कोरोनाबाट ज्यान गुमाउने ब्यक्तिको परिवारलाई राप्तीसोनारी गाउँपालिकाले एक लाख सहयोग दिने


नेपालगन्ज ७ भदौ : कोरोना संक्रमणबाट ज्यान गुमाउने ब्यक्तिको परिवारले एक लाख पाउने भएकाछन् । बाँके राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सोमबार बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय भएकोछ ।

कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँदा केही राहत हुने भएकाले पालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुका अनुसार कोरोना संक्रमणबाट हालसम्म राप्तीसोनारीमा १५ जनाको मृत्यु भएको छ । भने बाँकेका ३ सय २७ जनाको मृत्यु भएको छ ।

यस्तै बैठकले गाउँपालिकाभित्र ऐलानी जग्गाको अभिलेखीकरण गर्न, जोताहलाई परिचयपत्र वितरण गर्ने कामका लागि वडा नम्बर(३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको छ ।

पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ । भने गतवर्ष आईई भएकामध्ये झिझिरी र परुवाबाहेक अरु खोला नालाबाट नदीजन्य पदार्थ बिक्रीका लागि टेण्डर आह्वान गर्ने, स्वास्थ्यमा पहुँच बृद्धि गर्न छोरीलाई साईकल वितरण गर्ने र प्रत्येक वडामा सहकारी दर्ता गरि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए ।

यस्तै पालिकामा रहेका खरको छाना भएका घरको विवरण लिने र त्यसको विवरण जिल्ला समन्वय समिति पठाउने निर्णय भएको छ । अध्यक्ष थारुले नेतृत्वमा आएदेखि पालिकाले जनताको हितमा काम गरिरहेको बताउँदै पालिका बैठकबाट भएका सबै निर्णय जसरी पनि कार्यान्वयन गरिने बताए ।
प्रकाशित मितिः     ७ भाद्र २०७८, सोमबार २१:३७  |