समृद्ध बाँकेका आधारहरु


डा.राजेशकेशर खनाल (उप–प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज)
कोशराज रेग्मी (उप–प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज)
शंकरप्रसाद खनाल, उप–सम्पादक, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक

परिचय-लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरुमध्ये बाँके प्रमुख व्यापारिक जिल्ला हो । जिल्लामा दुई नगर (नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका) र ६ गाउँपालिका (खजुरा, बैजनाथ, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुर) छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार बाँकेमा ४,९१,३१३ जनसंख्या रहेकोमा पुरूष २,४४,२५५ जना (४९.७१ प्रतिशत) र महिला २,४७,०५८ जना (५०.२९ प्रतिशत) छन् । यसअनुसार लंैिगक अनुपात अर्थात प्रति १०० महिलामा पुरूषको सङ्ख्या ९८.८७ रहको छ । २०५८ देखि २०६८ सालसम्मको वार्षिक सालाखाला जनसङ्ख्या वृद्विदर २.४२ प्रतिशत देखाएको छ । जिल्लामा हाल प्रति परिवार औषत ५.१८ जना सदस्य सङ्ख्या रहेको छ । यहाँ हिन्दु, इस्लाम, क्रिश्चियन, बौद्ध, किराँत, प्रकृति, जैन, शिख र बहाई ९ वटा धर्म मानिन्छ ।

जिल्लाको कूल क्षेत्रफलमध्ये करिव ५० प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ । यस जिल्लाको भू–भागमध्ये केही अंश चुरे क्षेत्रले ओगटेको छ भने अधिकांश भू–भाग तराइ छ । चुरे क्षेत्र समुद्र सतहदेखि ६१० देखि १२३६ मिटरसम्म अग्लो छ भने जिल्लाको बाँकी भू–भाग समुद्र सतहबाट १२७ देखि ६१० मिटरसम्मको उचाइमा छ ।

बाँकेको ऐतिहासिक पक्ष हेर्ने हो भने, सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत सुगौली सन्धीबाट गुमेको भू–भागमध्ये पुरस्कार स्वरुप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएका कारण यी जिल्लालाई नयाँ मुलुकका रुपमा चिनिन्छ । प्रधानमन्त्री जंगबहादुरले सन् १८६० भारतको लखनउको हजरतगञ्ज नामबाट प्रभावित भएर नेपालगन्ज सहर योजनाबद्ध रुपमा बसाएका थिए । नेपालगन्ज नेपालको छैठो सहर भएको इतिहासकारहरु दाबी गर्छन् । लामो समय साबिकको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)को प्रमुख व्यापारिक केन्द्र रहेको नेपालगन्ज तराईको भने पहिलो सहर नै हो ।

बाँके वर्षौ अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यवसायिक ट्रान्जिट क्षेत्र बनेकोे थियो । पञ्चायतकालमा औद्योगिक क्षेत्र स्थापना भएर औद्योगिक उत्पादनले गति लिएपछि चामल, कथ्था मिल, सलाइ फेक्ट्री जस्ता उद्योगहरु सञ्चालनमा आए । जसबाट साबिक भेरी, कर्णाली, राप्ती, सेती र महाकाली अञ्चलका जिल्लाको आवश्यकता पूर्ति हुन्थ्यो । यहाँका उत्पादनहरु स्वदेशमा मात्र होइन भारत र तेस्रो मुलुकसम्म पैठारी हुन्थ्यो । विकास क्षेत्र विभाजन गर्दा साबिकको मध्यपश्चिमाञ्चलको क्षेत्रीय कार्यालय सुर्खेत भए पनि नेपालगन्ज प्रशासनीक केन्द्र नै
थियो । संघीयता अघि क्षेत्रीय र अञ्चल कार्यालय नेपालगन्जमा थिए । संघीयताले केही कार्यालय सुर्खेत त केही बुटवल सारिए । उद्योग, कलकारखाना घटेनन् । ठूल्ठूला उद्योग थपिँदै गए । संघीयताले बाँके प्रशासनीक विभाजनमा ओझेलमा प¥यो । आर्थिक, बाणिज्य, पर्यटकीय, शैक्षिक र स्वास्थ्य हबका कारण जिल्लाको आर्थिक गतिविधि निरन्तर गतिशील हुनुले यसको गरिमा उच्च नै छ ।

