नेपालगन्ज सहित देशभर ५० स्थानमा चार्जिङ स्टेसन बन्ने पक्का


नेपालगन्ज । बाँकेको नेपालगन्ज सहित देशभरका ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन बन्ने भएको छ । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको बन्ने भएका छन । स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार सम्झौता भएको हो ।

स्टेशनको पूर्वाधार बनाउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा सम्झौता भएको छ । एसियाली विकास बैक ९एडीबी० को सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने जानकारी दिए ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।


चार्जिङ स्टेसन मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा राखिने छ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने छ । १ नं प्रदेशका झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।

२ नं प्रदेशको पर्साको वीरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर,धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २, मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुङलिनरकुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशमा नवलपुर,तनहुँको दमौली,स्याङजामा १र१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।

लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरु रहने छन् । बाँकेको नेपालगञ्जमा १,दाङको भालुवाङ तथा दाङमा १÷१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट÷सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन् ।

कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १÷१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन् ।

 

प्रकाशित मितिः     १ बैशाख २०७८, बुधबार १७:२०  |
error: Content is protected !!