पर्यटनको प्रवेशद्धार जमुनाहलाई अव्यवस्थित पार्किङ्गले कुरुप बनायो


नेपालगन्ज । सवारी साधन पार्किङ गर्ने स्थान अभावका कारण नेपाल—भारत सीमा नेपालगन्जको जमुनाहा नाका अस्तव्यस्त बनेको छ । फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गर्ने र सयौं रिक्साको भिडले नाका अस्तव्यस्त बन्ने गरेको हो ।

भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ ।

भन्सार गराउनका लागि सयौं मालबाहक ट्रकहरु फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ । रिक्सा, मोटरसाईकललगायतका सवारी साधनका कारण सर्वसाधारणहरुलाई आउजाउमा समेत समस्या हुने गरेको छ । भारतबाट आउने सर्वसाधारणहरुलाई बोक्न सयौँ रिक्सा चालकहरु सीमा पुग्ने गरेका छन् ।

सरकारले नेपाल—भारत सीमा खोल्ने निर्णय गरेको खबर सार्वजनिक भएपछि नेपालगन्जको जमुनाहामा भारत जानेहरुको भिडभाड बढेको छ । भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हुने गरेको हो । सवारी साधन लिएर नेपाल भारत आउजाउ गर्न खोज्ने सर्वसाधारणहरुलाई प्रहरीले रोक्न खोज्दा विवाद पनि हुने गरेको छ ।


नाका खुलिसकेको जानकारी पाएका सर्वसाधारणहरुले सुरक्षाकर्मीहरुसंग विवाद गर्न थालेका हुन । दैनिक उपभोग्य सामाग्री किन्न हजारौ नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन । उनीहरु मोटरसाईकल, रिक्सा, नगरबसमा पुग्ने गर्छन । त्यस्तै सयौं नेपालीहरु कामको खोजिमा नेपालगन्ज नाका भएर भारत पस्ने गरेका छन् ।

‘रिक्सा, मोटरसाईकल, बस, ट्रकको भिडले पैदल हिड्नसमेत सक्ने अवस्था छैन । फोरलेन सडक हो कि पार्किङ गर्ने ठाउँ हो,’ जमुनाहाका स्थानीय मोहम्द शेर अली भन्छन्,‘दुई देशको नाका सुन्दर देखिनु पर्ने हो तर भिडभाडले कुरुपजस्तै देखिन्छ ।’ सडक छेउछाउमा माछा मासुको पसल राखिएका छन् । जस्का कारण फोहोर तथा दुर्गन्धित बनेको छ । स्थानीय प्रशासनले सीमा व्यवस्थापनका लागि पटकपटक प्रयास गर्दै आएको छ । तर उक्त प्रयास भने सफल हुन सकेको छैन ।

सरकारले नाका खुलेको भने पनि ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गिरीले नाका खोल्ने बारे स्थानीय प्रशासनबाट निर्देश नआएको जनाए । उनले निर्देशनपछि मात्रै सवारी साधनहरु भारत जान दिने बताए । ‘मान्छेहरुलाई जान दिएका छौँ । तर मोटरसाईकल र रिक्सासमेत भारत जान दिएका छैनौ,’ उनले भने,‘पैदल आउजाउ भइरहेको छ ।’

 

प्रकाशित मितिः     11:37:49 AM  |