२. समृद्धिका आधारहरु
पश्चिमको व्यवसायिक केन्द्र बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमध्ये अहिले पनि आर्थिक, बाणिज्य, कृषि, पर्यटकीय क्षेत्र, शैक्षिक र स्वास्थ्य केन्द्रका कारण अग्रणी नै छ । संघीयतापछि प्रदेश राजधानी वा प्रशासनीक केन्द्र जहाँसुकै स्थापना गरिएको भए पनि विगतको औद्योगिक र व्यापारिक गतिविधिका कारण यसले आफ्नो विशाल विरासत कायमै राखेको छ । यहाँ भौतिक पूर्वाधारको आधार बनिसकेको छ । जसलाई समय सापेक्ष स्तरोन्नतीको खाँचो मात्र छ । कतिपय क्षेत्र ओझेलमा परेको वा प्राथमिकतामा नपरेको देखिन्छ । सो क्षेत्रलाई तदारुकताका साथ योजनाबाद्ध ढंगले अगाडि बढाएमा बाँकेलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रका रुपमा विकास गर्न सकिन्छ । समृद्ध बाँकेका आधारलाई निम्नानुसार चर्चा गर्न सकिन्छ :-

२.१. उद्योग
बाँके औद्योगिक क्षेत्र हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् ।

पहाडका जडिबुटी संकलन गरेर बाँकेमा प्रशोधन गरेर स्वदेश तथा विदेशमा बिक्री गर्न सकिन्छ । अहिले अधिकांश जडिबुटी लगायतका कच्चा पदार्थ संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी भइरहेको छ । यसका लागि साबिक कर्णाली, राप्ती, भेरी, सेती र महाकाली अञ्चलबाट कच्चा पदार्थ संकलन गरी बाँकेका स्थापना गरिएका वा गरिने उद्योगका उत्पादनको बजारीकरण गर्न रेलमार्ग, राजमार्ग, हवाइ मार्गको व्यापक विकासमा जोड दिनुपर्छ । यो कार्यका लागि राज्यले ढुवानी वा कर छुट वा अनुदानको व्यवस्था गर्नुपर्छ । यस प्रक्रियाका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलगायत सम्बन्धित संस्थाहरुले दवाब दिने र पैरवी गरिरहेको छ ।

यसलाई अझ सशक्त रुपमा गर्नुपर्छ । राज्यले अनुदान, राहात वा छुट दिँदा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्छ । औद्योगिक क्षेत्रमा विद्युतको अविच्छिन्न व्यवस्था गर्न फरक वितरण प्रणाली लागू गर्नुपर्छ । औद्योगिक क्षेत्रभित्र स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर, निश्चित अवधिसम्म भूमिको भाडा, पानी, विद्युत आदिको छुट गर्नुपर्छ । भारतको रुपैडियादेखि चीनको हिल्सा नाका कर्णाली कोरिडोर हुँदै विकास गर्न सकेमा त्रिदेशीय व्यापारिक सम्बन्ध कायम हुन्छ । यसले समग्र बाँके जिल्ला समृद्ध बन्ने आधार बन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघले माग गरे झैं नेपालगन्जलाई औद्योगिक राजधानीका रुपमा विकास गरेर संघीयताबाट परेको मारमा मल्हम लगाउन सकिन्छ । त्यसका लागि जिल्लाको हरेक पालिकामा औद्योगिक कोरिडोर निर्माण गर्नुपर्छ ।

