नवनियुक्त मन्त्री हमालले म्याद गुज्रेका उद्योगलाई नविकरण गर्न समय दिने निर्णय गराएका छन् । उनका स्वकिय सचिव बिरिजेन्द्र हमालका अनुसार म्याद गुजे्रका उद्योगको नविकरणसँगै विदेशी लगानी भित्र्याउन र विभिन्न उत्पादनका म्याद गुज्रेका टे«डमार्कलाई नविकरण गर्न यही असोज मसान्तसम्मको समय दिइएको छ ।
नविकरणका विषयमा अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्न उद्योग सम्बन्धी निर्णय भएको स्वकिय सचिव बिरिजेन्द्रले जानकारी दिए । ‘कोभिडको कारण देखाएर सर्बोच्च अदालतले पनि यसअघि गरेको आदेशलाई कार्यान्वयन गर्न समय दिइएको हो, उनले भने ।
घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका कर्मचारी उजिर न्यौपानेका अनुसार नविकरण हुने अवधि काटेको दुई वर्षपछि सम्पर्कमा आउने उद्योगको नविकरण नहुने नियम छ । ‘कुनै उद्योगले दुई वर्षसम्म नविकरण नगरेर सम्पर्कमा आएपछि त्यो उद्योग स्वतः खारेज हुने अहिलेसम्मको ब्यवस्था हो, त्यस्तो निर्णय भएको रहेछ भने अब नियमावली संशोधन भएर आउँला ।’ यो समस्या देशभरकै रहेको उनी बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा मात्रै दैनिक ४÷५ जना त्यस्ता उद्योगी नविकरणका लागि धाउने गर्छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरिञ्जवी ओली उद्योग मन्त्रालयको यो निर्णयले उद्योगी, ब्यवसायीलाई ठुलो राहत मिलेको बताउँछन् । ‘नविकरण नहुने समस्याले उद्योगी ब्यवसायी धेरै मर्कामा थिए, एकातिर उद्योग नविकरण नहुने, अर्कोतिर बैंकले ऋण चुक्ता गर्ने ताकेता गर्दा धेरै उद्योग ब्यवसायीले तनाव खेप्नु परेको थियो, अब यो समस्याबाट उद्योगी ब्यवसायीले मुक्ति पाउने भए ।’ उद्योगी, ब्यवसायी जसले जानी- नजानी नविकरण छुटाएका थिए, उनीहरुलाई एक किसिमको राहत मिलेको उनको तर्क छ ।
नवनियुक्त मन्त्री हमाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हुन् । उनलाई शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका थिए । हमाल नेपाली कांग्रेस बाँकेका पुर्वसभापति हुन् । उनी बाँकेका बासिन्दा भएकाले यहाँका उद्योगी, ब्यवसायीले हमालबाट ठुलो आशा र अपेक्षा गरेका छन् ।