मुख्यमन्त्रीको योजना : बाँके र बर्दियाबाट हरित क्रान्ति !


नेपालगन्ज १२ मंसिर :  अन्नकोे भण्डारका रुपमा रहेको बाँके र बर्दियामा अहिले लगभग अधिकांस उपभोग्य सामाग्री भारतबाट आयात हुन्छ । वर्षेनी अर्वौको चामल भन्सार नाकाबाट छिर्नुले पनि यहाँको कृषि उत्पादनको अवस्थालाई दर्साउँछ ।

मलिलो माटो र सिंचाईको सुविधा हुँदाहुँदै पनि कृषि उत्पादन घट्नुले नैराश्यता उत्पन्न गरेको छ ।

त्यसरी निरासा ब्यक्त गरिरहेकालाई उत्साह जगाउने गरी लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियालाई हरित क्रान्तिको नेतृत्व गराउने गरी योजना अघि सारेका छन् । मुख्यमन्त्री पोखरेल भन्छन्( बाँके र बर्दियालाई पश्चिमको गेटवे र हरित क्रान्तिको नेतृत्व गर्ने बनाउनुपर्छ ।

मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाले प्रदेशको मात्र नभई समग्र देशमा बाँके र बर्दियाले कृषि क्रान्तिको नेतृत्व गर्ने गरी कार्य अगाडी बढेको जनाएका छन् । बौद्धिक एवं दिर्घकानि योजना बनाएर अघि बढ्ने छवि बनाएका मुख्यमन्त्री पोखरेलका योजनाले बाँके र बर्दियालाई पक्कै पनि उत्साह जगाएको छ ।

तर कार्यान्वयनको अवस्था कसरी हुन्छ भन्नेमा धेरैको चासो रहँदै आएको छ । अहिले बाँके र बर्दियाको कृषि उत्पादनको अवस्था दयनिय छ । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे ।

 

हामीले हाम्रो प्रदेशलाई समृद्धि बनाउँदाखेरी हरेक क्षेत्रको योगदान मिसाउनुपर्छ । त्यस अर्थमा हामी कुनै क्षेत्र बिशेषको केन्द्रीत भएर सोच्छौ, यो सम्भव छैन । कुनै एउटा क्षेत्र बिशेष केन्द्रित भएर यो प्रदेशको सम्बृद्धिको परिकल्पना गर्न सकिन्छ ? किमार्थ सकिदैन ।

बाँके र बर्दियाका बारेमा मुख्यमन्त्रीले के भने ? पढ्नुहोस्

हामीले सोच्दाखेरी हाम्रो प्रदेशमा रहेका १२ वटै जिल्लाको सम्बृद्धिको परिकल्पना हामीले सामूहिकरुपमा गर्नुपर्छ । यो प्रदेश सरकारले वा प्रदेश सभाले सोच्दाखेरी १२ वटै जिल्लाका जनताको सम्बृद्धिको चाहानाको प्रतिनिधित्व गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । हामीले त्यो उचाईबाट , त्यो मान्यताबाट आफुलाई प्रस्तुत गर्न सकियौं भने बिमती हुनपर्ने कारण केही रहन्छ भन्ने मलाई लाग्दैन ।

राजधानीका लागि हामीले जुन ठाउँ तय गरेका छौ त्यसले साझा मनोविज्ञान निर्माण गर्छ । जुन ठाउँ हामीले तय गरेका छौं त्यो ठाउँ कस्तो हो त भन्दाखेरी यो प्रदेशको सबैभन्दा ठूलो एकल नदी सभ्यता भएको ठाउँ हो । यो प्रदेशको सबैभन्दा ठूलो नदी भनेको राप्ती नदी । जसको उद्गमदेखि अन्त्यसम्म यही प्रदेशमा भएर बग्ने गर्छ ।

एकल अधिकारमा रहेको नदी सभ्यताको एउटा बिन्दुमा हामीले प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेका छौं । र त्यो नदी यस्तो नदीका रुपमा रहेको छ दुईवटा अन्चलिक मनोबिज्ञानलाई जोड्ने काम गर्छ ।

दुईवटा अन्चलिक मनोविज्ञान मात्र होइन त्यसले भेरी अन्चल अन्र्तगतका बाँके, बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ किन भन्दाखेरी आज त्यही राप्ती नदी अन्र्तगतको सिक्टा सिंचाई परियोजनाले बाँके जिल्लाको आर्थिक, सामाजिक जीवनमा परिवर्तन ल्याउने एउटा सम्भावना उजागर भइरहेको छ ।

हामी बाँके, बर्दियामा हरित क्रान्तिको परिकल्पना गरिरहेका छौं । अब नेपालमा हरित क्रान्तिको नेतृत्व कँहीबाट हुन्छ भने त्यो बाँके, बर्दिया जिल्लाले गर्न सक्छ किनकी एकातिर भेरी डाईभर्सन आयोजना अगाडी बढ्दै छ अर्कोतर्फ सिक्टा सिंचाई आयोजना अगाडी बढ्दै छ ।यसका माध्यमबाट त्यो ठाउँ हरित क्रान्तिको केन्द्र बन्न सक्छ भन्ने मान्यताको परिकल्पना गरेर त्यसका आधारमा अगाडी बढ्दै छौं भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।

