बर्तमान अशिष्ट राजनीति : लाचार जनता !


नेपाली राजनीति अनि देशले पत्याएका सम्मानित पदहरुमा पदासिन हुनपुगेका ब्यक्तिहरु ( सम्माननिय देखि श्रीमानहरु सम्म ) द्वारा हालै सम्प्रेषित बिचारहरु पढदा र सुन्दा लेखक स्वयंलाई पढे लेखेको बर्गमा पर्छु भन्नसम्म लाजलाग्ने स्थिति सिर्जना हुनु भनेको देश र देशबासिका लागि राम्रो संकेत अबस्यै होईन।

सायद, आफ्नै बलबुतामा बाँचेका सबैजनहरु को पीडा यस्तै यस्तै मेरो जस्तो नै होला। किनभने, यी ब्यक्तिहरुका अभिब्यक्ति सुन्दा उनिहरु कति स- साना ब्यक्तिगत स्वार्थमा पनि नेपाली बौध्दिकजगत बिभक्तहुन सक्नेरहे छ भन्नेकुराको पर्दाफास ती केही पूर्ब न्यायमूर्तिहरु को बिज्ञप्ति हेरेपुग्छ। हैनभने यहि नेपाली माटो मै हुर्केका र बढेका ती श्रिमानहरु बाट आ-आफ्नै मातहतका अड्डा अदालतहरु बाट काममा हुनेगरेका ढिला सुस्ति र आर्थिक लेनदेन बारे कहिकतै बोलेको सुन्न र छापामा पढ्न पाएको मलाई संझना छैन।

सरकार र यस मातहतका बिभागिय बिकृति अनि सरकार का कमि कमजोरि बारे बोल्दा पदिय मर्यादाका कुरा उठाउने तर मौका देख्दा प्रतिकृया स्वरुप बिज्ञप्ति दिईहाल्नुपर्ने कुरो को औचित्य के ? यो घटना ले नेपालका हरेक क्षेत्र बिभाजित छन् भन्ने कुराको पुष्टिगरेको मेरो बुझाई छ। त्यसैले त आज देशभित्र नत आशलाग्दो ब्यक्तित्वको निर्माण हुनसक्यो न त कुनै संस्था नै बाँकी बच्यो जस्ले अप्ठारोपरेको बेला समग्र देशलाई नै नेत्रित्व दिन सकोस।

देशको माथिल्लोपदमा पुगेकाका ब्यक्तिहरुमा देश र जनताका खातिर आफुले निर्बाहगर्नुपर्ने दायित्व का बारेको ज्ञानको अभाब हो वा उनिहरु जानि जानि वा अन्जानमै अन्तर्राष्ट्रिय जगतमा देश र जनताको शिर निहुरिने अभिब्यक्ति किन दिन्छन् भन्नेकुराको गहनतम अध्ययन र खोज आज सबै नेपालीको चासोको बिषय बन्नुपर्छ । संसद बिघटन किन भयो ? हुनु आबश्यक थियो वा नियति थियो ? वा कसैको गलत नियत को सिकार भयो ? यसको लेखा जोखागर्ने जिम्मा सर्बोच्च अदालतलाई दिदा नै उपयुक्त होला।

तर,बडो दुखः का साथ याहाँ उठाउन खोजिएको कुरा के मात्र हो भने संसदियपध्दति को यतिलामो अभ्यास ( २०४६-७७) पश्चात् पनि राजनीतिक दलका नेताहरुमा लुकेको छुद्रता बाट सिङ्गो मुलुकको बेज्जतिभएको छ भन्ने मेरो बुझाई छ। आ- आफ्ना ब्यक्तिगत स्वार्थका खातिर जे पनि र जसरि पनि गर्नतम्सिने मानसिकता बाट निर्देशित कर्मचारीतन्त्र र त्यसैबाट फाइदा उठाउन अभ्यस्त राजनीतिक दलका नेताहरु र बिदेशी ले चलाखिपुर्ण तरिकाले फालेको “ कलो “ ( खाना खाई सकेपछि कुकुरका लागि हातमा लगिने एक मुठ्ठी भात ) खाने संस्कृति मा रमाउन पल्केका नेपाली ठालुहरु ( भष्तिभक) बाट नेपाल र नेपालिले के पाउने आशागर्न सकिएला?

अब राजनीतिक दल र तिनका मतियारहरु लाई मात्र गाली गरेर पुग्दैन। नत यसबाट हाम्रा समस्याहरूको समाधान नै हुन्छ । देशका हरेक निकायमा ब्याप्त “ कलो“ खाने संस्कृतिको उपचार नै यसको एकमात्र बिकल्प हो। यो बिकृत मानसिकताको उपचार एउटै विधि बाट मात्र सम्भब देखिदैन । किनभने, देशको हरेक निकायमा देखापर्ने आर्थिक अपचलन, पहुच हुनेले कानून मिचेर जे पनि गर्नतम्सिने र त्यसलाई छुटदिने हाम्रो राजनितीक संस्कार मा पनि परिबर्तन को उत्तिकै खाँचो छ। हैनभने,यस्तै यस्तै गलतकाम मा अभ्यस्त हुँदै जाने हो भने नेपाली समाजको सहि र गलत माझ बिभेदगर्ने क्षमताको ह्राश हुने सम्भावना बढ्दो छ।


