क्यूआर कोड सहितको लाइसेन्स जसलाई नेपालगन्जका युवाले बनाए


नेपालगन्ज । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेको छ ।

राजधानी बाहेक सुदूरपश्चिम सरकारले समेत परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमशः मुलुकका सबै यातायात कार्यालयहरुमार्फत वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएकालाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरणगर्न लागिएको हो । यो कार्डको सफ्टवेयर नेपालगन्जका युवाहरुले निर्माण गरेका हुन । नेपालगन्जका विवेक खड््का र उमेश शर्माको इगल आई समूहले उक्त सफ्टवेयर बनाएको हो । हाल काठमाण्डौं मुख्य कार्यालय मार्फत उनीहरुले काम गरिरहेका छन् । प्रविधिमा जमेका यि युवाहरु सरकारले बिश्वास गरेकोमा खुसी छन् ।

ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर’ कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण सुरु गरिएको हो ।। यस्तो कार्डको समयावधि एक वर्षको हुनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालकको लाइसेन्स जाँच गर्ने विभागले जनाएको छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन् ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याइएको छ ।

योसँगै विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरू गरेको छ; ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र ।

 

प्रकाशित मितिः     ११ आश्विन २०७८, सोमबार १२:२२  |