, मूलपानी, चिसापानी, श्रीदेवी, भेडाबारी, भेरी, सिस्नेरी, तोरीबारी, मसिनाचौर, चरिखुट्टे, बसन्तबहार, चेतनशील, प्रगतिशील, नारी जागरण, शान्ति, कल्पना र लामपोखरी लगायतका केही अन्य सामुदायिक वन रहेका छन् ।

यसका अतिरिक्त अन्य केही निजी वनसमेत रहेका छन् । टिमुर, रिठ्ठा, दालचीनी, तेजपात, पखनवेद, कुरिलो, काउलो, चुत्रो, चिउरी, अनार, अमला, ओखर, अनार, अलैंची, पाउलोनियाँ, आँप, गिठी, सिसौ, खयर, मसला, बकाइनो, दवदवे लगायतका विविध जैविक वनस्पति पाइन्छ । विभिन्न रोगको उपचारको लागि स्थानीय जनताले यसको उपयोग गर्ने गरेका छन् । साथै ऊर्जा ,काठ र घाँसको प्रमुख स्रोत पनि यिनै वन हुन् । वन विकासका कार्यक्रम बनुन् भन्ने जन चाहाना छ ।

भाषागत रूपामा नेपाली, मगर, गुरुङ्ग, मैथली र अन्य भाषा बोलिन्छ । मेहेलकुना र मालारानी क्षेत्रमा लोपोन्मुख राजी जाति रहेको छ । शैक्षिक क्षेत्रमा पनि यस नगरपालिकामा दुई वटा गुर्भाकोट बहुमुखी क्याम्पस सहारे र शिक्षा क्याम्पस गुमी गरी दुई वटा क्याम्पस रहेका छन् । यसैगरी नौ वटा माध्यमिक विद्यालयसहित जम्मा ८८ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेका छन् । यस नगरपालिकामा एउटा मेहेलकुना अस्पताल रहेको छ । यसका अतिरिक्त दुई वटा सहरी स्वास्थ्य केन्द्र र ६ वटा स्वास्थ्यचौकीहरू रहेको देखिन्छ । स्थानीय बढ्दो बाक्लो जनघनत्व र आवश्यकताको आधारमा सबै वडाहरूमा एउटा स्वास्थ्य संस्था स्थापनाको आवश्यकता देखिन्छ । मेहेलकुना अस्पतालको स्तोरोन्नत्ति झनै आवश्यक छ ।

कृषिको लागि मालारानी क्षेत्र अब्बल क्षेत्र हो । त्यहाँ एक वर्षमा तीन खेतीसम्म हुने गर्दछ । पशुपालन र बेमौसमी तरकारी खेतीको लागि राम्रो क्षेत्र मानिन्छ । मालारानीको वडा नं। १ र २ को बीचबाट बग्ने गोचेखोला त्यस ठाउँको लागि वरदान नै सावित भएको छ । चना, मुसुरो, मकै, गहुँ, धान, लसुन, प्याज, काउली लगायतका तरकारीको लागि मालारानी प्रसिद्ध छ । यसैगरी मालारानीको गोचेखोलाबाट आएको कुलोको पानीले सहारेको तल्लो भेगमा पनि उत्पादन राम्रो हुन्छ । साँच्चै नै गोचेखोला मालारानी र सहारेको मुख्य समृद्धिको आधार नै हो । त्यतिमात्र होइन, मेहेलकुनाको माथिल्लो भाग, कोप्ची, तोरीबारी, नाङ्गीको माथिल्लो फाँटमा समेत गोचे खोलाको पानीले कृषि उत्पादनमा टेवा पु¥याएको छ । यसको थप विकासको लागि के कस्ता योजनाहरू रहेका छन् । नगरपालिका र वडाले के सोच बनाएको छ त्यो सँग त म त्यति अपडेट छैन ।जनपक्षीय योजना र कार्यान्वयनको अपेक्षा गर्दछु ।

फोहोर व्यवस्थापनको लागि खोला, खोल्सा, नदी, किनार, घर नजिकै खाडल बनाएर यसको बिसर्जन गर्ने गरेको देखिन्छ । आगामी दिनमा यस नगरलाई स्वच्छ र सफा गराउनको लागि फोहोरमैला व्यवस्थापन गर्नु जरुरी देखिन्छ । सिँचाइका स्रोतमा गोचे खोला, बर्दी खोला, बेतेनी खोला, ठाँटी खोला, काली खोला, फूलफूले, बसेरी खोला, काप्रे खोला, फलाटे खोला र अर्जन खोला यहाँका प्रमुख स्रोत हुन् । यी खोलाहरूले थोरै धेरै कृषि उत्पादनको लागि सहयोग पु¥याएका छन् । मेहेलकुनामा भेरी नदीको पानी लिफ्ट सिँचाइ प्रविधि आयोजनाबाट माथि लगेर मत्स्यपालन र कृषि उत्पादन बढाउन सक्ने राम्रो सम्भावना रहेको छ । यसको लागि थप कार्यक्रम आउनुपर्छ । कार्यान्वयन हुनुपर्छ ।

उपसंहार

समग्रमा गुर्भाकोट भौगोलिक, जातीय, आर्थिक–सामाजिक एवम् सांस्कृतिक विविधताको साझा फूलबारी हो । सबै मिलेर सन्तुलित विकासको लागि बहस गरी सर्वभेगीय र सर्वपक्षीय लाभ लिन सक्ने गरी योजना बनाइ कार्यान्वयनको विकल्प छैन । जनचाहाना र आकांक्षा पनि यही नै हो । गुर्भाकोट नगरपालिकाको विकास व्यवस्थापनको लागि यहाँ रहेको कृषि क्षेत्रको व्यवस्थापन, पर्यटकीय क्षेत्रको व्यवस्थापन, जलश्रोतको व्यवस्थापन, वन स्रोतको व्यवस्थापन, माटोको सही सदुपयोग तथा व्यवस्थापन, बजारको व्यवस्थापन, सांस्कृतिक क्षेत्रहरूको व्यवस्थापन, भौतिक पूर्वाधारको व्यवस्थापन, शैक्षिक क्षेत्रको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको व्यवस्थापन र जडिबुटीको व्यवस्थापनको लागि समन्वयात्मक रूपमा जाने हो भने अहिलेको वातावरण अनुकूल देखिन्छ ।

यो अर्थमा कि गुमी–दहचौर–घुमखहरे भेग निवासी प्रतिनिधि प्रदेश संसद ठम्मर विष्ट हुनु, मालारानी–सहारे भेग निवासी संघीय संसद ध्रुुवकुमार शाही हुनु र मेहेलकुना–बोटेचौर भेग निवासी नगरप्रमुख हस्तबहादुर पुन र उप–प्रमुख मैना विक हुनुले यस क्षेत्रको सन्तुलित विकासको लागि राम्रो सु–अवसर प्रदान गरेको छ । विकासका एजेण्डाहरूमा पनि साझा राजनीतिक सहमतिको ढोका खोल्न सकिने अवस्था छ । कहाँका जनताले कति लाभ लिने भन्ने कुरा त त्याहाँका जनताको सहभागिता र सक्रियताले पनि निर्धारण गर्छ । यस नगरपालिकाले यो अवसरको समन्वयकारी लाभ कति लिन सक्छ त्यो उसको सक्षमताको विषय हो ।

(साझा बिसौनीबाट साभार)

प्रकाशित मितिः     १० मंसिर २०७७, बुधबार ०७:१७  |
error: Content is protected !!