नेपालगन्जमा बद्लिएको किनमेल ‘कल्चर’


नेपालगन्ज । नेपालीको किनमेल ‘कल्चर’मा बिस्तारै परिवर्तन आएको छ  । भाटभटेनी लगायतका सुपरमार्केट खुलेसंगै त्यहाँ पुग्नेहरुको कमी छैन ।

भाटभटेनी बाहेक नेपालगन्जमा स्थानीयस्तरमा राही मार्ट, साथी मार्टको शाखा बिस्तार भइसकेको छ । वेष्र्टन समूहले वेष्र्टन मल सन्चालनमा ल्याएको छ भने लक्ष्मी हलमा समेत सुपरमार्केट सन्चालनको तयारी छ । नेपालगन्ज उपमहानगरपालिकाले समेत नगर भवनमा सुपरमार्केट सन्चालन गर्ने योजना बनाएको छ ।

बढ्दो शहरीकरणसंगै एउटै छानामुनी उपभोक्तालाई सबै वस्तु तथा सेवा उपलब्ध हुने भएकाले ग्राहको रोजाइमा डिपार्टमेन्ट स्टोर पर्न थालेका हुन । कारोबार बढदै गएको डिपार्टमेन्टका सञ्चालकहरु बताउछन ।

विदेशमा जाने युवापुस्ताका कारण किनमेलमा परिवतर्न आएको वेष्र्टन मलका शैलेश लोहनी बताउँछन् । ‘विदेशमा सिक्ने र नेपालमा आएका बेला लागू गर्ने प्रवृत्ति बढ्दै गएको छ’ उनले भने, ‘त्यही देखेर स्वदेशमै बस्ने नेपालीको पनि किनमेल संस्कृति फेरिएको हो ।’

युरोप, अमेरिका, अष्ट्रेलिया, खाडी र मलेशियालगायत मुलुकमा काम गरेर फर्केका युवाहरुको रोजाइ अहिले डिपार्टमेन्ट स्टोरहरु परेका छन । डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटमा सम्पूर्ण सामग्री एकै ठाउँमा पाइने भएकाले पनि उनीहरुको रोजाई पर्न गएको हो । एक समयमा सहरी क्षेत्रमा धनी तथा कुलीन परिवारले मात्र सुपर मार्केटमा जाने गरेकामा पछिल्लो समयमा मध्यमवर्गको आकर्षण त्यतातिर हुन थालेको हो ।

प्रकाशित मितिः     ३० कार्तिक २०७८, मंगलवार १३:१९  |