यस्तै मानसिकताको सिकार भएर आज कतिपय सम्पन्न अफ्रिकी र एसियाका देशहरु समेत पुर्णरुपमा ध्वस्त हुने बाटोमा छन् र ती देशहरुमा ब्यक्ति हत्या, लुटपाट , आगजनि र आत्मघाति बिष्फोटन त्यहाँ को दैनिकि बनेका छन् र देश तथा देशबासिहरु आक्रान्त र लाचार देखिन्छन् । त्यसैले आजको पहिलो प्राथमिकता भनेको देशको हरेक क्षेत्रमा आत्मबलयुक्त, स्वाभिमानी , चरित्रवान,नैतिकवान तथा अभिमानरहित नेतृत्वको निर्माण अनि लोभबाट कमप्रभाबित ब्यक्तिहरुको नेतृत्व ले मात्र हालसरकार र चर्चामा रहेका लोभि,आत्मबलबिहिन,दासमनोबृत्ति, नैतिकता बिहिन, दंभि र अभिमानि राजनीतिक पुस्तालाई बिस्थापित गरि नयाँ पुस्तालाई स्थापित गर्नसक्ने छ।यति भए मात्र देशक र देशबासिको धमिलिएको प्रतिष्ठा,आत्मबल र आत्मसम्मान पुनः स्थापितगर्न मद्दत मिल्ने छ।

यतिखेर, देशको हरेक क्षेत्रमा कार्यरत नेपालि नागरिक कुण्ठा,आक्रोश र प्रतिशोधको सोँचबाट ग्रसित छ।यो आक्रोश र प्रतिशोधि भावना नेपालका हरेक राजनीतिक दलहरुमा झनै मौलाएको छ।जसको परिणामस्वरूप उनिहरु मिलेर बस्न सक्ने अबस्था छैन । यद्यपि मिलेरबस्न नसक्नेहरुको बाहुल्यता तुलनात्मक रुपमा आफुलाई कम्युनिस्ट भन्नेदलहरुमा अत्यधिक रहेको लेखकको बुझाई छ। दलका नेतृत्वकर्तामा रहेका ईर्ष्या,लघुताभास र प्रतिसोधिभाबना कै कारण कतिपय क्षमतावान ब्यक्तिहरु हरेकदल बाट स्वयं किनारा लागेकाछन्। नेताहरुमारहेको कुण्ठाको पुष्टि २०७७ पुस पछिको अप्रत्याशित राजनीतिक दुर्घटना पछि नेकपा का मुर्धन्य नेताहरुका अभिब्यक्ति बाट हुन्छ ।यी कुण्ठा र आक्रोश का पछाडि लुकेका धेरै कारणहरु हुनसक्छन् जस्को मनोबैज्ञानिक अध्ययन अत्याबश्यक छ। चलाख र छट्टु ब्यक्तिहरु ले

राजनीतिक दलका नेताहरु र त्यसभित्र बनेका स-सानासमुहमा रहेका ब्यक्ति बिषेसको दौराको फेरो समातेर सुबिधायुक्त पदहरु हत्याउन शफल र सिपालु ठालुहरुको आत्मप्रशंसा सुन्दा सामान्य नागरिकलाई समेत उदेकलाग्दो छ। जस्लेगर्दा आफ्नो पेसालाई मर्यादित बनाउन लागिपरेका र राम्रोकाम गर्नुपर्छ भन्ने मान्यता बोकेर पेषामा प्रबेश गरेकाहरु पनि एकपछि अर्को गर्दै निष्कृय हुँदैगएको पाईन्छ। यो अबस्था देश अनि नेताहरू का लागि पनि त्यति हितकर नहुनसक्छ।

देशको हरेक निकायमा आज देखापरेका मुख्य समस्या नै ब्यक्तिगत लाभका खातिर जे पनि गर्न तम्सिने संस्कृति हो। यसलेगर्दा चरित्रवान ब्यक्तिहरु किनारा लाग्नुपर्ने अबस्था छ। यसै प्रबृत्तिको फलस्वरूप आज हरेक क्षेत्रमा नैतिकवान ब्यक्तिहरुको अभाव खडकिदो छ। राजनीति मा आबध्द अधिकांशमा राजनीतिक चरित्र देखिदैन। बिबिध पेषामा लागेका धेरैमा पेषागत चरित्र को अभाव छ। के शिक्षक,के चिकित्सक,के कर्मचारी के उद्योगि ब्यापारी सबैको हालत उस्तै उस्तै छ। सेवामा प्रबेष गरेदेखि सेवानिबृत्त नभए सम्म धेरैको ध्यान सर्बसाधारण लाई झुक्याएर फाइदालिन मात्र दिन रात खटेको देखिन्छ ।

हालसालै नेपाल मा बिकसित राजनितीक दृष्य र त्यसका मुख्य पात्र अनि तिनका मतियार बनेका ब्यक्तिहरुका अभिब्यक्ति सुन्दा हामी नेपालि ले के कस्ता मान्छेहरु लाई राजनीति मा मल (जल गरे छौँ भन्ने कुराले पिरोल्न थाल्छ। अबत हुँदा हुँदा नेपाली नागरिकहरुका मन र मष्तिस्कमा अर्को मनोबिष्लेसक “ फ्रायड“ पुनः नेपाल मा जन्मिएर नेपाली राजनीतिक दलका नेताहरू को मनोबैज्ञानिक अध्ययन गरिदिए र समाधान दिए हुन्थ्यो जस्तो लाग्न थाल्यो। अनिमात्र दलका नेतृत्वबर्ग मा रहेको कुण्डा र आक्रोश को समाधान निक्लिएला । अन्यथा नेताहरुमा सकारात्मक सोचको बिकासको आशागर्नु भनेको आफुलाई नै मुर्ख बनाउनु हुने छ।

अस्तु। भृकुटीनगर-१०, नेपालगन्ज

प्रकाशित मितिः     9:22:13 PM  |