काठमाडौं। आज भन्दा २/३ वर्ष अघिसम्म उपत्यकाबाहिर चितवन र पोखरा मालपोतबाट मात्रै मासिक १० करोड रुपैयाँ बढी राजस्व संकलन हुन्थ्यो।
पछिल्लो समय पूर्वका झापा, मोरङ र सुनसरी घरजग्गा कारोबारका लागि हटस्पट बनेसँगै विराटनगर र इटहरी पनि १० करोड राजस्व उठाउने कार्यालयमा गनिए।
त्यसपछि जनकपुर, बुटवल, दाङ, नेपालगञ्ज र धनगढी सर्वाधिक कारोबार हुनेको टप टेन कार्यालय भित्र मुस्किलले पर्थे। तर अहिले भने समय फेरिएको छ। सुनसरीको इटहरी सर्वाधिक कारोबार हुनेमा एक नम्बरमै छ भने पश्चिम नेपालका नेपालगंज र धनगढी कुनै तथ्यांकमा दोस्रो र कुनैमा तेस्रो स्थानमा अटाएका छन्।
कारोबार संख्याका हिसाबले सबैभन्दा धेरै कारोबार गर्नेमा इटहरी चार हजार तीन सय ६० कारोबार संख्यासहित पहिलो नम्बरमा छ। त्यसपछि जनकपुरको २८ सय र नेपालगंजको २६ सय कारोबार संख्या छ। बेलबारी मोरङ, चितवन र धनगढीको समान १९र१९ सय कारोबार संख्या छ। विराटनगर र झापामा भने १५ सय हाराहारी मात्रै घरजग्गा कारोबार भएका छन्।
राजस्वका हिसाबले पनि काठमाडौं उपत्यकाका कार्यलाई छोड्ने हो भने चितवन, वीरगंज र इटहरीपछि नेपालगंज, विराटनगर र मकवानपुरको समान ९र९ करोड र धनगढीको साढे आठ करोड रुपैयाँ राजस्व रहेको छ। त्यस्तै जनकपुरको ७ करोड, भैरहवा रुपन्देहीको ६ करोड र झापाको साढे चार करोड रुपैयाँ राजस्व रहेको छ।
कित्ताकाटको तथ्यांकमा त ८ हजार १७४ कित्ताकाटसहित इटहरी पहिलो नम्बरमा रहँदा ५ हजार ७९५ कित्ताकाटसहित धनगढी दोस्रो, पाँच हजार ३६४ कित्ताकाटसहित जनकपुर तेस्रो र पाँच हजार २५९ कित्ताकाटसहित नेपालगंज चौथो नम्बरमा छन्।
यी तथ्यांक अनुसार कुनै समय टप टेनभित्र अटाउन नसक्ने पश्चिम नेपालका नेपालगंज र धनगढी जस्ता बजार अहिले भने कारोबारका हिसाबले हटस्पट बनेको देखिन्छ।
नेपालगंज र धनगढी देशभरको कारोबारको तथ्यांकमा दोस्रो र तेस्रो नम्बरमा आउनुले सुदूरपूर्वबाट घरजग्गाको कारोबार सुदूरपश्चिमतिर फैलिएको पुष्टि भएको छ।
किन बढ्दैछ नेपालगंज र धनगढीको कारोबार ?
