काठमाडौं । आफूलाई भीआईपीको कित्तामा उभ्याउन पनि कुनै समय विदेशी ह्विस्की पिउन हौसिने नेपाली समाज विस्तारै स्वदेशी उत्पादनप्रति रमाउँदै गएको छ ।
स्वदेशी मदिरा उद्योगले विश्वस्तरीय ह्विस्की उत्पादन गर्न थालेसँगै नेपाली समाज पनि त्यतैतिर ढल्किन थालेको हो । अहिले स्वदेशी उद्योगहरु नयाँ ह्विस्की ल्याउने र बजार कब्जा गर्ने रणनीति बनाएर अघि बढेका छन् ।
कुनै समय नेपाली बजारमा ‘प्रिमियम लेभल’मा वर्ल्ड दरबारको मात्रै एकछत्र राज थियो । अन्य उद्योगले ह्विस्की उत्पादन गरे पनि बजारीकरणमा वर्ल्ड दरबार अघि थियो ।
सहरदेखि गाउँसम्म उसैको रजगज थियो । स्वदेशी मदिरामा महँगो मानिएको वर्ल्ड दरबारको बजार अझै पनि राम्रो छ ।तर, पछिल्लो समय वर्ल्ड दरबारभन्दा पनि धेरै महँगो ह्विस्की बजारमा आइसकेका छन् ।
केही समयअघि मात्रै विश्वस्तरीय प्याकेजिङ र रि–ब्रान्डिङसहित यार्सागुम्बा ह्विस्की बजारमा आइसकेको छ । यार्सागुम्बासहित विभिन्न जडिबुटीको मिश्रण गरिएको यार्सागुम्बा गोल्डेन साफिरको ७५० एमएलको मूल्य ११ हजार रुपैयाँ छ । त्यस्तै यार्सागुम्बा ब्लू साफिरको मूल्य २८ हजार रुपैयाँ रहेको छ ।
मंसिरको लगनमा केही विवाह पार्टीमा यार्सागुम्बा सर्भ भयो । यसले विदेशी जोनी वाकरको रेड, लेभल, ब्ल्याक लेभल, त्यस्तै सिभासलाई केही भए पनि प्रतिस्थापन गर्यो । वर्ल्ड दरबार र वर्ल्ड दरबारकै ब्ल्याक चिम्नीले यसअघि नै रेड लेभलको बजार खोसिसकेको मदिरा बिक्रेताहरु बताउँछन् ।
मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले केही वर्ष अघिसम्म जस्तोसुकै बोतलमा मदिरा प्याक गर्ने प्रचलन थियो । त्यो बेला कुनै आकर्षक बोतल थिएन । जब वर्ल्ड दरबार ह्विस्की आयो, त्यसले केही नयाँ तरिका सार्वजनिक गरेको बताए ।
पहिले(पहिले २५ यूपीमा राम्रो प्याकेजिङ हुन्थ्यो । तर, ४० युपी अर्थात सस्तो मदिराहरुमा प्याकेजिङ राम्रो हुँदैन्थ्यो । तर, अहिले ४० युपी पनि ब्ल्याक लेवलको भन्दा राम्रो प्याकेजिङ र गुणस्तरमा नेपाली ह्स्विकी आउन थालेको उनको भनाइ छ ।
अहिले मदिरा पिउने कल्चर पनि फेरिएको छ । जुन पायो त्यही मदिरा पिउँदैनन । ग्राहकले पनि त्यही तरिकाको मदिरा खोज्न थाले र उद्योगले पनि सोही अनुसार उत्पादन गर्न थालेको शेर्पा बताउँछन् । नेपाली ह्वस्की पनि विश्वस्तरीय छन् । कुनै समय ९० प्रतिशत रेडलेवल बिक्री हुन्थ्यो । अहिले त्यो स्थान नेपाली ह्वस्कीले लिएको छ ।
त्यसैगरी, बन्दीपुर नामक नयाँ ह्विस्कीले पनि आफूलाई दरिलो रुपमा मदिरा बजारमा उपस्थिति जनाइसकेको छ । ७५० एमएलको यो ह्वस्कीको मूल्य ४ हजार २०० रुपैयाँ पर्छ । रेष्टुरेन्ट र मदिरा पसलको सोकेसमा देखिन थालेको बन्दिपुरको लेभलिङ्ग र प्याकेजिङ्ग पनि आकर्षक रहेको छ ।
