एनआरएनए जापान र बाँके बर्दिया समाजद्धारा भेरी अस्पताललाई ६ लाख ७५ हजार सहयोग


नेपालगन्ज :  गैरआवासीय नेपाली संघ, जापान( एनआरएनए) र बाँके बर्दिया मैत्री समाज जापानले भेरी अस्पताललाई रु १ लाख २८ हजार १ सय ४२ रुपैयाको स्वास्थ्य सामाग्री सहित रु ५ लाख ४६ हजार ८ सय ५८ नगद रकम हस्तान्तरण गरेको छ ।

एनआरएनए र समाजका तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र समाजका सल्लाहकार ओमप्रकाश देवकोटामार्फत उक्त रकम भेरी अस्पतालका मेसु डा. प्रकाश थापालाई आईतवार हस्तान्तरण गरियो । यसअघि नै १ लाख २८ हजार बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई प्रदान गरिसकिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको रोहबरमा हस्तान्तरण गरिएको रकम बिभिन्न संकटबाट गुज्रिरहेको भेरी अस्पतालका लागि उपयोगी हुने डा. थापाले बताएका छन् ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र महासचिव जनकविक्रम शाहीले बाँके र बर्दिया जिल्लामा उत्पन्न कोभिड संकट समाधानका लागि अग्रसरता लिई आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मितिः     २६ बैशाख २०७८, आईतवार १६:२१  |