गुर्भाकाेट चिनाउने शुभाघाट मेला


सुर्खेत। धान्य पूर्णिमाका अवसरमा गुर्भाकोटको मेहेलकुनामा लाग्ने शुभाघाट मेला हेर्न आउनेको घुईचो लागेको छ । कर्णाली प्रदेशको ठुलो मेला मध्येमा पर्ने शुभाघाट मेलाको गुर्भाकोटका नगरप्रमुख हस्त पुनले आइतबार साँझ दीप प्रज्ज्वलन गरि उद्घाटन गरे।

शुभाघाट मेला विसं २०२३ सालदेखि हालको गुर्भाकोट नगरपालिकाको वडा नं.१२ दहचौर र  वडा नं. ८ को मेहेलकुनामा पर्ने भेरी किनारामा लाग्दै आएको छ। पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण रोकिएको मेला यसपालि लागेको हो।

मंसिर पूर्णिमाका अवसरमा लाग्ने ऐतिहासिक शुभाघाट मेलाको गुर्भाकोट १२ र गुर्भाकोट ८ मा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नगरप्रमुख पुनले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा मेला आयोजक मूल समितिका अध्यक्ष एवं गुर्भाकोट ८ का वडाध्यक्ष चित्र बहादुर रेग्मी, गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विक,जनप्रतिनिधिहरू, मेला आयोजक सचिवालय समितिका अध्यक्ष चितेन्द्र वि।क। लगायत आयोजक समितिका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति थियो।

गुर्भाकोट नगरपालिकाको सहयोग, मेहेलकुना बजार व्यवस्थापन समितिको समन्वय र ८ नं. वडा कार्यालय, गुर्भाकोटको आयोजनामा मेला लाग्न लागेको हो।

मेलामा विभिन्न सांस्कृतिक झाँकी तथा कृषि उत्पादन प्रदर्शनी समेत गरिने मेला आयोजक मूल समिति तथा ८ नं वडा कार्यालयले जनाएको छ।

प्रकाशित मितिः     ५ पुष २०७८, सोमबार १६:००  |