२०७७ सालमा धरासायी अर्थतन्त्र, २०७८ सालमा कस्तो होला ?


नेपालगन्ज । नयाँ वर्ष २०७७ लाई स्वागत गरिरहँदा देश बन्दाबन्दी (लकडाउन) अवस्थामा थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ गतेदेखि अर्थात नयाँ वर्ष आउनु २० दिन अगावै लकडाउन गरेको थियो । लकडाउनका कारण २०७७ सालको नयाँ वर्षको आगमन र त्यसपछिका दिन उल्लासमय हुन सकेनन् । किनभने सबै नेपालीहरू आफ्ना घरमा थुनिएका थिए । उद्योग व्यवसाय बन्द गरिएका थिए । नयाँ वर्ष मात्र होइन नेपालीहरूको दुई ठूला पर्व दसैं र तिहार पनि कोरोना महामारीले गर्दा उल्लासमय भएनन् ।

लकडाउनका कारण देश ठप्प हुन पुग्यो । देशका आर्थिक गतिविधि त झनै ठप्प भयो र जसका कारण आर्थिक विस्तार पनि खुम्चिन पुगेको छ । छिमेकी मुलुक चीनको हुवेई प्रान्तको राजधानी वुहान सहरबाट २०७६ को मंसिरको अन्तिम साता कोरोना महामारी देखिएको थियो । त्यसपछि विभिन्न मुुलुकमा फैलिन थालेपछि नेपालमा पनि सरकारले लकडाउन सुरु गर्यो । लकडाउन ४ महिना लामो अर्थात साउन ६ गतेसम्म कायम थियो । लकडाउन हटेपछि पनि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा स्थानीय सरकारहरूले २ महिनासम्म निषेधाज्ञा लगाइएका थिए ।

लकडाउन खुलेपछि कात्तिकमा सबैभन्दा बढी अर्थात ५ हजार बढीमा कोरोना संक्रमित देखिएको थिए । संक्रमण मंसिरपछि विस्तारै कम हुँदै गएको थियो । चैतदेखि छिमेकी भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । नेपालमा दैनिक १०० भन्दा कम संक्रमित हुने गरेकोमा अहिले बढेर ५ सयमाथि पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजारमाथि पुगेको छ । सोमबार मात्रै कोरोना संक्रमणका कारण १३ जनाको निधन भएको छ ।

कोरोना दोस्रो संक्रमितको संख्या देखिएपछि अतालिएर सरकारले लकडाउन सुरु गरेको हो । बिना तयारी हतारमा लकडाउन गर्दा जनजीवन अस्तव्यस्त मात्र भएन अर्थतन्त्र नै तहसनहस भयो । जब सरकारले साउन ६ गतेदेखि लकडाउन हटाएको घोषणा गर्यो, त्यसपछि मात्र कोरोना संक्रमितको संख्या ह्वातै बढेको थियो ।

कोरोनाले ३ हजार बढीको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको संख्या बढ्दै गएको छ । सोमबार एकैदिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । दैनिक तीन–चार जना सङ्क्रमितको मात्र मृत्यु हुने गरेकोमा कहिलेकाहीँ शून्य हुने गरेको थियो । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण माघ १० मा भेटिएको ४ महिनापछि मात्रै मानवीय क्षति भएको थियो । पछिल्ला दिनमा विस्तारै संक्रमितको संख्या घट्दै गएकोमा फेरि विश्वभरि कोरोनाको दोस्रो लहर सुरु भएको छ ।

यसअघि कात्तिकमा २० जना सङ्क्रमितको एकै दिन मृत्यु भएको थियो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ जना पुगेको छ । गत जेठबाट कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको हो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । यो नै पहिलो मृत्यु थियो ।

सोमबारसम्म नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना निको भइसकेका छन् । यस्तै ३ हजार ३ सय ६ जना आइसोलेसनमा र ८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

अर्थतन्त्र विस्तार खुम्चियो

कोरोना महामारीले मानवीय जीवनलाई तहसनहस मात्रै पारेन जनजीवनलाई अस्तव्यस्त बनाइ समग्र अर्थतन्त्रमाथि नै प्रहार गर्यो र २०७७ अर्थतन्त्रका लागि खराब वर्ष भयो । केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्ष कोरोना महामारीका कारण अर्थतन्त्र विस्तार १।९९ प्रतिशतले ऋणात्मक भयो । नेपालको आर्थिक वृद्धि ४० वर्षपछि ऋणात्मक भएको विश्व बैंकले जनाएको छ । आर्थिक अवस्था २०७२ सालको भूकम्प र त्यसपछि भारतले गरेको नाकाबन्दीको भन्दा खराब हुन पुग्यो ।

