नेपालगन्जका रेष्टुरेन्ट र क्याफेमा आर्कषक ‘इन्टरियर डिजाइन’


नेपालगन्जको रोयल क्याफे

नेपालगन्ज :  नेपालगन्जमा खुल्ने नयाँ रेष्टुरेन्ट र क्याफेहरुले आर्कषक इन्टेरियर डिजाइनको शैली पछ्याउँदा थालेका छन् । सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरन्डादेखि लिएर बगैंचासम्म सजाउने क्रम बढेको छ, जसका कारण डिजाइनरहरूको व्यस्तता पनि बढेको छ ।

कर्पोरेट हाउस, हस्पिटल तथा रेस्टुराँहरू पनि डिजाइन गराउने ट्रेण्ड प्रारम्भ भएको छ । इन्टेरियर डिजाइनको काम आर्किटेक्चरले घरको डिजाइन पूरा गरेपछि मात्र सुरु हुन्छ । आर्किटेक्चरले घरको भित्री मापदण्ड बलियो एवं परिवारको आवश्यकतालाई ध्यान दिएर स्टक्चर खडा गर्छन् भने इन्टेरियर डिजाइनरले कलरलगायत घरमा प्रयोग हुने फर्निचर, विद्युत् लाइटलाई आकर्षक रूपमा प्रयोग गर्छन् । इन्टेरियर डिजाइनका लागि मानिसहरू जति पनि खर्च गर्न तयार हुने गरेका छन् ।

घरलाई सुन्दर बनाउने क्रममा मानिसले आफ्ना इच्छा र चाहनालाई पनि जोडेको पाइन्छ । इन्टेरियर डिजाइनिङमा खटिएकाहरू भन्छन्–मानिसको मुडलाई भित्तामा लगाइएको कलरले चेन्ज गरिदिन्छ । अहिले मानिसहरू रातको समयमा आफ्नो बेडमा दिनको तनाव बिर्साउन घरको भित्तामा लगाइएको कलरले साथ देओस् भन्ने चाहना राख्छन् ।

यस्तो कलरमा सेतो वा क्रिम कलर धेरैको रोजाइमा पर्ने गरेको छ । किनभने सेतो वैवाहिक जोडीका लागि खुसीको रंग हो भने क्रिम सान्त्वनाको रंग हो । यस्तै नीलो, आकाशे फ्रेसनेसको कलर हो भने रातो, कालो तनावका कलर हुन् । यस्तै सुन्तला, हरियो तथा पहेंलो कलरचाहिँ व्यावसायिक कलर हुन् ।

घरको भित्री डिजाइन गर्दा समयलाई ध्यान दिनुपर्छ । दिनको तनाव बिसाएर निद्रालाई आनन्ददायक बनाउने काममा लाइटले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । डिजाइनरहरूका अनुसार प्राय : मानिस बेलुका डिम लाइट रूचाउँछन् । यसले जोडीलाई आनन्दानुभूति प्रदान गर्दै सामीप्य प्रदान गर्छ । राति अर्को आनन्द प्राप्त हुने साधन हो आफू सुत्ने बेड । बेड राख्दा पनि लोकेसन मिलाउन सक्नुपर्छ । सबैजसो मानिस खाना खाएर रमाउने बेड आफूअनुकूलको होस् भन्ने चाहन्छन् । बेडको लोकेसन प्रगोगकर्ताको चाहनाअनुसार नै तय गरिन्छ । राति बाहिरी आवाज कोठाभित्र नसुनियोस् भन्ने हिसाबले थर्मोकोल वा प्लाई प्रविधिबाट कोठाको फिनिसिङ गरिन्छ ।

अंग्रेजीमा इन्टेरियर डिजाइनिङ भन्ने शब्द नेपालीमा घर वा कोठाको भित्री सौन्दर्यसँग सम्बन्धित विषय हो । इन्टेरियर डिजाइनरले फर्निचर सजावट, उपलब्ध स्पेसको सही प्रयोग, कार्पेट, मार्बल, सिलिङ, भित्ताको रंग आदिको प्रयोगजस्ता कुरालाई ध्यानमा राखेर काम गर्छन् । इन्टेरियर डिजाइनर अनुसार बेडरुम, किचनरुम, चिल्ड्रेन रुम कस्तो, कत्रो र कहाँ उपयुक्त हुन्छ झ्याल–ढोकाको आकार, उचाइ, स्थानलगायत बत्ती राख्ने स्थान आदिमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

अहिले नयाँ घरमा मात्र होइन पुराना घरलाई समेत इन्टेरियर डिजाइनिङमार्फत नयाँ जस्तै स्वरूपमा उतार्न थालिएको छ । सानो बजेटमा पनि सामान्य घरलाई सुन्दरता प्रदान गर्न सकिने अनुभव छ । इन्टेरियर डिजाइन गर्दा वास्तुशास्त्रमा पनि विशेष ध्यानमा राखिन्छ ।

 

प्रकाशित मितिः     २ चैत्र २०७७, सोमबार १३:४१  |