पत्रकार महासंघ बाँकेद्धारा डा. सुभाष योगी परामर्शदाता नियुक्त, घरमै गएर पत्रकारलाई उपचार गरिने


नेपालगन्ज २७ बैशाख :  नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो ।

सम्झौता अनुसार डा. योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनुहुने छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहरले चारैतिर आक्रान्त पारेको छ । कोरोनाबाट नेपालमै बाँके जिल्ला बढी प्रभावित बनिरहेको छ । यसै परिपेक्षलाई मध्यनजर गर्दै आफ्ना पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।

सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई कोरोना अवधिभर निःशुल्क परामर्शदाता नियुक्त गरेको हो । कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइने छ ।

२ हजार भन्दा बढी कोरोनाका बिरामीको उपचार गरिसक्नु भएका डा.योगीले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नु हुने छ । महासंघ बाँकेले उक्त कार्यका लागि डा.योगीलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कोरोना संक्रमण कसैलाई नहोस् भन्ने कामना गर्दै महासंघले यदि संक्रमण भएमा अस्पतालमा उपचार गराउन महासंघ लागि पर्ने सबैलाई विश्वस्त हुन अनुरोध गरेको छ । कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ ।

तसर्थ उपचारमा सहयोग पु¥याउन महासंघले कुनै कसर बाँकी नराख्ने महासंघको भनाई छ । महासंघले महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपील गरेको छ ।

आइसोलेसन स्थापना गर्ने बारे महासंघले पहिलेनै योजना बनाएको भएपनि भेरी अस्पतालका चिकित्सक, जिल्ला प्रशासन कार्यालय सबैसँग सल्लाह र सुझाव लिँदा अक्सिजन सहितको आइसोलेसनमा चिकित्सकको निगरानी हुनु पर्ने नत्र संभव नहुने भएकाले प्राविधिक कारणले महासंघले आइसोलेसन नबनाएको स्पष्ट पारेको छ ।

साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ ।

प्रकाशित मितिः     २७ बैशाख २०७८, सोमबार १४:३६  |