२.२. वाणिज्य
पश्चिम क्षेत्रमा विगतमा नेपालगन्ज, राजापुर, गोलाघाट, कटासे प्रमुख व्यापारिक केन्द्र्र थिए । खाद्यान्न लगायतका वस्तुको लागि राजापुर क्षेत्र केन्द्र भए पनि औद्योगिक उत्पादनका लागि नेपालगन्ज नै प्रमुख बजार थियो । पहाडी जिल्लाबाट किनमेल गर्न आउने व्यापारी÷यात्रीले स्थानीय उत्पादन नेपालगन्जमा बिक्री गर्ने गर्थे र खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका बस्तुहरु खरिद गरेर लैैजान्थे । भारतबाट आयात गरिएका वस्तुहरु तिब्बतसम्म लगेर व्यापार गरिन्थ्यो । त्यत्तिबेला नेपालको तिब्बतसँगको व्यापार नाफा थियो । परापूर्वकालदेखि नै तिब्बत र भारतीय सामानको आयात निर्यात गर्न कर्णालीवासीका लागि बाँके व्यापारिक केन्द्र थियो । भारतीय बजार रुपैडिया, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, गोलाघाट हुँदै कर्णालीका जिल्लाबाट तिब्बतको हिल्सासम्म हुने गथ्र्यो । जुन मार्ग अहिले कर्णाली करिडोरको रुपमा विकसित हुँदैछ ।

विगतमा नेपालगन्ज मात्र केन्द्र भए पनि समयक्रममा अहिले कोहलपुर, खजुरा, रिमझिम चोक, बनियाभार, गाभर, कुसुम, अगैया, ढकेरी, बैजापुर, नरैनापुर, चिसापानी बजार, मिलन चोक, बनकटवा, सम्झना बजारलगायत क्षेत्रहरु आर्थिक केन्द्रका रुपमा विस्तार भइरहेका छन् । संघीयतापछि गाउँगाउँमा बजार क्षेत्र विस्तार भएको छ । सो क्षेत्रमा व्यवसायीहरु संगठित भएका छन् । २०२४ सालमा जिल्लामै नेपालगन्ज उद्योग वाणिज्य संघ (जिल्ला) स्थापना भयो । कोहलपुर उद्योग वाणिज्य संघ (नगर स्तरीय) संघ गठन गरिएको छ । जिल्ला संघको मातहतमा हरेक पालिकामा उद्योग वाणिज्य संघ गठन गर्नुपर्छ । गाउँगाउँमा उत्पादित कृषि उपज बिक्री गर्न विशिष्ठ एकीकृत कृषि बजारको जिल्लाको केन्द्र र हरेक पालिकाका विभिन्न स्थानमा व्यवस्था गर्नुपर्छ । तयारी पोशाक, अटो, खाद्यान्न, पेय पदार्थ, जडिबुटी, काष्ठ व्यवसायलगायतको एकीकृत र विशिष्ठ बजारको सञ्चालनमा जोड दिनुपर्छ । बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्व बहन गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्ने तरिकाले विकास गर्नुपर्छ ।

पश्चिमकै ठूलो भन्सार नाका नेपालगन्जको जमुनाहामा खुलेपछि आयात निर्यातमा सहजता भएको हो । जमुनाहा नाकामा अहिले आइसीपी निर्माणाधीन छ । बेला बेलामा सुख्खा बन्दरगाहको चर्चा हुने गरे पनि सञ्चालनमा चासो देखाइएको छैन । त्यसो त, बाँकेमा साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार स्थापना गरेर आयात निर्यात सहज बनाइएको थियो । यद्यपी सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका अधिकांश छोटी भन्सार सञ्चालन नहुँदा चोरी निकासी बढेको छ । खुद्रा व्यवसायदेखि ठूला व्यवसायसम्म सबैलाई अनिवार्य दर्र्ता प्रक्रियामा लगेर व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउनु पर्छ । व्यवसायीहरुलाई करको सीमा कारोबारको आधारमा निर्धारण गर्ने व्यवस्था गर्नुपर्छ । सीमामा आवागमन व्यवस्थित गर्न अनिवार्य रुपमा परिचय पत्र लागू गर्नुपर्छ । ‘फोहरमुक्त व्यवसाय’ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।


२.३. पर्यटन
बाँकेमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो तर यसको उचित प्रचारप्रसार हुन सकेको छैन । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा शक्तिपीठ माता बागेश्वरीको मन्दिर अर्को पर्यटकको गन्तव्य हो । विश्वमै नभएको जुंगे खडेश्वर महादेवको मन्दिर पनि पर्यटकलाई आकर्षित गर्न सक्छ । भुवंर भवानी देवीको मन्दिर, कम्मरशाह बाबा, इदगाहा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि यस जिल्लाका थप आकर्षणका विन्दुहरु हुन् । यसैगरी महेन्द्रपार्क मिनि चिडियाघर, रानी तलाउ, वाटर पार्क, कान्ति ताल पनि प्रमुख पर्यटकीय क्षेत्र हुन् । राप्ती नदी किनार क्षेत्र, ढकेरी, अगैया, गाभर, नरैनापुर क्षेत्र, कम्मरशाह, सहायक केन्द्र बन्नसक्छन् ।

