लकडाउनले नेपालगन्जका कयौं होटल व्यवसायी पलायन


नेपालगन्ज २९ असार :  करमा छुट दिन होटेल व्यवसायीहरुले नेपालगन्ज उप-महानगरपालिकासँग माग गरेका छन् । होटेल व्यवसायी संघ बाँकेले मेयर डा. धवलशमशेर राणालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

कोरोना महामारीपछि सबैभन्दा बढी मारमा होटेल तथा पर्यटन व्यवसायीहरु परेको बताउँदै संघले व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कतिपय व्यवसायीहरु विस्थापित भइसकेका छन् भने कतिपय होटल व्यवसायीहरु ऋणको भार बोकेर अल्झिरहेको अवस्था छ ।’

संघका अध्यक्ष भीमलाल कडेलले बुझाएको ज्ञापनपत्रमा कोरोनाको पहिलो लहरको असरबाट उठ्न नपाउँदै दोस्रो लहरका कारण व्यवसाय छेदच्छिेद भएको उल्लेख छ । सोही कुरालाई ध्यानमा राखेर संघीय सरकारको बजेटमा कोरोनाबाट प्रभावित व्यवसायको इजाजत पत्र तथा नविकरण दस्तुर नलिने व्यवस्था गरिएको संघले स्मरण गराएको छ ।


हालको अवस्थामा होटल व्यवसायीहरुले बैंकको किस्ता र घरभाडासमेत तिर्न नसकी थप व्यवसायीहरु पलायन हुनसक्ने अवस्थातिर ध्यानाकर्षण संघले गराएको छ । सबै पक्षलाई मध्यनजर गरेर नगरपालिकाले होटेल व्यवसायबाट लिने कर छुट गर्न माग गरिएको अध्यक्ष कडेलले जानकारी दिए ।

संघले होटेलमा काम गर्ने कर्मचारीहरुलाई खोपको समेत व्यवस्था मिलाउन अनुरोध गरेको छ भने व्यवसायीलाई सीपमूलक तालीम र कोभिड स्वास्थ्य सम्बन्धि तालीमको लागि पनि बजेटको व्यवस्था गर्न अपिल गरेको छ । ज्ञापनपत्र बुझ्दै मेयर राणाले व्यवसायीका समस्या सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मितिः     २९ असार २०७८, मंगलवार ०५:५२  |
error: Content is protected !!