पहाड उक्लिएका मुख्यमन्त्री लालबाबु राउत भन्छन्- मधेस र कर्णालीको पीडा उस्तै उस्तै !


  • सिता ओली(सुर्खेत)

-शनिवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कर्णाली प्रदेश उक्लिए । रावत प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सञ्चालित कर्णाली उत्सव ‘कुडा कर्णालीका’मा संघीयताको अनुभव साट्न आएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश २ का मुख्यमन्त्री राउतले ‘मुख्य मान्ठ, मुल कुडा’ सेसनमा संघीयताबारे अनुभव साट्ने कार्यक्रम थियो । विकासका हरेक सूचकांकमा पछि रहेका यी दुई प्रदेशका मुख्यमन्त्रीले उत्सवमा अनुभव आदान–प्रदान गर्न भने पाएनन् । कर्णालीका मुख्यमन्त्री शाहीले कार्यक्रमलाई समय दिएनन् । उनी शनिवार बिहानै संघीय राजधानी काठमाडौं लागे ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउत एक्लैले संघीयताको अनुभव सुनाए । उनले व्यवस्था र पात्र बदलिए पनि प्रवृत्ति उस्तै रहेको औंल्याए । ‘हिजो जे थियो, आज पनि त्यहीँ छ संघीयतापछि पात्र बदलिए प्रवृत्ति उस्तै छ,’ उनले भने । ‘कर्णाली र हाम्रो प्रदेश केन्द्रबाट सधैं ठगिएको छ,’ उनले भने, ‘मधेस आन्दोलना बलमा संघीयता आएको हो भन्ने कुरा केन्द्र सरकारले बिर्सनु हुँदैन ।’ उनले मधेसमा कालो वर्णको मान्छे बस्ने भएर हो, या धोती कुर्ता लगाउने भएर हो केन्द्रले कहिल्यै अवसर नदिएको आरोप लगाए ।

प्रदेशलाई अधिकार दियो भने सबै लुट्छन् भन्ने सोच संघमा रहेको उनको भनाइ थियो । मुख्यमन्त्री राउतले संघले प्रदेशबाट ९० प्रतिशत कर उठाएर १५ प्रतिशत मात्रै बजेट पठाउने गरेको गुनासो गरे । बजेट निर्माण गर्दा सबै प्रदेशलाई समान दृष्टिकोणले हेर्न नसक्नु नै संघीय सरकारको गलत पक्ष भएको उनले औंल्याए । ‘मैले संघीय सरकारलाई नौ वटाभन्दा बढी मुद्दा आफै हालेको छु,’ उनले भने ।

संघीयता कसैको इच्छाले भन्दा पनि मधेस आन्दोलनको बलले आएको जिकिर उनले गरे । कर्मचारीको अभाव, असमान बजेट, साझा अधिकारका क्षेत्रमा कानुन निर्माणमा ढिलाइ लगायतका समस्या आफूहरूले झेल्नुपरेको उनले सुनाए । संघीय सरकारले कर्णाली प्रदेश र प्रदेश २ लाई सधैं हेप्दै आएको भन्दै उनले कर्णाली र मधेसको पीडा उस्तै भएको बताए ।

‘संघीयताको मूलमर्म विपरीत काम भइरहेको छ, उनी भन्छन्, ‘सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री समक्ष बन्दकोठाभित्र समस्या राखे पनि अन्य मुख्यमन्त्रीहरू बाहिर आउँदा मुखमा बुझो लगाएर आएको उनले सुनाए । प्रदेश २ मा उद्योगधन्दा धेरै सञ्चालनमा आए पनि समग्र विकासको दृष्टिले भने पछाडि नै परेको राउतले बताए । ‘मुख्य मान्ठ’को बहसमा मुख्यमन्त्रीले मात्रै होइन कर्णालीका नागरिकले समेत उस्तै बेथा सुनाए ।

‘महिनावारी हुँदा हामीहरू छाउगोठमा बस्नुपर्छ । देशमा संघीयता आए पनि समाजको सोच बदलिएको छैन,’ बहसमा कालीकोटकी शान्ति अधिकारीले आफूहरूका लागि संघीयता छाउगोठ भएको बताइन् । तिलागुफा नगरपालिकाकी उनले भुइँमान्छेले संघीयताको महसुस गर्न नपाएको गुनासो गरिन् । मुख्यमन्त्री राउतलाई प्रश्न गर्दै उनले भनिन्, ‘संघीयताका नाममा हामीहरू गलत संस्कार सिक्दैछौं ।’ सामाजिक सोचमा परिवर्तन नआउञ्जेल विकास र समृद्धिको कल्पना गर्न नसकिने उनले बताइन् । ‘संघीयताले विकास ल्याउँछ भन्थे,’ उनले भनिन्, ‘गाउँँ–गाउँमा सिंहदरबार बने पनि विकासको गति भने अघि बढ्न सकेन ।’

बहसमा सहभागी सुर्खेतका धिरेन अनुपमले भारतको सिमासँग जोडिएको प्रदेश २ ले नेपालको सीमाको रक्षा गर्नुपर्ने राय राखे । उनले उद्योगधन्दा धेरै सञ्चालनमा हुँदाहुँदै पनि विकास हुन नसकेको मुख्यमन्त्रीको भनाइलाई खण्डन गर्दै कर्णालीका जडिबुटी लगेर प्रशोधन गर्न आग्रह समेत गरे । उनले दुई पिछडिएका प्रदेशले आपसी समझदारीमा विकासको मूल फुटाउनुपर्ने धारणा राखेका थिए । बहसमा विभिन्न पेसा व्यवसायका व्यक्तिहरूले सहभागिता जनाएका थिए । मुख्यमन्त्रीलाई संघीय सरकारको विरोध र आलोचना गर्नुभन्दा आफ्नो प्रदेशमा रहेका सम्भावनाको खोज गरेर अगाडि बढ्नुपर्ने उनीहरूको सुझाव थियो ।

‘मुख्य मान्ठ, मुल कुडा’ सेसनको सहजीकरण पत्रकार दिलभूषण पाठकले गरेका थिए । चार दिनदेखि जारी कर्णाली उत्सव शनिवार सम्पन्न भएको छ ।

प्रकाशित मितिः     २ चैत्र २०७७, सोमबार ०९:३४  |