व्यवसायिक रुपमा सञ्चालन भए पनि मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वण्डरल्याण्ड पनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक छन् । कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरु नेपालगन्जका होटलले धानेका थिए । पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायसँगै बाँकेको समग्र व्यापार व्यवसाय मारमा प¥यो । होटल व्यवसाय त धरासायी हुने अवस्थामा नै पुग्यो । संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको छ । भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज–दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ ।

नेपालगन्ज विमानस्थलको गुरुयोजनालाई तत्काल कार्यन्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बाँकेमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको अन्य पर्यटकीय स्थलसँग बाँके पर्यटन द्वार बन्नसक्छ । त्यसका लागि जिल्लामा ४ दर्जन बढी टुर्स एण्ड ट्राभल्स एजेन्सी खुलेका छन् । स्टार र स्टार लेभलका होटल र ४ वटा सामुदायिक होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । बाँकेका अन्य सांस्कृतिक पहिचान बोकेका समुदायहरुमा पनि होमस्टे विस्तार गर्नुपर्छ । बाँकेका कुनै पनि स्टार वा स्टार लेभलका होटलहरुमा अनिवार्य रुपमा एउटा स्थानीय स्वादको परिकारहरुको रेष्टुरेन्ट हुनै पर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ । (जस्तै : नेपालगन्जको चाट, रावडी, बिरयानी, सेकुवा, चिया आदि) । बाँकेको मिलनविन्दु नेपालगन्ज सहरको ऐतिहासिक स्थान त्रिभुवन चोक आसपास समेट्ने गरी वकिङ स्ट्रिट (पैदल मार्ग) को रुपमा विकसित गरिनुपर्छ । सांस्कृतिक संग्राहलयको निर्माण गर्नुपर्छ । कला क्षेत्रको विकासका लागि थियटरको निर्माण गर्नुपर्ने । दोहोरो साँझ, डिस्को, क्यासिनो सिटी निर्माणका लागि उपयुक्त मापदण्डका आधारमा पर्यटन मैत्री वातावरणको व्यवस्था गर्नुपर्छ ।

२.४. कृषि क्षेत्र
बाँके कृषि उपजका लागि उर्भर भूमि हो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाको कूल २ लाख २५ हजार ७३६ हेक्टर क्षेत्रफल मध्ये ९२ हजार ६८ हेक्टर अर्थात ४०.७७ प्रतिशत खेतीयोग्य जमिन छ । कूल क्षेत्रफलको ५०.१७ प्रतिशत अर्थात १ लाख १३ हजार २९५ हेक्टर वन, २० हजार ४७३ हेक्टरमा नदी, बगर र चट्टान रहेको छ । यहाँको कृषि उत्पादन (धान, गहुँ, तोरी, मकै, मसुरो, तरकारी, फलफूल, जडिबुटीआदि)ले जिल्लाको आवश्यकता पूर्ति गरेर पनि बाहिर बिक्री गरिन्छ । जिल्लाको ग्राहस्थ उत्पादनमा ठूलो योगदान रहेको छ । अधिकांश आकासे खेतीमा निर्भर जिल्लाको कृषिमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले कृषि उद्योगको सम्भावना बढाएको । कृषि पकेट क्षेत्र र स्मार्ट कृषि गाउँ बनाइएका छन् । यसको विस्तार र कृषि उपजको बजारीकरण आफैले खोल्नुपर्छ । तरकारी र खाद्यान्नमा जिल्ला आत्मनिर्भर हुँदै गर्दा अन्य कृषि उपजहरुमा पनि आत्मनिर्भर बनाउनुपर्छ । अर्गानिक खेतीमा जोड दिनुपर्छ । रसायनिक मल उत्पादनका लागि प्रादेशिक स्तरमा उद्योग स्थापना गर्नुपर्छ । प्रारङ्गिारिक मल उत्पादनका लागि स्थानीय तहमै कारखाना स्थापना गर्नुपर्छ । कृषियोग्य जमिनलाई खण्डिकरण गर्ने प्रक्रिया तुरुन्त रोकी सहकारी स्तरमा चक्लाबन्दीको व्यवस्था गरेर उत्पादनको पकेट क्षेत्र बनाउनुपर्छ । त्यसलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।

