तपाईंलाई थाहा नहुन पनि सक्छ, तपाईंले बैंकबाट ऋण लिँदा ब्याज बाहेक अतिरिक्त शुल्क पनि बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको प्रकृया चलिरहँदै विभिन्न शिर्षकमा शुल्क लिने गर्छन् ।
हामी तपाईंलाई बैंकमा ऋण लिन जाँदा कुन–कुन शिर्षकमा अतिरिक्त शुल्क तिर्नुपर्छ भनेर जानकारी गराउँदैछौं ।
सेवा शुल्क
तपाईंले बैंकबाट घरकर्जा लिँदा सेवा शुल्क तिर्नुपर्छ । बैंक तथा वित्तीय संस्था हेरिकन सेवा शुल्क फरक फरक रहेको हुन्छ । तर, बैंकहरुले राष्ट्र बैंकले तोकेको भन्दा बढी सेवा शुल्क लिन पाउँदैनन् । बाणिज्य बैंकहरुले बढीमा ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन् । यस्तै, विकास बैंकले १ प्रतिशतसम्म, फाइनान्स कम्पनीले १.२५ प्रतिशतसम्म र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था छ । नेपालमा लघुवित्त कम्पनीले घरजग्गामा लगानी गर्न पाउँदैनन् ।
बैंकहरुले सिमाभित्र रहेर आ–आफ्नै ढंगले सेवा शुल्क लिँदै आइरहेका छन् । कतिपय बैंकले ०.२५ प्रतिशत सेवा शुल्कमा पनि ऋण अफर गरिरहेका हुन्छन् । तपाईंले बार्गेनिङ गर्न सकेको खण्डमा सेवा शुल्क अलिकति घटाउन पनि सक्नुहुन्छ ।
सूचना शुल्क
बैंकमा ऋण लिन जाँदा सुरुमै कर्जा सूचना वापतको शुल्क तिर्नुपर्ने हुन्छ । कर्जा सूचना केन्द्रले जति शुल्क लिन्छन् बैंकले ग्राहकसँग त्यति नै शुल्क उठाइदिने हुन् । तपाईंको कर्जाको इतिहास अनुसार यो शुल्क फरक हुन्छ । यदि तपाईंले अरु बैंकहरुबाट पनि ऋण लिनुभएको छ भने अलि लामो कर्जा सूचना आउँछ । जति धेरै सुचना थपियो त्यति बढी शुल्क तिर्नुपर्ने बैंकर बताउँछन् । सामान्यतया कर्जा सूचना केन्द्रलाई ५ सय रुपैयाँ शूल्क बुझाउनुपर्छ ।
धितो मूल्यांकन शुल्क
धितो राख्ने सम्पत्तीको मुल्यांकन गराउँदा भ्यालुएटरलाई पनि फि तिर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले धितो मूल्यांकनका लागि आ–आफ्नै भ्यालुयटर इञ्जिनियर छनौट गरेका हुन्छन् । उनीहरुले बैंकको आग्रह अनुसार फिल्डमा पुगेर धितो मूल्यांकन गरी कर्जा प्रवाह गर्न सक्ने सिमा तोकिदिन्छन् ।
धितो मूल्यांकन बापतको पैसा बैंकलाई बुझाउनु पर्दैन । धितो भ्यालुएटरलाई नै बुझाउने हो । पोपर्टीको कति फेयर मार्केट भ्यालु आउँछ, भ्यालुएटरले सोही अनुरुप धितो मूल्यांकन चार्ज लिन्छन् । सामान्यतया घरजग्गाको धितो मूल्यांकन गरेवापत इञ्जिनियरले ५ हजारदेखि १० हजारसम्म चार्ज लिने गर्छन ।
दृष्टिबन्धक शुल्क
तपाईंको सम्पूर्ण डकुमेन्ट तयार भइसकेपछि बैंकहरुले ऋण प्रवाह गर्नुभन्दा अगाडि मालपोत कार्यालयमा गएर तपाईंको सम्पत्ती धितो बन्धक राख्छन् । धितो बन्दक गर्न जाँदा मालपोत कार्यालयले निश्चित दस्तुर लिने गर्छन् ।