राप्तीको पानीले नेपालगन्जको तिर्खा कहिले मेट्ने ?


नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले राप्तीको पानी नेपालगञ्ज ल्याउने आयोजनामा भईरहेको ढिलाईप्रति गम्भिर चासो ब्यक्त गर्नुभएको छ ।

नेपालगञ्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु सहभागी कार्यक्रममा नगर प्रमुख राणाले बर्षो पहिले पाईप खरिद भएपनि आयोजनामा भईरहेको ढिलाईप्रति चासो ब्यक्त गर्नुभएको हो ।

वाटर, सेनिटेसन एण्ड हाईजिन फाईनेन्स(वासफिन)ले बुधबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख राणाले राप्तीबाट नेपालगञ्जभित्र पिउने पानी आउने सुनिश्चितता नभई नेपालगञ्जका सडक खन्न नदिईने स्पष्ट पार्नुभयो ।

सो अवसरमा राणाले खानेपानी व्यवस्थापनको जिम्मा अहिलेको अवस्थामा स्थानीय तहले पुरा गर्न नसक्ने भन्दै संघीय र प्रदेश सरकार अन्तर्गतका निकायहरु अझ बढि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

वासफिन नेपालले नेपालगञ्जको खानेपानी आपूर्तीको अवस्था, खानेपानी आपुर्तीमा भईरहेको प्रयास लगायतका विषयमा केन्द्रीत रहि प्रारम्भिक निष्कर्ष र सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । वासफिन नेपालका टिम लिडर गंगा दत्त नेपाल र प्राविधिक सल्लाहकार सुदर्शन भण्डारीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

वासफिन नेपालको प्रतिवेदनमाथीको छलफलमा सहभागी जनप्रतिनिधीहरुले नगरभित्र खानेपानीको सहि व्यवस्थापन हुन नसकेको भन्दै सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित मितिः     ९ माघ २०७७, शुक्रबार ०९:३१  |