नेपालगन्ज : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको एक हप्ता भएको छ । प्रहरीबाट राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पुगेको उक्त मुद्दा अनुसन्धानकै क्रममा रहेको छ ।
सुन बेच्ने भनिएका काठमाण्डौं र किन्ने भनिएका नेपालगन्जका व्यवसायीलाई निगरानीमा राखेर राजश्व अनुसन्धानले अनुसन्धान गरिरहेको छ । उक्त मुद्दा कहिले निष्कर्षमा पुग्छ भन्ने एकिन छैन ।
नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट ४ किलो सुन बरामद भएकोछ ।
काठमाण्डौंबाट नेपालगन्ज आएका मोरङ जिल्लाका बुद्धिमान खाती र झापा जिल्लाका आमिर लगुमा विश्वकर्माका साथबाट ४ किलो सुन बरामद भएको थियो ।
पक्राउ परेका खाती र विश्वकर्माले आफूहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । काठमाण्डौंबाट नेपालगन्ज ठूलो परिमाणमा सुन लगिदै गरेको खबर पाएको प्रहरीले चेकजाँच गर्दा सुन बरामद भएको हो । ठूलो परिणाममा सुन बरामद भएपछि नेपालगन्जमा पहेंलो सुनको कालो धन्दा पर्दाफास भएको हो ।