नेपालगन्ज -नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको बताएका छन् ।
उनले भने–हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।
शनिवार नेपालगञ्जमा आयोजना गरिएको नेकपा एस पार्टी निकट युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताए ।
नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उहाँले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने विश्वास दिलाए ।
संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने बताए ।
उनले अहिले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थि गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने बताए ।
उनले केपी ओलीले विदेशीसंग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाए ।
नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताए ।
सो कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेशकुमार साही, पूर्वमन्त्री दलबहादुर सुनार, युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा लगायत केन्द्रिय सदस्यहरुले पनि एकिकृत समाजवादी पार्टी देशकै ठूलो पार्टी बन्ने बताए ।
पार्टी गठन गरेपछि पहिलो पटक नेपालगञ्जको भ्रमणमा आएका नेता नेपालले बाँकेमा पार्टीको जिल्ला कार्यालयको उदघाटनसंगै कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न वर्गिय संगठनका अगुवाहरु तथा पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरे ।