कांग्रेसमा युवराज शर्मालाई न्याय !


नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बन्नुभएको हो । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।

राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बन्नुभएको हो । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उहाँ निर्वाचित हुनुभएको छ । २०२७ सालमा भारतको बनारशबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा शर्मा सहभागी हुनुभएको थियो । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा शर्मा उपाध्यक्ष हुनुभएको हो ।

शर्मा बाँके कांग्रेसको सभापति बाहेक अरु ठूलो पदमा अहिलेसम्म पुग्नुभएको थिएन । ओझेलमा रहेका शर्मालाई यस पटक देउवाले राष्ट्रिय सभामा उम्मेदवार बनाउनु भएको हो । कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सक्नुभएको थिएन ।

२०४५ देखि २०४९ सालसम्म उहाँ कांग्रेस बाँकेको सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । पार्टीमा योगदान धेरै भए पनि विगतदेखी हरेक अवसरबाट बञ्चित हुँदै आएको शर्माका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधी गरेका कारण उहाँ २०२४ सालमा पहिलो पटक जेल पर्नुभएको थियो । २०२४ सालपछि पटक–पटक गरेर आफू ३-४ वर्षजति जेल बसेको उहाँ बताउनु हुन्छ ।

देउवाका साथी, सुशीलसँग वारपार

पार्टीको राजनीतिमा रहँदा उनको नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै जानुभयो तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पद पाउनु भएन । कोइराला र शर्माबीच द्वन्द्व बढ्दै जाँदा उहाँले राजनीतिक अवसर नपाएको बताइने गरिएको छ ।

कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाउनु भयो । शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिइएन । पार्टीले टिकट नदिएपछि उहाँ २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभयो ।

शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आउनु भएको छ । उहाँ कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मितिः     १३ माघ २०७८, बिहीबार ०९:१५  |