बरामद सुनका विषयमा बाँके प्रहरीको पत्रकार सम्मेलन, एसपी भन्छन्-गहन अनुसन्धान हुन्छ


नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा बाँके प्रहरीले निष्पक्ष छानविन गरिरहेको एसपी श्याम प्रसाद अधिकारीले बताए । साँझ जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले उक्त घटनाका विषयमा गहन अनुसन्धान भइरहेको जनाए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट ४ किलो सुन बरामद भएकोछ ।


काठमाण्डौंबाट नेपालगन्ज आएका मोरङ जिल्लाका बुद्धिमान खाती र झापा जिल्लाका आमिर लगुमा विश्वकर्माका साथबाट ४ किलो सुन बरामद भएको थियो ।

पक्राउ परेका खाती र विश्वकर्माले आफूहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । काठमाण्डौंबाट नेपालगन्ज ठूलो परिमाणमा सुन लगिदै गरेको खबर पाएको प्रहरीले चेकजाँच गर्दा सुन बरामद भएको हो ।

बाँके प्रहरीका अनुसार बरामद भएको सुनमा ६ वटा सुनको बिस्कुट र एउटा तिलहरी रहेकोछ । प्रहरी नियन्त्रणमा रहेका खाती र विश्वकर्माले उक्त सुन आफ्नो रहेको र सुन खरिदको बील समेत देखाएपछि घटनाको वास्तविकतामाथि अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः     १८ भाद्र २०७८, शुक्रबार २०:२९  |
error: Content is protected !!