२०७२ मा नेपालको आर्थिक विस्तार घटेर ०।२ प्रतिशतमा झरेको थियो । तर, कोरोनाले आर्थिक गतिविधि ठप्प बनाएपछि आर्थिक वृद्धि ऋणात्मक हुन पुग्यो । गत वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरी सोहीअनुसार लक्ष्य निर्धारण गरेको थियो । तर, त्यो लक्ष्यमा ठूलो असर गर्यो अन्ततः आर्थिक वृद्धि ऋणात्मक भयो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत अर्थतन्त्र विस्तारको लक्ष्य राखेको छ । यो वर्ष पनि अर्थतन्त्र अझ ऋणात्मक हुने देखिएको छ ।

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २।७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरस महामारीको कारण १।९ प्रतिशतले खुम्चिएको अर्थतन्त्र यो वर्ष केही सुधारआई सो आर्थिक वृद्धि हासिल हुने अनुमान बैंकले गरेको हो ।कोरोना विरुद्धको खोपका कारण आर्थिक गतिविधि चलायमान हुन गई पुरानो अवस्थामा फर्किन थालेको निश्कर्ष बैंकको छ । विश्व बैंकले सन २०२१र०२२ मा ३।९ र ०२२/०२३ मा ५.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ ।

विश्व बैंकले सरकारले अनौपचारिक कामदारहरूको संरक्षण, क्षेत्रीय सहयोग वृद्धि र खाद्य मूल्यमा अचानक वृद्धि रोक्न प्रमुख चरणमा भन्सार प्रतिबन्ध हटाउन विश्वव्यापी सामाजिक बिमाको विकास गर्न सुझाव दिएको छ ।यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपालको आर्थिक विस्तार २।९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ । मुद्रा कोषले आर्थिक वर्ष २०७८र०७९ र २०७९र०८० मा क्रमशः ४.२ र ५.२ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।


अधिकांश उद्योग प्रतिष्ठान बन्द, रोजगारी गुम्यो

लकडाउनका कारण सर्वसाधारण घरबाट ननिस्किएका मात्रै होइन सरकारी कार्यालय, निजी उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, खाद्यान्न तथा औषधि बाहेकका सबै किसिमका व्यापार पूर्णतः ठप्प हुन पुगे । यसबीचमा अत्यावश्यक बाहेक सबै उद्योग व्यवसाय बन्द भए । यसले दैनिक ज्यालादारी कामदारदेखि उद्योग कलकारखानामा काम गर्ने मजदुरहरू बढी प्रभावित भए । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन ९चैतदेखि असार०ले बन्दाबन्दी अवधिमा पनि ४ प्रतिशत उद्योग व्यवसाय मात्रै पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । यसअवधिमा ३५ प्रतिशत आंशिक रूपमा सञ्चालन भएको ६१ प्रतिशत पूर्णरूपमा बन्द रहेको अध्ययनको निष्कर्ष थियो ।

दुईतिहाइ उद्योग पूर्णरूपमा र एकतिहाइ व्यवसाय आंशिक बन्द हुँदा २२।५ प्रतिशत कर्मचारी तथा कामदार प्रभावित हुँदै रोजगारी गुमाएका थिए भने १८।२ प्रतिशत कर्मचारीको तलब कटौती भएको थियो । पर्यटन क्षेत्र अझै पनि कोमामै छ । पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्किन अझै केही वर्ष नै लाग्ने देखिएको छ । कोरोनाबाट सिर्जित लकडाउनबाट १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान राष्ट्र बैंकले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा ३ देखि साढे ३ खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको बजेटमा कोरोना संक्रमितलाई उपचारका साथै स्वास्थ्य पूर्वाधार बनाउन झण्डै १ खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । दोस्रो लहर सुरु भएको अवस्थामा नेपालमा मानवीय क्षति डरलाग्दो गरी बढ्ने र अर्थतन्त्र नराम्रो गरी संकुचित हुने अवस्था देखिएको छ ।

