दिवंगत श्रीमानको सम्झनामा सुर्खेत क्याम्पसमा २५ लाखको अक्षय कोष स्थापना


सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)मा ‘भीम–कमला छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ । क्याम्पसमा सञ्चालन भएका विभिन्न विषयहरुमा उत्कृष्ठ अंक ल्याउने छात्र–छात्राहरुका लागि नगद रु. २५ लाख एक हजारको अक्षय कोष स्थापना गरिएको हो ।

दैलेखको महाबु गाउँपालिका ५ स्थायी घर भई हाल कोहलपुर नगरपालिका ६ बस्ने कमलादेवी मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको सम्झनामा अक्षय कोष स्थापना गरेकी हुन् । उनीसहित आफ्ना भतिज जयबहादुर मल्ल, भाइ धर्मराज शाही र भाईबुहारी विमला शाहीले संयुक्तरुपमा क्याम्पस प्रमुख माधव प्रसाद खनाललाई अक्षय कोषको लागि नगद २५ लाख एक हजार रकम उल्लेखित चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै मल्लले सोही अक्षयकोषमार्फत निकट भविष्यमा क्याम्पसको भवन निर्माण गर्न ७५ लाख एक हजार रूपैयाँ प्रदान गर्ने घोषणा गर्दै उनले अक्षयकोषको रकमबाट विद्यार्थीको पढाईमा थप प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको बताईन् ।

उक्त कोष स्थापना तथा चेक हस्तान्तरण कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख राजन कँडेल, पूर्व सहायक क्याम्पस प्रमुख डाक्टर हर्कबहादुर शाही, डाक्टर दीपक गौतम, विद्यार्थी कल्याण विभागका प्रमुख डम्बर बहादुर खत्री, क्याम्पसको नेपाली विभागका प्रमुख थानेश्वर लामिछाने, प्रशासन सहायक राजन शर्माको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     २६ फाल्गुन २०७७, बुधबार २१:२५  |