नेपालगन्ज विमानस्थलमा शुक्रवार वृहत आपतकालिन पूर्वअभ्यास गरिदै


नेपालगन्ज । नेपालगन्जमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार यो अवधिमा विमानस्थल बन्द हुनेछ ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न लागिएको हो । विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमित हुन्छ ।

आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी , जुम्लासहित आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगन्ज पुग्ने भएका छन् । वायुसेवा कम्पनीहरुले समेत यसका लागि आफ्ना विमानस्थल प्रमुखहरुलाई नेपालगन्ज बोलाएका छन् ।

व्यवहारिक अभ्यास भएको र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे जानकारी हुने भएकाले सरोकारवाला सबैको सहभागिता सुनिश्चित गरिएको ठाकुरले जानकारी दिए । नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो ।

सुदुरपश्चिम र कणरली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको छ ।

प्रकाशित मितिः     १३ फाल्गुन २०७७, बिहीबार १६:५६  |