४ वर्षअघि पूर्णरुपमा उत्पादन बन्द गरेर फर्किएको रोयल स्ट्याग पनि स्वदेशी बजारमा फर्किएको छ । नेपालमै उत्पादन हुने यो ब्रान्ड विदेशी भए पनि नेपालीको स्वामित्वमा उत्पादन सुरु भएको हो ।
लकडाउन र कोरोना कहरकाबीच बजारमा आएको रोयल स्ट्यागले मदिरा पसलको सोकेसमा पटक पटक प्लेसमेन्ट भैरहेको छ । पुरानै रुपमा बजार हिस्सामा फर्किन लागेको रोयल स्ट्यागको बिक्रीबाट सन्तुष्ट भएको कम्पनीका प्रबन्धक निर्देशक रोहित कोहली बताउँछन् ।
त्यसैगरी एक वर्षअघि बजारमा जे ६९ ह्विस्की आएको थियो । यसले पनि विस्तारै आफ्नो बजार बढाउँदै लगेको छ । दुई महिनाअघि मात्र मुस्ताङ ह्विस्की बजारमा आएको छ । जगदम्बा ग्रुपले पनि मदिरा उत्पादन उद्योगमा प्रवेश गर्दै बारन नाम ह्विस्कीलाई बजारमा ल्याएको छ ।
यसअघि नै मदिरा बजारमा सिग्नेचर, हिमालयन रिजर्भ, पासपोर्ट, रकफर्ट, अफिर्सर च्वाइस, वल्र्ड फरेस्टर, रोयल च्यालेन्ज, रोयल ट्रेजर, मास्टर सेलेक्सन, गोल्डेन वाक, ब्ल्याक वाक, इम्पेरियर, ब्लेन्डर प्राइड, म्याक डोवेल ह्विस्की पनि उपलब्ध छन् ।
नेपाली मदिरा बजारमा ५ वर्षको बीचमा नयाँ ब्रान्ड उदाउने र हराउने क्रम भने चलिरहेको छ । बजार अनुसन्धान नगरि प्रतिस्पर्धाको सोचले मात्र मदिरा उत्पादन गर्दा स्थापित हुन नसकेका कारण उत्पादन भएर पनि धेरै ब्रान्डहरु बन्द भैसकेका छन् । कतिपय ब्रान्डले आफूलाई प्रिमियम बनाइराखेका छन् भने कतिपय ब्रान्ड मासमा पुगेका छन् ।
प्रिमियम ब्रान्डहरु ठूला रेष्टुरेन्ट तथा तारे होटलमा खपत गरिन्छ भने सामान्य ह्विस्की देशभरका विभिन्न मदिरा पसलहरुमा उपलब्ध छन् । त्यसैगरी, विदेशी ह्विस्की मात्रै सेवन गर्नेहरु पनि विस्तारै नेपाली ह्विस्की रोजाईमा पार्न थालेका छन् ।
खासगरी वर्ल्ड दरबार, यार्सागुम्बा, बन्दीपुर, हिमालयन रिजर्भ, सिग्नेचर प्रिमियम, मास्टर्स सेलेक्सनलगायत केही स्वेदेशी ब्राण्डहरु प्रिमियम हुन् । उक्त ह्विस्की तारे होटल तथा भीआईपी पार्टीमा खपत हुन थालेका छन् । नेपाली बजारमा एकपछि अर्को ह्विस्की उत्पादन हुन थालेसँगै गुणस्तरमा पनि ध्यान दिन जरुरी भएको उत्पादकहरु बताउँछन् ।
‘अहिले बजारमा आकर्षक प्याकेजिङसहित ह्विस्की बजारमा आएका छन् । जुन तहको प्याकेजिङ छ, सोहीअनुसार गुणस्तर कायम गर्नुपर्ने आवश्यकता छ,’ याक ब्रुअरीका प्रबन्ध निर्देशक रवि केसीले भने, ‘हामीले प्याकेजिङ मात्रै होइन्, गुणस्तरमा पनि ख्याल गर्यौ भने उपभोक्ता गरेको विश्वास दीगो रुपमा अघि बढ्छ ।’
