नाफामा नेपालगन्ज विमानस्थल


नेपालगन्ज । नेपालगन्ज विमानस्थल नाफा कमाउने विमानस्थलको सूचीमा परेको छ । देशभरका १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले निकालेको आर्थिक वर्ष २०७२र७३ यताको पाँच वर्षको औसतः आम्दानी तथा खर्च विवरण अनुसार त्रिभुवन विमानस्थल, हिमाली भेगका दुई र तराईका सात विमानस्थलमात्र नाफामा छन् । ४३ वटा विमानस्थल घाटामा छन् र तीमध्ये कतिपय त आम्दानीविहीन नै छन् ।

प्राधिकरणका सबैभन्दा राम्रो आम्दानी गर्नेमा त्रिभुवन विमानस्थल नै छ । अन्तर्राष्ट्रिय विमानस्थल हुनु र यात्रु र उडानको संख्या बढी हुने कारणले काठमाडौंले स्वाभाविक रुपमा बढी आम्दानी गर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । त्रिभुवन विमानस्थल अहिले नेपाललाई अरु देशहरुसँग हवाईमार्गसँग जोड्ने एक मात्र विन्दु हो ।

नाफामा चलेका १० विमानस्थल

पछिल्लो ५ वर्षको औसतः तथ्यांक अनुसार त्रिभुवन विमानस्थलले वाषिर्क औसतः ६ अर्ब ७३ करोड आम्दानी गर्छ, खर्च भने १ अर्ब ९ करोड रुपैयाँ छ । अन्तर्राष्ट्रिय विमानथस्थल बन्दै गरेको भैरहवा विमानस्थलको वाषिर्क औसत आम्दानी ५ करोड २५ लाख रुपैयाँ र खर्च ४ करोड १३ हजार रुपैयाँ छ ।

विराटनगर विमानस्थलको पछिल्लो ५ वर्षको औसत आम्दानी वाषिर्क ६ करोड ९३ लाख र खर्च ६ करोड १३ लाख रुपैयाँ छ ।

झापाको चन्द्रगढीको आम्दानी २ करोड ५६ लाख र खर्च २ करोड १८ लाख रुपैयाँ छ ।

बाँकेको नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ । कैलालीको धनगढी विमानस्थलको आम्दानी १ करोड ८१ लाख र खर्च १ करोड ३७ लाख रुपैयाँ छ ।

पोखरा विमानस्थलको औसत वाषिर्क आम्दानी ७ करोड ३६ लाख र खर्च ३ करोड ८१ लाख रुपैयाँ छ । चितवनको भरतपुर विमानस्थलको औसत वाषिर्क आम्दानी २ करोड ३२ लाख र खर्च १ करोड ८५ लाख रुपैयाँ छ ।

सोलुखुम्बुको लुक्ला विमानस्थलले औसत वाषिर्क १ करोड ६८ लाख आम्दानी गर्दा ९३ लाख ५० हजार रुपैयाँमात्र खर्च गरेको छ । हुम्लाको सिमकोट विमानस्थलको आम्दानी १ करोड ३ लाख र खर्च ७७ लाख २० हजार रुपैयाँ छ ।

पहाड र हिमाली भेगका विमानस्थल घाटामा

प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा पहाडी र हिमाली भेगका अधिकांश विमानस्थल घाटामा सञ्चालन भएका छन् । लामो समयदेखि बन्द रहेर हालै सञ्चालनमा आएका तराईका राजविराज र जनकपुर विमानस्थलसमेत घाटामा छन् । लुक्ला उडानमा काठमाडौंको विकल्पका रुपमा सञ्चालनमा आएको रामेछाप विमानस्थल, कणरली प्रदेश राजधानी सुर्खेतको विमानस्थल पनि घाटामा छ ।

यी विमानस्थलमा उडान/अवतरणबाहेक अन्य आम्दानी नहुने, जहाजको रात्रीकालीन विसान नहुने भएकाले पार्किङ शुल्क समेत नउठ्ने भएकाले यस्ता विमानस्थलको आम्दानी न्युन भएको हो । घाटामा सञ्चालनमा रहेका विमानस्थलको सूचीमा पर्यटकीय गन्तव्य रारादेखि चलेको विमानस्थल सिमरासम्म छन् । सुदूरपश्चिममा लामो समयदेखि बन्द रही हालै सञ्चालनमा आएका डोटी, बझाङ, बाजुराका विमानस्थल समेत घाटामा सञ्चालित छन् ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७७, शुक्रबार ०६:५९  |