पूर्णरुपमा नाका खुलेकै छैन, रुपैडिहामा किनमेल गर्न जाने नेपालीको भिड लागिसक्यो


रुपैडिहामा किनमेलका लागि गएका ग्राहकले पार्किगं गरेर राखेको मोटरसाईकलहरु ।

नेपालगन्ज : भारतसँगको जमुनाह नाका खुकुलो भएपछि किनमेलका लागि आवतजावत गर्नेको घुइँचो लाग्न थालेको छ । शनिबार मात्रै पाँच हजारभन्दा बढीले भारत गएर किनमेल गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो । अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन् । तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पारेको थियो । १ माघदेखि भने नेपालतर्फबाट पनि केही खुकुलो गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सइ विष्णु गिरीले बताए ।

अहिले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिइएको उनले बताए । तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन । ‘व्यावहारिक रूपमा किनमेल र उपचारका लागि जानेहरूलाई केही सजिलो बनाइदिएका छौँ,’ सइ गिरीले भने, ‘नाका पूर्ण रूपमा खुलेको भन्न मिल्दैन, तर पहिलेभन्दा केही सहजचाहिँ पक्कै भएको छ ।’

अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन् । भारत जान कुनै रोकटोक नभएको नेपालगन्ज उपमहानगरपालिका–७ का मोइनुद्दिन खानको अनुभव छ । ‘लकडाउन हटे पनि भारत जान ठूलो संघर्ष गर्नुपथ्र्यो । दिनभर लाइन लागेर पनि भारत जान पाइँदैनथ्यो । अहिले आउजाउमा कुनै रोकटोक छैन,’ उनले भने ।


बिदाको दिन भएकाले शनिबार किनमेल गर्न भारत जानेको भिड लागेको थियो । किनमेलका लागि पाँच हजारभन्दा बढी सर्वसाधारण भारत प्रस्थान गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख गिरीले बताए ।

किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपइडिहा जाने र नेपालगन्ज आउनेलाई मोटरसाइकल ल्याउन–लैजान दिइँदैन । किनमेलका लागि रुपइडिहा जानेहरूको मोटरसाइकलले जमुनाह भरिने गरेको छ । ‘शनिबार मात्र तीन हजारभन्दा धेरै मोटरसाइकल जमुनाह बजारमा पार्किङ गरिएका थिए । पैदल, साइकल, रिक्सा र गाडीमा आउनेको संख्या पनि उस्तै थियो,’ होटेल व्यवसायी संघ, नेपालगन्जका वरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बूले भने, ‘नेपाल आउनेभन्दा किनमेलका लागि भारत जानेको संख्या धेरै थियो ।’

प्रकाशित मितिः     9:50:33 AM  |