नेपालगन्ज ११ मंसिर : लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियाबाट कृषि क्रान्ति शुरु हुने बताउँदै आएका छन् । औपचारिक कार्यक्रममा सुनिने मुख्यमन्त्री पोखरेलको उक्त भनाई निकै सान्र्दभिक र जायज लाग्छ ।
तर बाँके र बर्दियाको अवस्था भने अलि फरक छ । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे ।
सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो ।
महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो ।
अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई/चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायी बताउँछन् । तर अब फेरी राइस मिलको उदय हुने झिनो आशा पलाएको छ ।
सरोकारवाला व्यवसायीदेखि सरकार समेत जागेपछि राइस मिल फेरी चल्न शुरु गरेका छन्, पुरानै दिन फर्किने आशा सहित । यसको उदाहरण हो, बैजनाथस्थित अत्याधुनिक राइस मिल सन्चालन । बैजनाथमा गाउँपालिकामा संचालन हुदै आएको एभरेष्ट कृषि सहकारी संस्थाले सिल्की राइस मिल संचालनमा ल्याएको छ ।
एभरेष्ट सहकारीले नेपाल सरकार सहकारी बिभागको साझेदारीमा संचालन भएको धान उत्पादन प्रोसोधन तथा बजारीकरण आयोजना अन्तगत सिल्की राइस मिल संचालनमा ल्याएको हो ।
ठूलो लगानीमा सन्चालित उद्योगले आफ्नो उत्पादन बजारमा विक्री गरिसकेको छ । बाँके र बर्दियाको कृषि क्षेत्रलाई जगाउनका लागि मुख्यमन्त्री पोखरेल आफै सचेत छन् । उनकै शब्दमा भन्ने हो भने बाँके र बर्दियाले कृषि क्रान्ति शुरु गर्न सक्छन् ।
प्रदेशमा मात्र होइन देशकै लागि कृषिक्षेत्रको पिलर बनाउने गरी बाँके र बर्दियालाई विकास गर्नुपर्ने मुख्यमन्त्रीको जोड रहँदै आएको छ । प्रदेशको राजधानीका विषयमा प्रदेशसभामा मतदान हुनुपूर्व बोल्दै मुख्यमन्त्री पोेखरेलले बाँके, बर्दियालाई कृषि क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने भन्दै यहाँका आश्वस्त पारेका थिए ।
कुरा मात्र होइन उनले त्यसका लागि कार्ययोजना बनाएरै अगाडी बढेका छन् । उनबाट पक्कै पनि आशा गर्ने ठाउँ छ । तर ठोस योजना बिना बाँके र बर्दियाले कृषि क्रान्तिको नेतृत्व गर्न भने सक्दैन ।
विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो । तर अहिले भने यो अवस्था ठ्याक्कै बदलिएको छ । नेपालगञ्ज भन्सार नाका हुँदै वार्षिक अर्वौ मूल्य बराबरको चामल आयात भएको छ ।
कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठूलो मात्रामा चामल निर्यात हुन्थ्यो । तर केही दशकयता वर्षेनी करोडौँ मूल्यको चामल भारतबाट आयात हुँदै आएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा धेरै वस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ ।
नेपालगञ्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ता बताउँछन् ।
बाँके र बर्दिया जिल्लामा उत्पादन हुने ठूलो मात्राको धानकै कारण ठूलो लगानीमा सञ्चालनमा रहेका चामल मिल पनि अहिले बन्द भएका छन् । धान उत्पादन घटेसँगै मिल बन्द भएको व्यवसायी बताउँछन् । चामलको विदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् ।
धान उत्पादनसँगै बाँके र बर्दियामा ठूलो परिमाणमा तोरी उत्पादन हुनेहुँदा यहाँबाट तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउथ्यो । हाल दाङको तोरी नेपालगञ्ज आउन छाडिसकेको छ । बाँके र बर्दियामा रहेका धेरैजसो तेल मिल पनि बन्द भइसकेका छन् भने बाँकी बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै खाद्यवस्तु ठूलो परिणाममा किनबेच हुन्थ्यो ।
यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन । नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पति घ्यु उद्योग बन्द भएका छन् ।
कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घ्यु निर्यात हुने गरेको थियो । बाँकेमा सञ्चालित केएल दुगडले तेल मिल चलाउनकै लागि भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ । तर अब भने निर्यात बढाउन सरकारको ध्यान जान जरुरी छ ।