२.५. शिक्षा क्षेत्र
कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमका २४ जिल्लाको उच्च शिक्षा अध्ययन गर्ने थलो बाँके थियो । नेपालगन्जमा रहेका त्रिभुवन विश्वविद्यालयको दुई आंगिक क्यापस (महेन्द्र बहुमुखी क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस)ले शिक्षा शिक्षामा ठूलो योगदान गरे । त्यसपछि शैक्षिक क्षेत्र विस्तार हुने क्रममा भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज मेडिकल कलेजलगायत अन्य शैक्षिक र प्राविधिक धारका शिक्षालयहरुले योगदान गरिरहेका छन् । बाँकेमा विशेष प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्नुपर्छ । यो विश्वविद्यालयले विदेशमा पढ्न जाने विद्यार्थीलाई रोक्ने खालका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय उद्योग, व्यापार र सेवालाई चाहिने जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा व्यवसायिक सीपमूलक तालिम सञ्चालनमा जोड दिनुपर्ने । समृद्ध बाँके निर्माण गर्ने क्रममा यहाँ अवस्थित शैक्षिक पूर्वाधारले मात्र सेवा प्रदान गर्न नसक्ने हुँदा यस क्षेत्रका अन्य पालिकाहरुलाई शैक्षिक हबको रुपमा विकास गर्र्नुपर्छ ।

२.६.स्वास्थ्य क्षेत्र
बाहिरी जिल्लाबाट बाँके आउने पर्ने अर्को कारण हो, स्वास्थ्योपचार । स्वास्थ्य सेवामा विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको भेरी अस्पताललाई विशिष्ठिकृत अस्पतालसँगै शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ । चितवन पश्चिममा एक मात्र क्यान्सर उपचारका लागि विशिष्ठिकृत अस्पतालको रुपमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई सम्पूर्ण सेवासहित सञ्चालन गर्नुपर्छ । क्यान्सरको उपचारका लागि राजधानी र भारत जाने बिरामीलाई गाउँठाउँमा सेवा प्रवाह गर्न सकिन्छ । हामीले बिर्सनै नहुने अर्को नाम भनेको नेपालगन्ज मेडिकल कलेज हो । जसले स्वास्थ्य सेवा मात्र होइन, चिकित्सक पनि उत्पादन गरिरहेको छ । यसको सेवा सुविधालाई सर्वशुलभ र विशिष्ठिकृत बनाउन जरुरी छ । पछिल्लो समयमा खुलेका स्वास्थ्य संस्थालाई सामाजिक उत्तरदायी बनाउँदै सेवा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

२.७. पूर्वाधार विकास
बाँकेका सबै स्थानीय तहमा सडक सञ्जाल विस्तार भइसकेको छ । गाउँटोलमा पक्की सडक र नाली निर्र्माण भएका छन् । जिल्लाका सबै स्थानीय तहलाई पूर्वपश्चिम राजमार्ग, रत्नराजमार्ग र हुलाकी राजमार्गले जोडेको छ । आगामी दिनमा रेलमार्ग, हुलाकी राजमार्गको विस्तार, नेपालगन्ज र कोहलपुरमा छुट्टाछुट्टै चक्रपथ निर्माण, पूर्वाधारको स्तरोन्नती र ग्रामीण भेगमा पनि भौतिक पूर्वाधार विकासमा जोेड दिनुपर्छ ।

