उद्योग मन्त्री बने गजेन्द्र हमाल,गैरसांसद भएपनि पुरानो छ राजनीतिक बिरासत


नेपालगन्ज – नेपाली कांग्रेसमा लामो समय राजनीति गरेपनि उचित ठाउँ नपाएका नेपालगन्जका पुराना नेता गजेन्द्र हमाल शुक्रबार मन्त्री बन्न सफल भए ।

हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल

भएका हुन । पार्टीको राजनीतिमा सबै अवसर गुमेपछि सामाजिक तथा धार्मिक काममा लागिरहेका हमाललाई कांग्रेसको वर्तमान नेतृत्वले मुल्यांकन स्वरुप मन्त्री बनाएको हो । बाँकेका पुराना कांग्रेस नेता मध्येका एक हुन, हमाल । नेपाली कांग्रेस बाँकेका सभापति समेत भइसकेका हमाललाई धेरैले सादगी र सन्त नेताका रुपमा चिन्छन् ।

पार्टीको कुनै सक्रिय पदमा नरहेपनि उनको योगदान नेपाली कांग्रेसका लागि अविष्मरणीय रहेको यहाँ नेता, कार्यकर्ता बताउँछन् । कांग्रेसको संगठन विस्तारमा गजेन्द्र लगायत हमाल परिवारको योगदान धेरै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिस्तार गरेको मन्त्रि परिषदमा उनी नियुक्त भएका हुन् । यसका लागि हमाललाई प्रधानमन्त्री चोलेन्द्रशम्शेर राणाको पनि सिफारिस रहेको राजनीतिक वृत्तमा चर्चा छ । तर, हमालले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

 

उनी र प्रधानन्यायाधीश राणाबीचको साहिनो ज्वाई-जेठान हो । आफु मन्त्री बन्नमा पार्टी बाहिरभन्दा भित्रैबाट सहयोग भएको हमालको दाबी छ । ‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्यो र ?’ शुक्रबार उनले भने ‘म राजनीति परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ, त्यो त पार्टी पनि मुल्यांकन गरेको होला नि ।’

कांग्रेसको संगठन विस्तारमा उनका दाई स्वर्गिय रनेन्द्रबहादुर हमाल ‘भाइराजा’को योगदान नेपाली कांग्रेस वृत्तमा अविष्मरणीय छ । उनले राजनीतिमा अनेक संम्भावना हुने र मन्त्री बन्ने कुरा कुनै असम्भव नभएको तर्क पनि गरे । हमाल २०१० फागुन ८ मा जन्मेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघ बाँकेको जिल्ला अध्यक्ष भएका थिए ।

२०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालिन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो । वि.सं. २०३९ र २०४४ सालमा वडा अध्यक्ष बनिसकेका हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा बाँके कांग्रेसको सभापति बनेका थिए । नेपाली कांग्र्रेसका नेता सुशिल कोइरालासँगको टकरावका कारण उनी देउवातिर लागेका थिए । कोइराला बाँचुञ्जेल उनको टकराव रहिरह्यो ।

पार्टीले उनलाई पहिलो संविधान सभा निर्वाचन २०६४ मा टिकट दियो । बाँके क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी नेकपा माओबादीका नेता तिलक परियारसँग पराजित भएका थिए । त्यसयता उनी पार्टीको गतिविधीमा कमै मात्रामा देखिन्थ्ये । मुलुकमा हिन्दुराज्य स्थापना गर्नुपर्छ भन्दै उनले अभियान नै थालेका थिए ।

केही वर्षअघि उनले नेपालमा हिन्दुराज्य स्थापनाका लागि दवाव स्वरुप भारतबाट ठुलो संख्यामा सन्त, महन्तलाई नेपालगन्जमा जमघट गराएका थिए । ‘पार्टीले अहिले मलाई मुल्यांकन गरेर ठुलो जिम्मेवारी दिएको छ, म यो जिम्मेवारीलाई कुशलता पुर्वक पुरा गर्नेछु,’ उनले भने ।

प्रकाशित मितिः     २२ आश्विन २०७८, शुक्रबार १६:३४  |