टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता काठमाडौंमा सम्पन्न भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरे ।

पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ ।
उक्त सम्झौतामा टाटा मोटर्सका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ । यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र :

– व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा,
– शिक्षित युवा स्वरोजगार कर्जा,
– विदेशबाट पर्फ्केका युवा स्वरोजगार कर्जा,
– महिला उद्यमशील कर्जा, र
– दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

दोश्रो सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ ।
उक्त सम्झौतामा टाटा मोटर्सका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्ग मार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ ।

समारोहमा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका उपाध्यक्ष सौरभ थपलिया, सेल्स प्रमुख प्रबन्धक सरद न्यौपाने लगायत बैंकका विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनि उपलब्ध हुनेछ ।

प्रकाशित मितिः     १६ पुष २०७७, बिहीबार ०६:३३  |