फागुन महिनामा घरजग्गा कारोबार उच्च, बाँकेमा कति ?


काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को फागुन महिनामा घरजग्गा कारोबारले रेकर्ड ब्रेक गरेको छ ।

गत पुसमा हालसम्मकै उच्च सेवा प्रवाह भई घरजग्गामा नयाँ रेकर्ड कायम गरेको थियो । तर, उक्त रेकर्डलाई ब्रेक गरेर फागुन महिनाको घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेको छ ।

कोभिडपश्चात घरजग्गा कारोबार उच्चतम विन्दुमा पुगेको देखिन्छ । गत पुस महिनामा घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरे पनि माघमा भने केही मात्राले घटेको थियो । तर, फागुन महिनामा भने हालसम्मकै उच्च कारोबार भएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आवको पुस महिनामा देशभरका मालपोत कार्यालयबाट २ लाख १४ हजार ४६० सेवा प्रवाह भएको थियो । त्यस्तै माघमा घटेर उक्त कार्यालयहरुबाट २ लाख ११ हजार घरजग्गाको सेवा प्रवाह गरेको थियो ।

तर, फागुन महिनामा देशभरका मालपोत कार्यलयबाट २ लाख १४ हजार ४ सय ९१ सेवा प्रवाह गरी नयाँ रेकर्ड कायम गरेको विभागले तथ्याङ्कले उल्लेख गर्दछ ।

देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपिलगायत अन्य विभिन्न कार्य गरी उक्त कारोबार भएको विभागको जनाएको छ ।

कोरोना महामारीले अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थामा विभिन्न व्यापारी तथा व्यवसायीको लगानी घरजग्गामा थुप्रिएको घरजग्गा कारोबार गर्ने व्यवसायीहरू बताउँछन् ।

हरेक व्यवसायीको कारोबार गरेको मूल्यमा घटबढ भइरहेता पनि घरजग्गामा भने दिन प्रतिदिन बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । साथै, घरजग्गा कारोबार पनि सोही अनुसार बढीरहेको व्यवसायीहरू बताउँछन् । त्यसैले यस क्षेत्रमा आबद्ध व्यवसायीहरूमा उत्साहित रहेको उनीहरूको भनाइ छ ।

त्यस्तै विभागका महानिर्देशक शेषनारायण पौडेलले घरजग्गा कारोबार अत्यधिक बढेको बताए । उनका अनुसार बैंकले ब्याज सस्तो भएकाले कोरोनाको समयमा अन्य व्यवसायको तुलनामा घरजग्गाको सुरक्षित भएकाले घरजग्गा कारोबार दैनिकरुपमा बढेको बताए ।

हाल देशभर १२६ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये १ सय ८ कार्यालयमा मात्रै अनलाईन प्रणाली सञ्चालनमा रहेका छन् । त्यस्तै, अनलाईन प्रणाली लागू नभएका बाँकी १८ वटा कार्यालयहरूको कारोवार यसमा समावेश गरिएको छैन ।

तर, यी कार्यालयहरूबाट पनि अनलाइन प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको विभागले जनाएको छ । साथै, हाल १०८ वटा मालपोत कार्यालयमा भू–सेवा सञ्चालनको लागि तीब्र रुपमा तालिम तथा छलफलको कार्यहरु भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् ।

७६ हजार घरजग्गा किनबेच
फागुन महिनामा देशभरका मालपोत तथा भूमिसुधार कार्यलयबाट ७६ हजार ४ सय ९१ घरजग्गा किनबेच भएको छ । जसमा सबैभन्दा अगाडि भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा–सुनसरीले सबैभन्दा बढी घरजग्गाको किनबेच गरेको छ ।

इनरुवा, सुनसरीले मात्रै फागुन महिनामा ३ हजार ५१४ घरजग्गाको किनबेच गरेको छ । त्यस्तै, मालपोत कार्यालय बेलवारी– मोरङले ३ हजार ५०, भद्रपुुर–झापाले २ हजार ७ सय ९२, नेपालगञ्ज–बाँकेले २५ सय ७ र जनकपुरधाम–धनुषाले २३ सय २३ घरजग्गाको कारोबार गरेको छ ।

यस्तै, देशभरका मालपोत कार्यालयबाट फागुन महिनामा ७६ हजार ४ सय ९१ लिखित पारित हुँदा ५ हजार १ सय ६४ नामसारी, ५ हजार १ सय ८६ संशोधन, ६४ हजार ४ सय ३८ रोक्का र ३६ हजार ९ सय ४२ फुकुवा गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

यस्तै विभागको तथ्याङ्क अनुसार ५८ वटा अपार्टमेन्टको लिखित पारित, ३६ जग्गा दर्ता, १५ सय ९७ दाखिला खारेज गरेको छ ।

घरजग्गा कारोबार गर्नेमा इनरुवा अगाडि
विभागले सर्वाजनिक गरेको तथ्याङ्क अनुसार घरजग्गा कारोबारमा सँधै अगाडि इनरुवा मालपोत कार्यालय रहेको छ ।

चालु आवको फागुन महिनामा सुनसरीको इनरुवा भूमि सुधार तथा मालपोत कार्यालयले ८ हजार ६ सय १३ घरजग्गाको कारोबार गरेको छ ।

यस्तै गत माघ महिनामा ८ हजार ६ सय १५ घरजग्गाको कारोबार गरेको थियो । जसमा उक्त कार्यालयले फागुनमा मात्रै ३ हजार ५ सय १४ लिखित पारित, १३९ घरजग्गाको नामसारी, २ हजार ६३४ को रोक्का र १ हजार ६६८ घरजग्गाको फुकुवा गरेको छ ।

