सरकारले बाँके र बर्दियाबाट कति धान किन्यो ?


नेपालगन्ज । सरकारी मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्य अनुसार धान किन्न सकिरहेको छैन ।

कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि देशभरका खरीद केन्द्रबाट कुल ६० हजार मेट्रिकटन (मेटन) धान किन्ने लक्ष्य राखेको भए पनि हालसम्म २२ हजार ५ सय ५५ मेटन मात्रै धान किन्न सकेको छ ।

भण्डारण क्षमताको अभावका साथै किन्ने प्रक्रिया नै ढिलो गरी शुरू भएकाले कम्पनीले आप्mनो किन्ने लक्ष्य भेट्न नसक्ने देखिएको छ । गत आवमा पनि कम्पनीले आफ्नो लक्ष्यअनुरूप धान किन्न सकेको थिएन । गत आवमा कम्पनीको किन्ने लक्ष्य ३० हजार मेटन भए पनि करीब २१ हजार १ सय ६४ मेटन मात्र धान किनेको थियो ।

सार्क खाद्य भण्डारका लागि नेपालको हिस्सा अनुसार पनि कम्पनीले धान खरीद गर्नुपर्छ । आपत् विपद्का समयमा तत्काल आपूर्ति गर्न र दुर्गम स्थानहरूमा खाद्यान्न पुर्‍याउन सरकारले आफूसँग खाद्यान्न मौज्दात राख्ने गर्छ । सोहीअनुरूप कम्पनीले हरेक वर्ष देशभर रहेका आफ्ना विभिन्न खरीद केन्द्रमार्फत धान र गहुँलगायत मुख्य खाद्य बालीहरू किन्दै आएको छ ।

कम्पनीका महानिर्देशक नेत्र सुवेदीले माघ महीनाभरि धान किन्ने काम जारी रहने भए पनि लक्ष्यअनुरूप किन्न नसकिने जानकारी दिए । ‘एक त कम्पनीले खरीद प्रक्रिया नै ढिलो गरी शुरू गर्‍यो त्यसमाथि हामीसँग ठूलो मात्रामा खाद्यान्न भण्डारण गर्ने क्षमता नै छैन,’ उनले भने ।

खाद्य कम्पनीले बजारमा स्थानीय व्यापारीहरूले खरीद गरिरहेको मूल्यभन्दा बढी मूल्यमा धान किनिरहेको छ । खाद्यले ठूलो परिमाणमा धान किनेमा पछि बजार मूल्यसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले पनि लक्ष्यअनुरूप नकिनिने उनले बताए ।

खाद्यले देशभरका ११ ओटा खरीद केन्द्रमार्फत धान किन्ने लक्ष्य राखेको भए पनि जुम्लामा अझैसम्म किन्ने कामको थालनी हुन सकेको छैन । जुम्लाबाट कम्पनीले मार्सी धान किन्ने लक्ष्य राखेको थियो ।

कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म बर्दियाको राजापुरमा ३ हजार ८ सय ३५ मेटन, धनगढीमा ५ हजार ३ सय ३६ मेटन, बिर्तामोडमा २ हजार ३ सय मेटन, जनकपुरमा १३ सय ४९ मेटन, विराटनगरमा १३ सय ६२ मेटन धान किनेको छ । त्यसैगरी लहानमा २२ सय ५६ मेटन, वीरगञ्जमा १८ सय ४५ मेटन, भैरहवामा १८ मेटन, नेपालगञ्जमा ३ हजार ३ सय ७ मेटन र महेन्द्रनगरमा ९ सय ४७ मेटन धान किनेको छ ।

कम्पनीले यसै वर्ष कर्णालीको सिमी र फापरसमेत किन्ने लक्ष्य लिएको छ । त्यसका लागि अहिले बजारमा ती खाद्य वस्तुको माग के कस्तो छ भनेर अध्ययन भइरहेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । गतवर्ष बजार मागलाई अध्ययन नगरीकन कर्णालीको तीते फापर किन्दा बजारमा विक्री गर्न समस्या उत्पन्न भएको थियो ।

त्यसैले यस वर्ष पहिले नै बजार माग अध्ययन गरेर मात्रै किन्ने काम अघि बढाइने उनले बताइन् ।

हाल कम्पनीसँग ८ हजार ५ सय ७० मेटन चामल र १ सय ४२ मेटन गहुँ मौज्दात रहेको छ । यो मौज्दात कम हुँदै गएमा धान किनेपश्चात् कम्पनीले आवश्यकताअनुसार चामल उत्पादन गरेर विक्री गर्ने बताएको छ ।

चाडपर्वलाई लक्षित गर्दै खाद्यले सञ्चालन गरेको सुपथ मूल्य पसलमार्फत भने कम्पनीले आफ्नो लक्ष्यअनुरूप खाद्यान्न विक्री गरेको छ । दाल, चामल, घ्यू, चिनी र खसीबोकालगायत २५ सय मेटन खाद्यान्न विक्री गर्ने कम्पनीको लक्ष्य थियो । लगभग लक्ष्यअनुरूप नै विक्री भएको अनुमान कम्पनीले गरेको छ । १ करोड ७५ लाख रुपैयाँ बराबरको खाद्यान्न विक्री गर्ने योजना रहेकोमा १ करोड ६० लाख रुपैयाँसम्मको विक्री भएको अनुमान गरिएको छ ।

प्रकाशित मितिः     ६ माघ २०७७, मंगलवार १४:०७  |