कुनै समय नेपालगञ्ज पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र थियो। राप्तिपारिको व्यापारदेखि स्वास्थ्य र शिक्षाको केन्द्रबिन्दु रहेको नेपालगंज पछिल्लो २/३ दशकदेखि भने आफ्नो साख गुमाउदै गएको थियो।
खासमा पूर्व-पश्चिम राजमार्गलाई जोड्ने कर्णाली नदिमा पूल बनेपछि नेपालगञ्जको व्यापार विस्तारै धनगढी सरेको थियो। कोहलपुर-सुर्खेत सडक सञ्जालमा जोडिएपछि कर्णालीका धेरै जिल्लाको व्यापार पनि सुर्खेतमा केन्द्रित भयो।
देश संघीयतामा गएपछि त कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्ताव गरियो भने नेपालगञ्जलाई लुम्बिनी प्रदेशमा राख्दा केन्द्र बुटवल हुँदै दाङ पुर्याइयो। चल्तीको बजार नेपालगंज भने ओझेलमा परे जत्तिकै भयो।
प्रदेश राजधानी सुर्खेतमा जग्गाको कारोबार फस्टायो। मानिसहरु सुर्खेततिरै बसाइ सर्न थाले। तर सीमित क्षेत्रफल भएको सुर्खेत प्रदेश राजधानी भएपछि अत्यधिक महँगो हुँदै गयो। खेतीपाती गर्नका लागि जग्गा जमिन बाँकी रहेन। तर नेपालगंज भने बजारबाट २/४ किलोमिटर मात्रै दायाँबायाँ जाँदा अहिले पनि १०/१५ लाखमै घरघडेरी जोड्न सक्ने भएपछि बसाइसराइको चाप बढेको मालपोत कार्यालय नेपालगंजका प्रमुख हरिकृष्ण सुवेदीले बताए।
नेपालगंजमा कारोबार बढ्नुको कारण पहाडी भेगमा बजार क्षेत्रमा थोरै मात्र जग्गा हुनु र उक्त जग्गा आम मानिसले किन्न सक्ने अवस्था नहुनु नै रहेको सुवेदीको भनाइ छ।
नेपालगंजमा राप्तिदेखि कर्णाली नदिको बीचमा पर्ने सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, सल्यान, रुकुम र रोल्पाबाट बसाइसराइ हुने गरेको उनले बताए।
धनगढी भने पहिला सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र अहिले सुदूरपश्चिम प्रदेशको आर्थिक तथा प्रशासनिक राजधानी हो। अस्थायी हुँदै स्थायी राजधानी पनि धनगढीमै रहेकोले यहाँ पहिलेदेखिदै कारोबार विस्तारै बढिरहेको थियो।
तर पूर्वी नेपालमा धेरै ठूलो संख्यामा जग्गा कारोबार हुँदा धनगढी नेपालगंज लगायतका बजार तथ्यांकमा पछि परेका थिए। तर अहिले भने पूर्वका केही ठाउँमा कारोबार घटेको तथा धनगढी र नेपालगंजमा कारोबार बढेपछि यी शहर तथ्यांकमा पनि धेरै अघि आएका हुन्।
कैलाली एउटै जिल्लामा ५ वटा ठूला ठूला व्यापारिक केन्द्रका कारण पनि धनगढीमा आर्थिक गतिविधि दिनदिनै बढिरहेका छन्। यहाँ धनगढी, अत्तरिया, सुखड, लम्की र टिकापुर प्रमुख व्यापारिक केन्द्रका रूपमा उदाएका छन्।
धनगढीमा सुदूरपश्चिमका ९ वटै जिल्ला र कर्णाली प्रदेशबाट समेत बसाइसराइ हुने गरेको मालपोत कार्यालयले जनाएको छ। धनगढीमा बस्ती विकास गर्नका लागि पर्याप्त खाली ठाउँ भएको र व्यक्तिको क्षमता अनुसार ८र१० लाखदेखि ८र१० करोड रुपैयाँसम्मका घरजग्गा किनबेच हुने गरेका छन्।
सुदूरपश्चिममा दुईवटा मात्रै तराईका जिल्ला छन्। कञ्चनपुरमा महेन्द्रनगर एउटा मात्रै बजार क्षेत्र छ भने कैलालीमा त्यस्ता धेरै बजार क्षेत्र छन्। त्यसकारण पनि कैलालीमा घरजग्गा कारोबार फस्टाएको मालपोत कार्यालय महेन्द्रनगरका मालपोत अधिकृत तेजबहादुर चन्दले बताए।
अमर बढुवाल(बिजमाण्डु डटकमबाट)