२.८. ग्रीन र डिजिटल सिटी
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकालाई ग्रीन सिटी र डिजिटल सिटीका रुपमा विकास गर्दै स्मार्ट सिटी बनाउनुपर्ने । गाउँ तथा नगरका घर, निजी तथा सरकारी कार्यालयहरुको डिजिटल तथ्यांक संकलन गरी विद्युतीय प्रणाली (चिप्स सिस्टम) मा सूचना आदान प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । नेपालगन्जमा सडक विस्तारका क्रममा ठूलो संख्यामा रुखहरु कटान गरिएका थिए । अहिले सुर्खेत रोडमा ग्रीनरी बनाइएको छ । यो पर्याप्त छैन । नयाँ घरको नक्सा पास गर्दा अनिवार्य रुपमा वृक्षारोपण गर्ने व्यवस्था गर्नुपर्छ ।

२.९.पर्यावरण
नदीजन्य पदार्थको अत्यधिक दोहन प्रक्रियाले पर्यावरणीय सन्तुलन गुम्न सक्ने खतरालाई वातावरणमैत्री बनाउनुपर्छ । ठूला उद्योगहरुलाई प्रदुषणमुक्त गराउनु गर्ने र उद्योग आफैले उत्पादन गरेको फोहरलाई व्यवस्थापन गर्ने विधि उद्योग स्थापना अवधिमा बाध्यात्मक व्यवस्था गर्नुपर्छ । फोहरमैलाले गाउँ, बजार, नगरलाई कुरुप बनाउने भएकाले यसको व्यवस्थापन पूर्वाधार निर्माण प्रक्रियामै एकीकृत ढंगले निर्माण गर्नुपर्छ । जैविक विविधताको संरक्षण जस्तै पूराना ताल तलैया र सिमसार क्षेत्रको खोजीैज र संरक्षण प्रबद्र्धन गर्नुपर्छ ।

३. चुनौतीहरु
– मुलुकको संघीय संरचना अनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले व्यवसायिक क्षेत्रका लागि निर्माण गरेका नीति, निर्देशिका, तथा कानुनहरुको तेहेरो मारमा उद्योगी व्यवसायी मारमा परेका छन् । यसरी बनेका कानुनले उद्यम वा व्यवसाय क्षेत्रलाई प्रबद्र्धन गर्नेभन्दा पनि कर असुली माध्यम बनाएको देखिन्छ ।
-औद्योगिक प्रतिष्ठानभित्र हुने राजनीति, प्रमुख राजनीतिक दलहरुको हस्तक्षेप र दलगत टे«ड यूनियनको गठन आदिसँग उद्योग सञ्चालन प्रक्रियामा अवरोध छ ।
– स्वदेशमा दक्ष प्राविधिक जनशक्तिको अभाव ।
– नेपाली उद्योगलाई स्वेदशमै कच्चा पदार्थको अभाव ।
– कृषि क्षेत्रले हरेक सिजनमा मल, बिउबिजन, विषादी, औजारको अभाव झेल्नुपर्छ ।
– राष्ट्रिय गौरव लगायत सरकारी लगानीका आयोजनाहरु सम्पन्न गर्न जानीजानी ढिलाइ हुनु
– राजनीतिक दलहरुको विकास निर्माण परियोजनाहरुमा दलगत स्वार्थले साझा धारणा बन्न नसक्नु ।
– कुनै पनि औद्योगिक उत्पादन प्रक्रियामा यस नयाँ प्राविधि भित्रिँदा तत्काल आत्मसात गर्ननसक्नु ।
– व्यवसायिक प्रतिष्ठानका गतिविधिबारे सामाजिक उत्तरदायी र उत्प्रेरणा दिने खालका मिडिया सामग्रीको अभाव ।
-व्यवसायिक प्रतिष्ठानहरुको तथ्य, तथ्याङ्क एकीकृृत रुपमा उपलब्ध नहुनु
४. समाधानका उपायहरु
-तेहेरो कर प्रणालीलाई एकद्वार कर प्रणालीमा रुपान्तरण गर्नुपर्छ । औद्योगिक क्षेत्रभित्र स्थापना भएका उद्योगका लागि विशेष गरी उद्योगको उत्पादन परियोजनाको आधारमा सरकारले ऋण दिने व्यवस्था गर्नुपर्छ । यस्तो अभ्यास अन्य मुलुकमा छ ।
– उद्योग व्यवसायमैत्री नीति, नियम, कानुन र कार्यक्रम निर्माण गर्नुपर्छ ।
– निर्यातजन्य उद्योगका लागि सहुलियतपूर्ण ऋण लगायत अन्य व्यवस्था गर्नुपर्छ ।
-औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगहरुलाई प्रथम पटकका लागि विद्युत, भूमि शुल्क, पानी, कर नेपाल सरकारले निश्चित अवधिका लागि छुटको व्यवस्था गर्नुपर्छ ।
– औद्योगिक प्रतिष्ठानभित्र हुने राजनीति, प्रमुख राजनीतिक दलहरुको हस्तक्षेप र दलगत टे«ड यूनियनको गठन आदिसँग उद्योग सञ्चालन प्रक्रियामा अवरोध अन्त्य गर्न उपयुक्त कानुन निर्माण गरी निरुत्साहित गर्नुपर्छ तर पेशागत हकहितका लागि साझा टे«ड यूनियनलाई रचनात्मक भूमिका खेल्न दिनुपर्छ ।
– स्वदेशमा दक्ष प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्नका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आवश्यकताका आधारमा तत्काल प्राविधिक तालिम दिएर स्वदेशमै काम गर्ने वातारण बनाउनु पर्छ ।
– उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वेदशीमै उत्पादनमा राज्यद्वारा विशेष व्यवस्थाका साथ वातावरण निर्माण गर्नुपर्र्ने ।
– कृषि क्षेत्रका लागि मल, बिउबिजन, विषादी, औजारको व्यवस्था सिजन सुरु हुन अगावै गर्नुपर्छ । रसायनिक मलको देशमै उत्पादन गर्नुपर्ने व्यवस्था गर्नुपर्छ वा मल र विषादीको परम्परागत अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ ।
– समृद्ध जिल्लाका लागि समृद्ध मिडिया आवश्यक छ । त्यसका लागि राज्य वा व्यवसायिक प्रतिष्ठानले मिडियाको दीगो विकासका लागि अनुकूल नीति र निजी क्षेत्रसँग सहकार्यको वातावरण बनाउनुपर्छ । जसले गर्दा जनस्तरबाट मिडियालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ ।

