बाँकेमा शुरु गरिएको कृषिपथ के हो ?


नेपालगन्ज : लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बुधबार नेपालगन्जमा ‘कृषिपथ’ मोबाइल एपको उद्घाटन गरेकी छ्न । मन्त्री पौडेलले मोबाइलबाट एप लग ईन गरेर उद्घाटन गरेकी हुन ।

उद्घाटनमा बोल्दै मन्त्री पौडेलले लुम्बिनी प्रदेशलाई डिजिटल प्रदेशको रुपमा परिणत गराउने बताइन् । उनले कृषिपथ मोवाइल एपले हरेक किसानको समस्या तथा उनिहरुको कृषि पेशालाई अव्बल बनाउने कुरामा आफुले बिश्वास लिएको बताईन ।

किसानलाई थप उर्जा प्रदान गर्न तथा कृषि मैत्री बनाउन सरकारले सरल धितोको व्यवस्था लागु गर्ने योजनामा रहेको उनले जानकारी गराइन । कृषि धितोलाई प्रभावकारी बनाई सरकारले कृषकको धितोको व्याज सरकारले तिर्ने व्यवस्था समेत मिलाउन तर्फ आफू अग्रसर रहेको बताइन् ।

कृषकका लागि सुलभ कर्जा प्रवाह गर्न सरकारले १० लाखसम्मको कर्जा प्रवाहको लागि विना व्याज ऋण प्रवाह गर्ने योजना बनाएको र किसानले ६० प्रतिशतसम्म व्याज तिरेर पनि कृषि खेती गरिरहेको उदाहरण रहेको उनले जानकारी गराइन ।

मन्त्री पौडेलले १ करोडसम्म कर्जा लिने किसानलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने सरकारले अग्रसरता देखाएको जानकारी गराउँदै जग्गा नभएका किसानका लागि लुम्बिनी प्रदेश सरकारले भुमिहिन जग्गाको व्यवस्थाको तथा कृषि प्रयोजनको लागि उपभोग गर्ने व्यवस्था मिलाउने कार्य गर्ने जानकारी दिईन । ५ सय हेक्टरमा लुम्बिनी प्रदेशका किसानले भुमिहिन कृषि पेशा गरिरहेको उनले उल्लेख गरिन ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले केही संस्थाहरुले मात्र प्रयास गरेर यो एपले पुर्ण सफलता नपाउने भन्दै स्थानीय तथा प्रदेश सरकारले पनि यो कार्यक्रममा सहयोग तथा समन्वय गर्नुपर्ने सुझाए ।

कार्यक्रममा केयर नेपालका माधव श्रेष्ठले उक्त एपका बारेमा प्रकाश पारेका थिए । एन्ड्रोडाइड मोबाइलबाटै कृषि उत्पादक, बिक्रेता, उपभोक्ता तथा बजारसङ्गको समन्व्य गरी बजारीकरण र कारोबार गर्न सकिने उनले जानकारी दिए ।

श्रेष्ठले यो एपका माध्यमबाट कृषकले कृषि क्यालेन्डर, कृषि मौसम बिज्ञान परामर्स सेवा, कृषि प्रबिधि ज्ञान, कृषि अनलाइन बजार केन्द्र, एग्रोभेट तथा कृषि सामग्री बिक्री केन्द्र, कृषि उत्पादनको बिक्री मूल्य सुची, बीउ बिजन र कृषि सामग्रीको बिक्री मुल्य सुची, कृषि उपज र सामाग्रीको खरिद बिक्री गर्न सक्ने बताए ।

एन्ड्रोडाइड मोबाइल नहुनेहरुले नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले स्थापना गरेको निशुल्क कल सेन्टरको टोल फ्री नम्बर १६६०८१५२९५० मा फोन गरी फोनबाटै सूचना सम्प्रेषण तथा बजार व्यवस्था सहजीकरण गर्न सकिने महासंघका महासचिव जीआर भुसालले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके, केयर नेपाल र बी(ग्रुपको संयुक्त साझेदारीमा उक्त एपको निर्माण तथा व्यवस्थापन गरिएको हो ।

प्रकाशित मितिः     १ पुष २०७७, बुधबार २१:३९  |