यौन शिक्षाको कमीले गर्भपतन गराउन बाध्य


प्रकाश अधिकारी /रासस
सुर्खेत १० फागुन :  सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीय एक किशोरीको क्याम्पसकै सहपाठी साथीसंग पे्रम सम्बन्ध थियो । बिहे गर्ने बाचासंगै उनीहरुबीचको पे्रम सम्बन्ध दरिलो हुँदै थियो ।

जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच पे्रम सम्बन्ध टिकेन । पे्रमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य हुनुभयो । गर्भपतन गराउँदा उहाँको पेटमा आठ हप्ताको गर्भ थियो । गर्भपतनका साथै पे्रमीको मायापे्रमबाट टाढिनुपर्दा ती किशोरी शारिरीक तथा मानसिक रुपले विक्षिप्त हुनुभयो । उहाँले अहिले रोकिएको पढाइलाई निरन्तरता दिनुभएको छ ।

लहै–लहैमा लागेर किशोरीहरुले पे्रम सम्बन्ध राख्ने र पे्रमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ । उचित परामर्श नपाउँदा यस्तो अवस्थामा कतिपय किशोरीहरु आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् । टिपिओ नेपाल सुर्खेतकी मनोपरामर्शकर्ता शर्मिला वीसी किशोरीहरुमा गर्भ निरोधकका अस्थायी साधन प्रयोगको कमी हुँदा गर्भपतन गराउनुपर्ने अवस्था निम्तिने गरेको बताउनुहुन्छ ।

“ग्रामिण परिवेशमा अविवाहित किशोरीले अस्थायी साधन प्रयोग गर्न सक्ने वातावरण हुँदैन्, समाजले देख्ला भन्ने डर हुन्छ, पुरुषले सजगता अपनाउनुपर्ने हो तर उनीहरुमा वास्तै हुँदैन्, त्यसको सिकारमा किशोरी÷महिला पर्नु परेको हुन्छ,” उहाँ भन्नुहुन्छ, “जसले गर्दा महिलाहरु गर्भपतन गराउन बाध्य हुन्छन्, अझ असुरक्षित तवरले गर्भपतन गराउन खोज्नेको ज्यानै जोखिममा पर्ने पर्दछ ।” यसले गर्दा कतिपय महिलामा डिपे्रसनको समस्या देखापर्ने गरेको छ ।

मनोपरामर्शकर्ता शर्मिलासंग बन्दाबन्दी (लकडाउन)का बेला पूर्वी सुर्खेतको एक किशोरीलाई आत्महत्या गर्नबाट जोगाएको अनुभव छ । “स्नातक तहमा पढ्ने अविवाहित ती किशोरी पनि आफ्ना पे्रमीबाट धोका पाएपछि निकै तनावमा पर्नुभो, टिपिओ नेपालको हेल्पलाइनमा सम्पर्कमा आएपछि हामीले काउन्सिलिङ ग¥यौं,” शर्मिला भन्नुहुन्छ, “गर्भपतनको कुरा घर–परिवारबाट गोप्य राख्नुपर्दा उचित खानपिन र आरामको कमीले उनी अझैं तंग्रिन सकेकी छैनन् ।”

यही जेठमा वीरेन्द्रनगरस्थित एक क्लिनिकमा ती किशोरीले अढाइ महिनाको भु्रणको गर्भपतन गराउनुभएको थियो । उहाँलाई अहिले योनीबाट सेतो पानी बग्ने र महिनावारीमा गडबडी हुने समस्या छ । शर्मिला भन्नुहुन्छ, “सायद हाम्रो सम्पर्कमा नआएको भए ती किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुग्थिन्, किनकी अविवाहितले बच्चा जन्माएको समाजले स्वीकार गर्दैन ।”

गर्भपतन गराउने किशोरी उमेरको सूचीमा विवाहित पनि छन् । नेपालको कानून अनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष हो । त्यसैले सचेतनाका लागि भन्ने गरिन्छ, बिहेवारी २० वर्ष पारी । तर कर्णालीमा उमेर नपुगी गरिने बिहे अर्थात बालविवाहको प्रचलन कायमै रहँदा कतिपय किशोरीहरु उमेर नपुग्दै गर्भपतन गराउनुपर्ने बाध्यतामा पुग्ने गरेका छन् । तत्काल सन्तान जन्माउने रहर नहुनु, पहिलो सन्तान छोरा चाहनु, पढाइ तथा करिअरमा असर पर्नेजस्ता कारण देखाएर किशोरी उमेर समूहका महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । पे्रमीबाट धोका पाउनु, हाडनाता करणीबाट गर्भ रहनुले पनि कतिपय किशोरीहरु गर्भपतन गराउने बाध्यतात्मक अवस्थासम्म पुगेका हुन्छन् ।


सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर सुर्खेतकी अनमी काउन्सिलर मीना आचार्य पहिलो सन्तान नजन्माई गर्भपतन गराउँदा जटिल स्वास्थ्य समस्या निम्तिने बताउनुहुन्छ । “पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु भनेको जोखिमपूर्ण कार्य हो, यसले बाँझोपन बढाउने खतरा रहन्छ,” उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतनसम्बन्धी कानूनी व्यवस्था र सेवाको सहज उपलब्धताका कारण हामी कहाँ गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा बुझ्ने गरिएको छ, जसले गर्दा महिलाको स्वास्थ्यमा जटिल समस्या देखिने सम्भावना प्रबल हुन्छ ।” उमेर नपुग्दै गरिने गर्भपतनले महिलाहरु मानसिक तथा शारिरीक रुपले कमजोर हुनुका साथै रगतको कमी हुने, बच्चा जन्माउन गाह्रो हुने र गर्भपतनपछि उपचारमा जटिलता हुने गरेको उहाँको भनाई छ ।

२० प्रतिशत किशोरी

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार सुरक्षित गर्भपतन गराउने महिलाहरुमध्ये वर्षेनि १० देखि २० प्रतिशतसम्म किशोरीहरु छन् । आर्थिक वर्ष २०७४ कार्तिकदेखि २०७५ असोजसम्म कर्णाली प्रदेशमा पाँच हजार ७४२ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । तीमध्ये ७७६ जना २० वर्षभन्दा कम उमेरका थिए । २०७५÷०७६ को सोही अवधिमा पाँच हजार ७४१ मध्ये ९१२ जना किशोरी थिए । त्यस्तै, ०७६ देखि २०७७ असोजसम्म सुरक्षित गर्भपतन सेवा लिनेमध्ये ५८६ जना २० वर्षभन्दा कम उमेर समूहका थिए । २०७६÷७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको संख्यामा केही कमी देखिएपनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनमा १८ वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । तर सो भन्दा कम उमेर समूहका गर्भवती महिलाले गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्नुको साटो गर्भपतनलाई जोड दिँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा दीर्घकालिन असर पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 

प्रकाशित मितिः     6:05:04 AM  |