नेपाली ह्विस्कीको एक पटक स्वाद लिएपछि दोस्रो पटक सोही ह्विस्की सेवन गर्न सक्ने वातावरण उत्पादकले बनाउन जरुरी छ । यदि त्यसो हुन सकेन र गुणस्तरमा कम्प्रमाइज्ड भएको अवस्थामा नेपाली ह्विस्कीले कमाएको शाख गुम्न सक्ने उत्पादकहरु बताउँछन् ।
नेपाली ह्विस्की बजारमा आफूलाई ‘ट्रेण्ड सेटर’को रुपमा उभ्याउन सफल ब्रान्ड हो–वर्ल्ड दरबार । नेपाली ह्विस्की पनि चल्छ भनेर त्यसैले देखाएको हो । वर्ल्ड दरबार चल्नुको मुख्य कारण भनेको गुणस्तर नै भएर हो । त्यही भएर सबै उत्पादकले गुणस्तरमा विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
‘उपभोक्ताहरु यति संवेदनशील हुन्छन्, एक पटक स्वाद बिग्रिएको वा गुणस्तर बिग्रिएको थाहा पाउने बित्तिकै उनीहरु विदेशी ब्रान्डतर्फ आकर्षित हुन्छ,’ उनले भने, ‘यसमा हामी सबैले विशेष ध्यान दिनपर्छ ।’
उद्योग विभागका अनुसार अहिले नेपालमा एक दर्जनभन्दा बढी कम्पनीले ह्विस्की उत्पादन गरिरहेका छन् । तर, बजारमा आधादर्जन मात्रको उपस्थिति देखिन्छ ।
यार्सागुम्बा वेभरेज उत्पादक कम्पनी एभरेष्ट हर्बस् प्रालीका कार्यकारी निर्देशक विक्की गोयन्काले यार्सागुम्बा निर्यातका लागि नेपालमा उत्पादन गरिए पनि स्वदेशी बजारमा नै माग बढिभएको बताए । नेपालको पहिचानसहित यार्सागुम्बालगायत विभिन्न जडिबुटी मिश्रण गरिएको अल्कोहल भएकाले विदेश निर्यात भैसकेको उनले बताए ।
कुन ह्विस्कीको मूल्य कति ?
नेपाली बजारमा ९२० रुपैयाँदेखि २८ हजार रुपैयाँसम्मका स्वदेशी ब्रान्डका ह्विस्कीहरु छन् । यार्सागुम्बा ७५० एमएल गोल्डेन साफिरको मूल्य ११ हजार छ भने ब्लू साफिरको २८ हजार रुपैयाँ छ ।
त्यस्तै गोल्डेन वाक ७५० एमएलको मूल्य ९२० रुपैयाँ छ । ब्लाक वाक ११२० रुपैयाँमा बजारमा पाइन्छ । हालै बजारमा आएको मुस्ताङ गोल्ड ब्रान्डको ह्विस्कीको मूल्य पनि ९२० रुपैयाँ छ ।
वर्ल्ड दरबार रिजर्भ एक लिटरको मूल्य २ हजार ९००वर्ल्ड दरबार ब्ल्याक चिम्नी एक लिटरको मूल्य ३ हजार ७७० रुपैयाँ छ ।
सिग्नेचर प्रिमियम ग्रेन एक लिटरको २ हजार ६५०, जे ८९ सिंगल बारेल माल्ट ७५० एमएलको २ हजार ४२० रुपैयाँ छ ।
त्यस्तै एन्टिक्यूटी ब्लू ७५० एमएलको २ हजार ४००, ब्लेन्डर प्राइडको १ हजार ४००, इम्पेरियर २४ क्यारेटको १ हजार २००, मास्टर सेलेक्सनको २ हजार ९५०, म्याक डोवलको मूल्य १ हजार ५ सय ४० रूपैयाँ छ ।
अफिर्सर च्वाइस ब्लूको १ हजार २७०, वर्ल्ड फरेस्टरको १ हजार ६१५, रकफर्टको २ हजार ५०, रोयल च्यालेन्जको १ हजार ६६०, रोयल ट्रेजर १ हजार ५२५ रुपैयाँ छ । रोयल स्ट्यागको १ हजार ५५०, द हिमालयन रिजर्भको २ हजार ८०० रुपैयाँ छ ।