अर्को तर्फ पश्चिमको गेटवेका रुपमा, कर्णालीको गेटवे भन्नुहोस् अथवा सुदूरपश्चिमको गेटवेका रुपमा भन्नुहोस् नेपालगन्ज भन्सार नाका रहेको छ । स्वभाविकरुपमा हामीले त्यस ठाउँका जनताका लागि सेवा र बस्तुको उत्पादन गर्ने एउटा महत्वपूर्ण केन्द्रका रुपमा नेपालगन्ज क्षेत्रको विकास गर्न सक्छौ भनेर बृहत्तर महानगरको परिकल्पना हामीले पहिलेदेखि नै अगाडी सारेका छौं ।

(मुख्यमन्त्री शंकर पोखरेलले मंगलवार प्रदेशसभामा दिनुभएको मन्तव्यको सम्पादित अंश)


सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो ।

महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो ।

अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुईरचार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायी बताउँछन् । तर अब फेरी राइस मिलको उदय हुने झिनो आशा पलाएको छ ।

सरोकारवाला व्यवसायीदेखि सरकार समेत जागेपछि राइस मिल फेरी चल्न शुरु गरेका छन्, पुरानै दिन फर्किने आशा सहित । यसको उदाहरण हो, बैजनाथस्थित अत्याधुनिक राइस मिल सन्चालन । बैजनाथमा गाउँपालिकामा संचालन हुदै आएको एभरेष्ट कृषि सहकारी संस्थाले सिल्की राइस मिल संचालनमा ल्याएको छ ।

एभरेष्ट सहकारीले नेपाल सरकार सहकारी बिभागको साझेदारीमा संचालन भएको धान उत्पादन प्रोसोधन तथा बजारीकरण आयोजना अन्तगत सिल्की राइस मिल संचालनमा ल्याएको हो ।

ठूलो लगानीमा सन्चालित उद्योगले आफ्नो उत्पादन बजारमा विक्री गरिसकेको छ । बाँके र बर्दियाको कृषि क्षेत्रलाई जगाउनका लागि मुख्यमन्त्री पोखरेल आफै सचेत छन् ।
कुरा मात्र होइन उनले त्यसका लागि कार्ययोजना बनाएरै अगाडी बढेका छन् । उनबाट पक्कै पनि आशा गर्ने ठाउँ छ । तर ठोस योजना बिना बाँके र बर्दियाले कृषि क्रान्तिको नेतृत्व गर्न भने सक्दैन ।

विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो । तर अहिले भने यो अवस्था ठ्याक्कै बदलिएको छ । नेपालगञ्ज भन्सार नाका हुँदै वार्षिक अर्वौ मूल्य बराबरको चामल आयात भएको छ ।

कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठूलो मात्रामा चामल निर्यात हुन्थ्यो । तर केही दशकयता वर्षेनी करोडौँ मूल्यको चामल भारतबाट आयात हुँदै आएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा धेरै वस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ ।

नेपालगञ्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ता बताउँछन् ।

बाँके र बर्दिया जिल्लामा उत्पादन हुने ठूलो मात्राको धानकै कारण ठूलो लगानीमा सञ्चालनमा रहेका चामल मिल पनि अहिले बन्द भएका छन् । धान उत्पादन घटेसँगै मिल बन्द भएको व्यवसायी बताउँछन् । चामलको विदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् ।

धान उत्पादनसँगै बाँके र बर्दियामा ठूलो परिमाणमा तोरी उत्पादन हुनेहुँदा यहाँबाट तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउथ्यो । हाल दाङको तोरी नेपालगञ्ज आउन छाडिसकेको छ । बाँके र बर्दियामा रहेका धेरैजसो तेल मिल पनि बन्द भइसकेका छन् भने बाँकी बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै खाद्यवस्तु ठूलो परिणाममा किनबेच हुन्थ्यो ।

यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन । नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पति घ्यु उद्योग बन्द भएका छन् ।

कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घ्यु निर्यात हुने गरेको थियो । बाँकेमा सञ्चालित केएल दुगडले तेल मिल चलाउनकै लागि भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ । तर अब भने निर्यात बढाउन सरकारको ध्यान जान जरुरी छ ।

मुख्यमन्त्री पोखरेलले पश्चिमको गेटवेका रुपमा बाँकेलाई थप विकास गर्न लागिपरेको भन्दै यहाँका नागरिकलाई आश्वस्त पार्ने काम गरेका छन् ।

प्रकाशित मितिः     १२ मंसिर २०७७, शुक्रबार ०७:१०  |
error: Content is protected !!