भेरी अस्पतालको बिश्लेषण – अझै केहि हप्ता वा महिना कोभिड बिरुद्ध नै जुध्नुपर्छ


  • गीता खनाल

नेपालगन्ज ६ जेठ : भेरी अस्पताल नेपालगन्जले अझै केहि हप्ता वा महिना कोभिड बिरुद्ध नै जुध्नुपर्ने बिश्लेषण गरेको छ ।

कोभिड -१९ को निम्ति अस्पताल प्रयोगशालामा गरिएका पिसिआर परिक्षण र भर्ना भएका बिरामीको सम्बन्धमा हालसम्मको प्रारम्भिक बिश्लेषण गर्दै अस्पतालले उक्त कुरा बताएको हो । अस्पतालले जेठको पहिलो साता संक्रमित पत्ता लाग्ने क्रममा भने कमी आएको बताएको छ । हेर्नुहोस् अस्पतालको बिशलेषण-

कोभिड १९ को निम्ति अस्पताल प्रयोगशालामा गरिएका RTPCR परिक्षण र भर्ना भएका बिरामीको सम्बन्धमा हालसम्मको प्रारम्भिक बिश्लेषणका मुख्य अंश
२०७७ बैशाखदेखि चैत महिनासम्म
जम्मा परिक्षण – 55271
जम्मा पोजेटिभ – 5710
पोजेभिटी % – 10.33 %
२०७८ बैशाख महिनाको मात्र
जम्मा परिक्षण – 8171
जम्मा पोजेटिभ – 5993
पोजेभिटी % – 73.34%
२०७७ बैशाखदेखि २०७८ बैशाख महिनाको अन्त्यसम्म
जम्मा परिक्षण – 63442
जम्मा पोजेटिभ – 11703
पोजेभिटी % – 18.44%
२०७७ चैत महिनामा दैनिक पोजेटिभ संख्या ४-५ मात्र पुगेकोमा महिनाको अन्त्यमा अचानक ५८ केस पत्ता लागि दोश्रो लहरको सुरुवात भएको देखिन्छ ।
बैशाखको महिनाको ७ दिनको औसत पोजेटिभिटी ८४ % को अधिकतम अंकसम्म पुगि महिनाको अन्त्यमा क्रमश: केहि घट्दै गएको देखिन्छ ।
बैशाख महिनामा पहिचान भएका ७६.३% बिरामी जिल्लागत रुपमा बाँकेका रहेका थिए । पालिकागत रुपमा समग्र संख्यामा हेर्दा नेपालगंज उपमहानगरपालिकाबाट मात्र ५३.४% रहेका थिए । बाँके जिल्लाको मात्र पहिचान अवस्था हेर्दा नेपालगंज उपमहानगरपालिका ७०% र कोहलपुर नगरपालिकाबाट १०% रहेका छन् ।
उमेर समुहको बिश्लेषणमा बैशाख महिनामा पत्ता लागेकोमा २०-३०, ३०-४० र ४०-५० वर्ग उमेर समुह सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । तुलनात्मक रुपमा घरबाट रोजिरोटीको लागि बढी बाहिर निस्किनुपर्ने उमेर भएकोले यसो भएको हुन सक्छ । ६० वर्ष भन्दा माथिका उमेर समुहमा रोग कम भेटिनु भ्याक्सिनको प्रभाव हुन सक्छ ।
अस्पतालको कोभिड वार्डमा भर्ना भएका बिरामीमा २०७७ भदौ-चैत मसान्तसम्म जम्मा ८७२ बिरामी भर्ना भएकोमा २०७८ बैशाखको महिनामा मात्र ८१० जना भर्ना भएको देखिन्छ । अत: दोश्रो चरणको कोभिड-१९ को लहर पहिलो भन्दा निकै तीब्र गतिमा र बढी जटिलता सहित प्रस्तुत भएको देखिन्छ । नयाँ भेरियन्टको पहिचान अस्पतालको PCR प्रविधिले नछुट्ट्याए पनि भाइरसको संक्रामकता र जटिलता गराउने क्षमता पहिलेको भन्दा उल्लेख्य मात्रामा फरक रहेको देखिन्छ ।
