नेपालगन्ज -पोखरा उडानले पर्यटनक्षेत्रमा देखाएको आशा र सम्भावना


  • विष्णु बिश्वकर्मा (इकागजबाट)

काठमाडौँ : ‘पश्‍चिम नेपाल भनेकै पोखरा र बुटवल हो । अनि पश्चिम नेपालको पर्यटकीय क्षेत्र भनेकै चितवनको सौराहा, लूम्बिनी र पोखरा मात्रै हो’ नेपालका अधिकांश राजनीतिक दल, पर्यटन व्यवसायी र पर्यटकसम्मको धारणा यही थियो । अर्थात पश्चिम नेपाल भनेको पोखरा र बुटवल मात्रै हो ।

पश्चिम नेपालको पर्यटकीय क्षेत्रबारे आम धारणा बन्नुमा दुई वटा कारण थिए, हवाई उडान र व्यवस्थापन । पोखरा, चितवनको सौराहा र बुटवलमा पर्यटकका लागि चाहिने सम्पूर्ण व्यवस्थापन छ । लुम्बिनी पुग्न सोझै काठमाडौँदेखि भैरहवाको फ्लाइटमा पुगिन्छ । पोखरा पनि त्यसैगरी पुगिन्छ । चितवनको सौराहा पुग्न समस्या छैन । गाडी र फ्लाइट दुवै सहज छ ।

यही धारणाका कारण नेपालगञ्ज, कर्णाली र सुदूरपश्चिमको पर्यटन क्षेत्र ओझेलमा परिरह्यो । यही दूरमा रहेको दृष्टि बदल्न गएको वर्ष नाट्टाले बर्दिया राष्ट्रिय निकुञ्जको राजधानी मानिने ठाकुरद्वारामा एउटा विशेष कार्यक्रमको आयोजना गर्‍यो ।

खासगरी कोभिडले थला परेको पर्यटन क्षेत्र उकास्न सातै प्रदेशका पर्यटन व्यवसायी बोलाएर आयोजना गरिएको कार्यक्रमका मुख्य अतिथी नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी थिए । त्यतिबेला उनले इकागजसँग भनेका थिए, ‘पश्चिम नेपाल भनेकै पोखरा र बुटवल हो भन्ने धारणा थियो । तर अब बदलियो ।’

बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीको राराताल, शे-फोक्सुन्डो ताल, सुदूरपश्चिमको खप्तडले पश्चिम नेपाललाई पर्यटकीय दृष्टिकोणबाट हेर्ने नजर बदलेको उनको भनाइ थियो ।

उनले भनेजस्तै यो दृष्टिकोण बदलियो पनि । पोखराको फेवातालभन्दा मुगुको राराताल कैयौँ गुणा धेरै सुन्दर र आकर्षक छ । अनि चितवन राष्ट्रिय निकुञ्जभन्दा बर्दिया राष्ट्रिय निकुञ्जमा जाने पर्यटकले सजिलै बाघ, हात्ती र गैँडा हेर्न सक्छन् ।

बर्दिया पुगेका पर्यटक नजिकै कर्णालीको चिसापानी पुल र डोटीको खप्तडसम्म पुग्न सक्छन् । नेपालगञ्जबाट सिधा उडान भरेर मुगुको ताल्चा विमानस्थल पुगेर रारा हेर्न पनि असम्भव छैन । पर्यटकका लागि यो नयाँ मात्रै होइन, जीवनकै एक अविष्मरणीय गन्तव्य बन्न थालेको दशकौँ पुगेको छ ।

तर भूगोलका हिसाबले पूर्वभन्दा धेरै ठूलो मानिने पश्चिम क्षेत्र नै एक अर्कासँग जोडिन सकेको थिएन । जसकारण पर्यटक मात्रै होइन, दैनिक आवतजावत गर्ने सर्वसाधारण मारमा परिरहेका छन् । नेपालगञ्ज जान सजिलो छ । तर पोखरा फर्किन गाह्रो छ । पोखराकै यात्रुलाई बुटवल र चितवन पुग्न मुग्लिन वा स्याङ्जा बुटवलको पट्यारलाग्दो बाटो तय गर्नुपर्छ । पोखरादेखि नेपालगञ्ज, धनगढी र सुर्खेत पुग्‍न त झनै महाभारत भैहाल्यो ।

