बिक्री घटेपछि भारतमा होण्डाको स्वेच्छिक अवकाश योजना


चेन्नाई। जापानी अटो मेकर होण्डा मोटर्सले आफ्ना उत्पादनको माग कम हुँदै गएपछि भारतस्थित प्लान्टसम्बद्ध स्थायी कर्मचारीहरुलाई स्वेच्छिक अवकाशबाट बिदा गर्ने योजना अघि सारेको छ ।

कोभिड-१९ का कारण सवारीसाधन बिक्रीको व्यावसाय नै प्रभावित भएपछि स्टाफ कटौतीका लागि कम्पनीले लामो समयदेखि काम गर्दै आएका कर्मचारी लक्षित गरेर यो योजना लागु गरेको जनाएको छ। यसलाई होण्डाले आफ्नो संचालन खर्च घटाउने विकल्पका रुपमा समेत अघि सारेको हो ।
भारतमा मोटरसाइकल र स्कुटर उत्पादक कम्पनीहरुमध्ये होण्डा दोस्रो ठूलो कम्पनी हो । यसले दिगो उत्पादन र व्यवसायिक रणनीतिअनुसार कम्पनीको सुदृढीकरण गर्दै लैजाने योजना रहेको समेत जनाएको छ। तीन वर्षयता भारतको अटो मार्केट चुनौतिपूर्ण हुँदै गएको छ। त्यसमाथि कोभिडका कारण माग घट्नुका साथै र समग्र अर्थतन्त्र नै प्रभावित भएको छ,- कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ।

पुराना कर्मचारीहरुको स्वेच्छिक अवकाशको योजना मात्र होइन, होण्डा मुख्यालय जापानले होण्डा गाडीका भारतस्थित दुईवटा प्लान्ट नै बन्द गर्ने पनि निर्णय गरेको छ । उक्त निर्णयको जानकारी आएपछि नै होण्डाको भारतस्थित कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार, कम्तिमा १० वर्षदेखि कार्यरत सिनियर म्यानेजर, उपाध्यक्ष लगायत पदमा कार्यरत कर्मचारीले यो योजना ९स्वेच्छिक अवकाश० बाट लाभ लिन सक्नेछन्। कम्पनीका अनुसार, यी दुई पदमा कार्यरत कर्मचारीले स्वेच्छिक अवकाश लिँदा ९८ हजार ४८८ अमेरिकी डलर पाउनेछन् ।


यसबाहेक पनि सुरुमा स्वेच्छिक अवकाश लिने चार सय कर्मचारीले पाँच लाख भारतीय रुपैयाँ अतिरिक्त प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ।

गत वर्ष मार्च ३१ सम्मको तथ्याङ्क अनुसार होण्डाको भारतस्थित चारवटा प्लान्टमा गरी सात हजार कर्मचारी कार्यरत छन्।

गत अप्रिलदेखि नोभेम्बरसम्म कम्पनीको सवारी बिक्री ३२ प्रतिशतले खस्किएको छ। यो अवधिमा उत्पादन क्षमता पनि कम्पनीले २५ प्रतिशतले घटेको जनाएको छ।

मोटर साइकल र स्कुटर गरी वार्षिक ६४ लाख थान उत्पादन क्षमता गर्ने होण्डाले आगामी दिनमा आफ्नो लगानी तथा उत्पादन विस्तार गर्ने योजना भने यथावत रहने जनाएको छ।

प्रकाशित मितिः     9:30:00 PM  |