भर्ना हुने बिरामीमा ४०-५० उमेर समुह सबेभन्दा बढी देखिन्छ भने समग्रमा ३०-६० वर्ष उमेर समुहकै बाहुल्यता देखिन्छ । ६० वर्षभन्दा बढीका मानिसहरू तुलनात्मक रुपमा थप जोखिममा हुने भए पनि भ्याक्सिनको कारणले होला संक्रमण पनि कम रहेको र भर्ना भएको संख्या पनि कम देखिन्छ ।
२०७७ भदौ महिना देखि चैत महिनासम्म ८७२ बिरामी भर्ना भएकोमा निको हुने दर ८६.७ % थियो । दोश्रो चरणमा बैशाखको महिनामा ८१० जना बिरामी भर्ना भएको भएतापनि निश्चित परिणाम सहित डिस्चार्ज भैसकेका बिरामी (Patients with definite Outcome) संख्या – ५९० को बिश्लेषण गर्दा निको हुने क्रम ७५.१% रहेको देखिन्छ ।
उपचारको निम्ति भर्ना भएका बिरामीमा पहिलो चरणमा मृत्यूदर ९.२९% रहेकोमा दोश्रो चरणमा उक्त दर २२.९% पुगेको छ । यसबाट दोश्रो चरणमा बढी जटिलता भएका बिरामीहरु भर्ना भएको र परिणाम चुतौतिपूर्ण हुँदै गएको देखिन्छ ।
७ दिनको औसत (7 days moving average) नयाँ भर्ना हुने संख्या बैशाखको तेश्रो हप्ता उच्च बिन्दुमा पुगि त्यसपछि क्रमश: अलिक मत्थर भएको जस्तो देखिन्छ ।
कोभिड-१९ बिरामीको उपचारमा भेन्टिलेटरको माग र बिरामीपक्षको यसमा अपेक्षा ठूलो रहेको पाइएको थियो । तर तथ्यांक हेर्दा पहिलो चरणमा भेन्टिलेटरमा राख्नु परेका ४० जना मध्ये ३५ जना बिरामीको मृत्यू भएको भेटियो भने दोश्रो चरणमा ११ जनालाई भेन्टलेटरमा राखिएकोमा १० जनाको मृत्यू भएको र १ जना बाहिर प्रेषण गरिएको (पछि मृत्यू भएको जानकारी) देखिन्छ।
अत: कोभिड-१९ को उपचारमा भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्था आफैमा दुखद परिणामको सुचकको रुपमा देखा परेको छ । अक्सिजन सेचुरेसन मेन्टेन नगरेका अधिकांश बिरामीहरु CPAP (Continuous Positive Pressure Ventilation/Bain Circuit) मा नै ठिक भएको र भेन्टिलेटरको प्रयोग उति उत्साहवर्धक नदेखिएकोले आगामी दिनमा तथा देशका अन्य स्थानमा पनि सोहि अनुसार तयारी गर्दा उचित हुने देखिन्छ ।
जेठ महिनाको प्रारम्भिक दिन समेत हेर्ने हो भने नयाँ रोग पत्ता लाग्ने क्रम थप केहि मत्थर हुदै गएको देखिन्छ ।
पछिल्ला दिनमा बाँके र नेपालगंज केहि मत्थर हुदै गएको देखिएता पनि वरपरका जिल्लाहरु (मुख्यत: बर्दिया) का बिरामीको पहिचान हुने संख्या भने बढेको देखिन्छ ।
अत कोभिड-१९ को अबको प्रभाव भने पहिले कम पहिचान भएका बाँकेका नेपालगंज भन्दा बाहिरका अन्य पालिका र जिल्लागत रुपमा भन्दा बाँके बाहेकका अन्य जिल्लामा रोग कसरी फैलिन्छ वा फैलिसकेको छ, त्यसमा भर पर्ने देखिन्छ ।
तर पनि समग्र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको समेत प्रेषण केन्द्र भएकोले भेरी अस्पतालले अझै केहि हप्ता, महिना भने कोभिड बिरुद्ध नै जुध्नुपर्ने हुन सक्छ ।
प्रकाशित मितिः     ५ जेष्ठ २०७८, बुधबार १०:२०  |