५. निष्कर्ष
उद्योेग, वाणिज्य, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकास नै बाँकेको समृद्धिको आधार हो । यी क्षेत्रको विकासमा व्यक्ति, संस्था, समाज र राज्यको उत्तरदायी भूमिका प्रमुख हुन्छ । व्यक्ति वा संस्थाले लगानीको वातावरण पाउनु पर्छ । त्यसका लागि राज्यले नीति, नियम र कानुनी व्यवस्था लगानीमैत्री हुनुपर्छ । सडक, विद्युत, पानीलगायतका दीगो पूर्वाधार निर्माणको सुनिश्चिता राज्यले गर्नुुपर्छ । सम्पूर्ण सञ्चालित उद्योेग प्रतिष्ठानहरु स्वदेशी कच्चा पदार्थ र स्वदेशी मैत्री बन्नुपर्छ । यसले उत्पादन प्रक्रियालाई आत्मनिर्भर बनाउँछ । व्यवसायिक प्रतिष्ठानहरु समाजप्रति उत्तरदायी हुनुपर्छ । समृद्ध बाँके निर्माणका लागि सर्वपक्षीय, सर्वदलीय, अन्तर सरकार (संघीय, प्रादेशिक र स्थानीय), व्यवसायिक प्रतिष्ठानको समन्वयात्मक भूमिका अनिवार्य हुन जरुरी छ ।

(समृद्ध बाँकेका आधार खोज्दै नेपालगन्ज उद्योग वाणिज्य संघले सरोकारवाला निकायका अगुवासंग बृहद छलफल अभियान शुरु गरेको छ । यो अभियानले समृद्ध बाँके निर्माणको अभियानलाई टेवा दिने बिश्वास गरिएको छ । यसै सन्र्दभमा संघले गरेको बृहद अन्तरक्रियामार्फत आएका सुझाव समेतको निष्कर्ष यहाँ समेटिएको हो ।)

प्रकाशित मितिः     २९ पुष २०७८, बिहीबार १३:०७  |
error: Content is protected !!