नेपालगन्ज– पढाईमा जेहेन्दार तर आर्थिक अभावका कारण डाक्टर बन्ने सपना अधुरो हुँदै त छैन ? हो, त्यस्तो अवस्था नआओस् भनेर बाँकेको कोहलपुर नगरपालिकाले प्रोत्साहन स्वरुप जेहेन्दार विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्न शुरु गरेको छ । नगरपालिकाका मेयर लुटबहादुर रावतका अनुसार उक्त योजना कार्यान्वयनमा आइसकेको छ । एमबिबिएस अध्ययनका लागि उक्त रकम अभिभावकलाई सहयोगी सावित भएको मेयर बताउँछन् ।
‘पैसा अभावकै कारण कसैको पनि डाक्टर बन्ने सपना नतुहियोस् भनेर छात्रबृत्तिको योजना ल्याएका हौं । ’–कोहलपुर नगरपालिकाका मेयर रावत भन्छन्–‘पहिलो पटक दुई जनालाई सहयोग गरेका छौं । यसबाट उहाँहरुको अध्ययनमा मल्हमको काम गर्ने बिश्वास लिएका छौं । ’ नगरपालिकाले एमबिबिएस छात्रबृत्तिका लागि निश्चित मापदण्ड बनाएको छ । कोहलपुरको स्थानीय हुनुपर्ने मात्र नभई आर्थिक अवस्थाका आधारमा समेत छात्रबृत्तिका लागि छनौट गरिएको छ । मेयर रावतका अनुसार अध्ययन लागतको ५० प्रतिशत रकम प्रदान गरिने छ ।
इसपटक बिनिता लम्साल, उज्ज्वल गिरी छात्रबृत्तिकाम लागि योग्य भएका छन् । उनीहरुलाई ५० प्रतिशत छात्रबृत्ति रकम निकासाको अन्तिम तयारी भइरहेको छ । मेयर रावतले छात्रबृत्तिबाट एमबिबिएस अध्ययन गरिसकेपछि बन्ने डाक्टरले नगरपालिकाका जनताको स्वास्थ्य उपचारमा सहायता गर्ने बिश्वास लिएको बताएका छन् । उनी भन्छन्–‘यो योजना आगामी दिनमा आउने जोकोही जनप्रतिनिधिले पनि कार्यान्वयन गर्नुहुन्छ भन्ने आशा लिएको छु, हामीले त सुरुवात मात्र गरेका छौं ।’