नेपाली बजारमा भित्रिए मलेसियन ब्रान्ड प्रोटोनका गाडी, यस्ता छन् विशेषता


काठमाडौं – नेपाली बजारमा मलेसियन कम्पनी प्रोटोनका गाडी भित्रिएका छन् । आधिकारिक वितरकको रुपमा जगदम्बा मोटर्सले पहिलो चरणमा दुई मोडलका सागा सेडान नेपाली बजारमा उपलब्ध गराएको छ ।

औपचारिक रुपमा आगामी जनवरी १३ मा लन्च गर्ने योजना भए पनि नक्सालस्थित सोरुममा यी गाडी सजाएर राखिएका छन् । हाल दुई मोडल स्ट्यान्डर्ड म्यानुअल ट्रान्समिसन र प्रिमियम अटोमेटिक नेपाली बजारमा भित्रिएका छन् । यी गाडीको मूल्य क्रमशः ३५ लाख ५० हजार र ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सेडान सेगमेन्टमा उपलब्ध यी गाडी अन्य कुनै पनि ब्रान्डका सेडान भन्दा गुणस्तरीय र सुरक्षित भएको जगदम्बा मोटर्सले दावी गरेको छ । गाडीमा १२९९ सीसीको फोर सिलिन्डर १६ भल्व डीओएचसी, भीभीटी इन्जिन छ, जसले ९१ पीएस पावर र ११७ एनएम टर्क जेनेरेट गर्छ । सो कारमा ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

सुरक्षाका लागि सागा सेडानमा फ्रन्ट एयरब्याग, एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ब्रेक असिस्ट, लोड लिमिटर, रियर पार्किङ सेन्सर तथा इम्मोबिलाइजर र एन्टी थेफ्ट अलार्म छन् भने अटोमेटिक भेरिएन्टमा थप सुरक्षाका लागि इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड असिस्ट र रिभर्स क्यामरा जस्ता अत्याधुनिक फिचर समेत छन् ।

त्यसैगरी यो गाडीमा ७ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटी, चार स्पिकर र यूएसबी पोर्ट जस्ता सुविधा छन् । टिल्ट एड्जस्टमेन्ट गर्न सकिने स्टेयरिङ छ भने त्यसैमा अडियोका लागि स्विच छ र यसलाई ह्यान्ड्स फ्रि गर्न सकिन्छ । त्यसैगरी पावर विन्डो, ड्राइभर सिट एड्जस्टर आदि समेत उपलब्ध छ ।

कारको बाहिरी भागमा ह्यालोजन हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टर्न सिग्नलसहितको इलेक्ट्रिक डोर मिरर र रियर स्पोइलर जस्ता विशेषता छन् ।

प्रकाशित मितिः     २३ पुष २०७७, बिहीबार १२:१९  |