त्यसैगरी, भद्रपुर झापाले ८ हजार २ सय ५५ सेवा प्रवाह गरेकोमा २ हजार ७९२ लिखित पारित, २ सय ६ संशोधन, २ हजार ६७८ रोक्का र १ हजार ८७२ फुकुवा गरेको छ ।

साथै, अन्य मालपोत कार्यालयमा बेलाबारी–मोरङ, नेपालगञ्ज–बाँके, भक्तपुर, लगनखेल, चितवन, काभ्रेपलाञ्चोकलगायतअन्य उपत्यका बाहिर जिल्ला रहेका छन् ।

यस्तै, उपत्यकामा अधिकतम कारोबार गरेकोमा भक्तपुर मालपोत कार्यालय रहेको छ । भक्तपुरले एक महिनामा ५ हजार ८ सय ३० घरजग्गाको कारोबार गरेको छ । साथै, भक्तपुुरले फागुन महिनामा २ हजार २८० लिखित पारित, १३८ नामसारी, २ सय १७ संशोधन, १ हजार ६ सय रोक्का र १ हजार १४२ फुकुवा गरेको छ ।

त्यस्तै लगनखेलले फागुन महिनामा ५ हजार ६ सय ५५ घरजग्गाको कारोबार गरेको छ । लगनखेलले २ हजार १५४ लिखित पारित, १ सय १७ नामसारी, १ सय ९७ संशोधन, १ हजार ५८४ रोक्का र १ हजार ११२ फुकुवा गरेको छ ।

त्यस्तै, उपत्यकामा काठमाडौंस्थित रहेको कलंकी मालपोत कार्यालयले ४ हजार ६ सय १२, चावहिल मालपोत कार्यालयले ३ हजार १९६, मनमैजुले २ हजार १३३, साँखु मालपोत कार्यालयबाट १ हजार ९७८ सेवा प्रवाह भएको छ ।

राजश्व संकलनमा नयाँ रेकर्ड
विभागको तथ्याङ्क अनुसार देशभरका मालपोत कार्यालयबाट हालसम्मकै उच्च राजश्व संकलन गरेको छ । गत पुसमा ६ अर्ब राजश्व संकलन गरी नयाँ रेकर्ड कायम गरेकोमा फागुन महिनामा ७ अर्ब ५ करोड ९ लाख रुपैयाँ राजश्व संकलन गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

विभागले देशभरका भूमि सुधार तथा मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरेवापत ७ अर्ब राजश्व रकम संकलन गरेको हो ।

जसमा सेवाकर वापत ४१ करोड ७६ लाख ४० हजार, बाग्मतीबाट ३० करोड ५९ लाख ४३ हजार, रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ८७ करोड ९४ लाख, छुटबाट ५८ करोड २४ लाख र पूजीँगत लाभ करबाट १ अर्ब ६९ करोड ७० लाख ४३ हजार, मुख्यमन्त्री स्वछता अभियान कोषबाट ४ करोड ५९ लाख ५७ हजार राजश्व संकलन गरेको छ ।

विगतका दिनमा पनि सबैभन्दा बढी राजश्व संकलन गर्दै आएको लगनखेलले फागुनमा ६१ करोड ५२ लाख ६१ हजार राजश्व संकलन गरेको छ । माघ महिनामा विभागले देशभरका मालपोत कार्यालयबाट विभागले ६ अर्ब ७३ करोड २७ लाख ८० हजार राजश्व संकलन गरेको थियो ।

लगनखेल मालपोत कार्यालयले सेवाकरवापत २ करोड १९ लाख ९६ हजार, बाग्मतीबाट ४ करोड ६४ लाख २४ हजार, रजिष्ट्रेसन दस्तुर ४० करोड ७३ लाख ३८ हजारलगायत अन्य विभिन्न कारोबारबाट उक्त राजश्व संकलन गर्न सफल भएको छ ।

त्यसैगरी काठमाडौं डिल्लीबजार मालपोत कार्यालयबाट ४६ करोड १० लाख ९१ हजार, कलंकी कार्यालयबाट ४५ करोड ६० लाख ६० हजार, भक्तपुर कार्यालयबाट ३९ करोड ५८ लाख ७० हजार, चाबहिल कार्यालयबाट ३६ करोड ४० लाख १३ हजार राजश्व संकलन गरेको छ ।

उपत्यकाबाहिर सबैभन्दा अघि चितवन
गत माघमा राजश्व संकलन गर्नेमा चितवन अगाडि रहेकोमा फागुनमा पनि चितवनले बढी राजश्व संकलन गरेको छ ।

जसमा चितवनले फागुन महिनामा ३५ करोड १० लाख ९३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, माघमा चितवनले १७ करोड ८७ लाख ५६ हजार राजश्व संकलन गरेको थियो ।

त्यसैगरी कास्की मालपोत कार्यालयले १५ करोड ९० लाख ८७ हजार, काभ्रेपलाञ्चोकले १५ करोड ५३ लाख र सुनसरी मालपोत कार्यालयले १५ करोड ४८ लाख ७९ हजार राजश्व संकलन गरेको छ ।

साथै, कारोबारमा सँधै अगाडि रहेको इनरुवाले भने कारोबार अनुसारको राजश्व संकलन गर्न सकेको छैन । इनरुवाले फागुन महिनामा १५ करोड ७६ लाख ८३ हजार राजश्व संकलन गरेको छ ।

प्रकाशित मितिः     ५ चैत्र २०७७, बिहीबार १४:१५  |