कोरोनाले सेयर लगानीकर्ता मालामाल

२०७६ चैत ११ गते सरकारले लकडाउन गरेपछि जेठसम्म सेयर कारोबार बन्द भयो । असारदेखि अनलाइनमार्फत सेयर कारोबार हुन थाल्यो । त्यसबेला १२०० देखि १३०० सय अंकको बीचमा रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मंगलबारसम्म बढेर २७०० सय अंक नजिक पुगेको छ । उद्योग व्यवसाय बन्द भएपछि लगानीका लागि अन्य अवसर नभएपछि लगानीकर्ताहरूले धमाधम सेयर बजारमा पैसा खन्याउन थाले ।

लगानीकर्ताले पैसा खन्याउन थालेपछि सेयर बजार बढ्न थाल्यो । लकडाउन अघि दैनिक १ अर्ब रुपैयाँको मुस्किलले कारोबार हुने गरेकोमा बढेर दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुन थालेको छ । कारोबार रकम, परिसूचकले नयाँ रेकर्ड कायम राखेको छ ।

यद्यपि पछिल्लो समयमा सेयर कारोबार दैनिक ६ देखि ७ अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ । असारदेखि सेयर बजार खुलेपछि सेयर लगानीकर्ताहरू मध्ये गुमाउनेभन्दा कमाउने धेरै भएका छन् । असारयता नेप्से परिसूचक झण्डै १५०० अंकले बढेको छ । १०० रुपैयाँभन्दा कम मूल्यका जलविद्युत कम्पनीहरूको सेयर बढेर डेढसय रुपैयाँ माथि पुगेको छ । सेयर बजार बढ्ने क्रम जारी रहेकाले कोरोनाका बीचमा लगानीकर्ताले कमाएका छन् ।

बढ्दो आर्थिक गतिविधि

कोरोना विरुद्धको खोप आएपछि उद्योग व्यवसाय विस्तारै लयममा फर्किन थालेको छ । खोपले औद्योगिक वातावरण बन्दै गएकाले छ । आर्थिक चहलपहल पनि बढेको छ । सर्वसाधारणमा कोरोनाको त्रास केही हदसम्म हटेको देखिन्छ । खोपले सर्वसाधारण र लगानीकर्ताको मनोबल बढाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनले ५८ प्रतिशत उद्योग पूर्णक्षमतामा सञ्चालनमा आएको देखाएको छ । यो मंसिरको तथ्यांक हो । यद्यपि यसपछि विभिन्न औद्योगिक करिडोरहरूमा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन थालेका समाचारहरू आउन थालेका छन् ।

महामारीले नगदमा आधारित अर्थतन्त्रलाई धक्का दिए पनि डिजिटल अर्थतन्त्रमा रूपान्तरणमा भने महत्वपूर्ण भूमिका खेलेको छ । डिजिटल कारोबारमा मारिएको फड्कोले पूर्णरूपमा व्यवसाय बन्द हुने अवस्थाबाट विस्तारै वैकल्पिक उपायहरू खोज्ने क्रम सुरु भएको छ । क्विक रेस्पोन्स ९क्युआर० कोडले भुक्तानी बजारलाई तताइरहेको छ । डिजिटल कारोबारले आफ्ना व्यवसायहरूलाई जस्तोसुकै महामारीमा पनि अघि बढाउन सकिन्छ भन्ने मनोबलको विकास गर्न पुग्यो र अर्थतन्त्रमा नयाँ आयाम थपियो ।

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कोभिडबाट थलिएको अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन ६ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । आयोगले अल्पकालीन राहत तथा पुनरुत्थानका लागि २ खर्ब ३९ अर्ब, मध्यकालीनका लागि २ खर्ब ८५ अर्ब र दीर्घकालीनका लागि १ खर्ब ३३ खर्ब रुपैयाँ स्रोत आवश्यक पर्ने जनाएको थियो ।

महामारीले अर्थतन्त्रका नयाँ आयामहरू खोजी गर्ने अवसर दिएको छ । कृषिजन्य उत्पादनमा केन्द्रित भई औद्योगीकरणको ढोका खोलेको छ । तर, सरकार र निजी क्षेत्रबीच हुने आपसी सौहार्दताले मात्रै औद्योगीकरणको ढोका खोल्नेछ । कोरोना संक्रमण बढी रहेकाले अझै ढुक्क हुने अवस्था छैन । कोरोना संक्रमण बढ्न थालेपछि सर्वसाधारण र उद्योगी व्यवसायीमा लकडाउन हुने त्रास अझै छ । आशा गरौं २०७८ ले कोरोना महामारीलाई परास्त गरी पूर्ववत अवस्थामा ल्याउने छ ।

प्रकाशित मितिः     १ बैशाख २०७८, बुधबार ०६:५१  |
error: Content is protected !!