सीता एयरको चार्टर्ड उडान

पश्चिम नेपालको पर्यटनको प्रचार प्रसारमा तीव्र गतिमा लागेको नाट्टा बाँकेले गएको फागुनमा एउटा नयाँ जोखिम उठायो । पर्यटकका लागि जहाज चार्टर्ड गर्ने । जुन एकपटक होइन, झण्डै तीन महिनासम्म ।

सीता एयरको १८ सिटे जहाज चार्टर्ड गरेर नाट्टा बाँकेले तीन महिनासम्म हप्तामा तीन पटकसम्म नेपालगञ्ज-पोखरा जहाज उडायो । नाट्टा बाँकेको योजनालाई नाट्टा कास्कीले साथ दियो । नाट्टाको यो पहललाई नेपाल पर्यटन बोर्डलगायतका अरु संघ संस्थाले पनि खुलेर समर्थन गरे ।

तर पहिलो प्रयासलाई नै अन्तिम निष्कर्ष मान्नु हतारो थियो । खासगरी नेपालगञ्ज र पोखराका पर्यटकका लागि यो ठूलो सपना थियो । अनि नेपालगञ्ज आउने भारतीय पर्यटकका लागि त झन् भगवान पुकारेजस्तै ।

किनकी अधिकांश भारतीय पर्यटक नेपाल घुम्‍न आउँछन् । कोही सिधा दिल्लीबाट बस चढेर काठमाडौँ आइपुग्छन् । पशुपति दर्शन गरेर फर्किन्छन् । त्यसको केही हिस्सा काठमाडौँ-दिल्ली सिधा उडान पनि एक माध्यम हो ।

त्यसबाहेक मानसरोवर जाने पर्यटक नेपालगञ्ज आइपुग्छन् । उनीहरु नेपालगञ्जबाट हुम्लाको सिमकोट उडान भरेर मानसरोवर दर्जन गर्न तिब्बत पुग्छन् । विश्वकै सबैभन्दा सस्तो गन्तव्यमा दर्ज भएको पोखरा पुग्‍न भारतीय पर्यटकलाई हम्मे हम्मे थियो ।

यसले पर्यटनबाट हुने ठूलो आयस्रोत गुमाइरहेको थियो । अनि होटल व्यवसायी र पर्यटन व्यवसायीले पनि यो विषयमा चर्को दबाब थियो । तर जोखिम मोल्न आँट कसैले गरेन । एयरलाइन्स कम्पनी त झन् यात्रु नपाइने डरले नेपालगञ्ज-पोखरा जहाज उडाउनै तयार भएनन् ।

तर नाट्टाले जोखिम उठायो । पाँच हजार रुपैयाँ एकतर्फी भाडा लिएर उडान सुरु गर्‍यो । त्यसमा पर्यटक पहिलो रोजाइमा थिए । यात्रु र व्यापारी नयाँ रोजाईमा परे । उनीहरुलाई व्यापारका लागि पोखरा-नेपालगञ्ज धाइरहनुपर्थ्यो ।

पर्यटन व्यवसायीलाई झन् आफ्ना ग्राहकलाई पोखरा-नेपालगञ्जसम्म ओहोर दोहोर गराउनै समस्या थियो । नाट्टा बाँकेको पहलमा त्यो झन्झट मात्रै हटेन, पोखरा र नेपालगञ्जको पर्यटनमा एउटा नयाँ इट्टा थपियो ।

‘हामीले सीता एयरको जहाज चार्टर्ड उडान गर्दा धेरै जोखिम थियो । एक किसीमले मुर्खता थियो । थोरै पनि तलमाथि भयो भने सबै हाम्रो टाउकोमा दोष आउन सक्थ्यो,’ नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले त्यतिबेला जोखिम मोल्दाको अनुभव सुनाउँदै भने, ‘तर त्यही चार्टर्ड उडानले पोखरा र नेपालगञ्ज मात्रै होइन, पश्चिम नेपालमा नयाँ सम्भावना देखायो । यो भन्दा खुशी र उपलब्धिको क्षण अरु के हुन्छ र रु’

झण्डै दुई महिना लगातार चार्टर्ड उडानमा यात्रु र पर्यटकको चाप बढेपछि बुद्ध एयरले नजर लगायो । नाट्टा बाँकेको एउटा आग्रहमै बुद्धले जहाज उडाने ‘ग्रीन सिग्नल’ दियो ।

‘हामीले पहिला सबै एयरलाइन्स कम्पनीलाई गुहारेका थियौँ’ सिग्देलले सुरुवाती कठिनाइबारे भने, ‘तर कसैले मानेनन् । नयाँ रुटमा उडान भर्न आँट कसैमा आएन । यसरी सँधै ओझेलमा पर्नुभन्दा एकचोटी आफैले जोखिम उठाएर पनि सम्भावना छ भनेर देखाऔँ भन्नलाई सीता एयरको जहाज चार्टर्ड उडान गरेका थियौँ । नभन्दै बुद्धले पनि उडान गर्ने घोषणा गर्यो ।’

बुद्ध एयरको उडानले देखाएको आशा र सम्भावना

सीता एयरको महिनौँ लामो चार्टर्ड उडान, पर्यटक र यात्रुको चापलाई हेरेर बुद्ध एयरले गएको वर्ष बैशाखमै पोखरा-नेपालगञ्ज उडान गर्ने घोषणा गरेको थियो । तर कोभिडका कारण त्यो घोषणा घोषणामै सीमित भयो ।

यस वर्ष निषेधाज्ञा खुल्नेवित्तिकै पोखरा-नेपालगञ्ज सिधा उडान गर्ने घोषणा बुद्धले दोहोर्‍याएको छ । जसको मिति साउन १७ लाई तोकिएको छ । अंग्रेजी तारिख अगस्ट १ मा छ । पर्यटकको रोजाइ र यात्रुको चापलाई हेरेर नेपालगञ्ज(पोखरा उडान थाल्ने घोषणा गरिएको बुद्ध एयरका सेल्स मार्केटिङ म्यानेजर रुपेश जोशीले बताए ।

‘गएकै वर्ष हामीले उडान थाल्ने योजना बनाएका थियौँ । तर कोभिडले गर्दा रोकियो’ उनले इकागजसँग भने, ‘तर यसपटक हामीले निषेधाज्ञा खुल्नेवित्तिकै उडान थाल्ने योजना बनाएका छौँ ।’

उनका अनुसार पर्यटकको चाप, भारतीय पर्यटकलाई लक्षित गरेर उडान थाल्ने योजना बनाएको उनको भनाइ छ । यसले पश्चिम नेपालको पर्यटनमा ठूलो टेवा पुग्‍ने उनको भनाइ छ । बुद्धले यससँगै पोखरा(वीरगञ्ज, विराटनगर(नेपालगञ्ज लगायत नयाँ रुटमा पनि सिधा उडान गर्ने तयारी गरेको छ ।

पोखरा-नेपालगञ्ज उडानले भारतबाट आउने पर्यटक र पश्चिम नेपालको पर्यटन क्षेत्रलाई विशेष टेवा पुग्ने नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताए । ‘हामीले वर्षौदेखि थालेको प्रयासले बल्ल पूर्णता पाएको छ । यसबाट थोरै भएपनि पश्चिम नेपालको पर्यटनलाई विशेष टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रकाशित मितिः     १६ श्रावण २०७८, शनिबार ०७:१४  |