लुम्बिनी प्रदेशमा सिमसारको छैन संरक्षण, सभ्यता र सम्भावना मासिने चिन्ता


नेपालगन्जस्थित कान्तिताल (तस्वीर :आशिष बर्मा)

लुम्बिनी प्रदेश सिमसारको दृष्टिमा सम्पन्न मानिन्छ । तराईको समतल भूमिदेखि महाभारत लेकसम्म फैलिएको लुम्बिनी प्रदेशका सबै १२ जिल्लाहरुमा कुनै न कुनै किसिमका सिमसारहरु रहेका छन् । नदीका जलाधार क्षेत्रहरु, प्राकृतिक तालतलैया, धापिला खेतहरु प्रदेशका मुख्य सिमसारहरु हुन्, जसले लुम्बिनी प्रदेशलाई निरन्तर पानी उपलब्ध गराएर हराभरा बनाईरहेका छन् । यस प्रदेशमा ३२ वटा मुख्य जलाधार प्रणालीहरु रहेका छन् जस अन्तर्गत ४४ वटा नदि तथा खोलाहरु रहेका छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिले गत वर्ष तयार गरेको प्रतिवेदनमा यस प्रदेशमा १०० वटा ताल तलैयाहरु समावेश छन् । त्यसैगरी चुरे बोर्डले यस प्रदेशको चुरे क्षेत्रमा १२५ सिमसार क्षेत्रको अभिलेखीकरण गरेको छ । यी जलाधार क्षेत्रमा रहेका सानाठूला खोला नदी र ताल तलैयाहरुले प्रदेशमा खानेपानी, सिचाई, पशुपालन र वन विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सिमसारको दृष्टिले कपिलवस्तु जिल्ला सबैभन्दा सम्पन्न छ । यहाँ तीन सय ५१ ताल तलैया रहेका छन् । यहाँ रामसार सुचिमा सुचिकृत एबं नेपालको सबैभन्दा ठूलो कृत्रिम ताल जगदिशपुर ताल रहेको छ । सिचाइको लागि बनाइएको यो ताल जैविक विविधताले भरिपूर्ण र आकर्षक भएकोले अनुसन्धानकर्ता र पर्यटकहरुको रोजाइको स्थान बनेको छ । लुम्बिनी प्रदेश सरकारले यस ताललाई पर्यापर्यटनको केन्द्रको रुपमा विकास गर्न केहि संरचनाहरु समेत निर्माण गरेको छ । यो ताल बाहेक अजिगरा ताल सेखुबनिया जलाशय, हरिहरपुर ताल, बुढ्ढी ताल, देउरी ताल, बृजवान ताल, निग्लिहवा ताल, शंकरपुर ताल र लम्बुसागर (सगरहवा ताल), राजापानीका साथै वाणगंगा, अर्रा, अगिया, कोइली, सुराई, चिराई, गुडरुङ, जमुवार लगायत एक दर्जन नदीनालाहरु पनि कपिलवस्तु जिल्लामा रहेका छन् । बिभिन्न कालखण्डमा बनेका यी ताल तलैयाहरुले सिंचाइ, मत्स्यपालन, पशुपालन र जीविकोपार्जनमा स्थानीयलाई सघाइरहेका छन् ।

कपिलवस्तुसंगै सिमा जोडिएको रुपन्देही जिल्लामा गजेडी ताल, गैंडहवा ताल, बड्की ताल, कर्महवा ताल, कपरकट्टी ताल, पोखरा ताललगायत दुई सय ८९ ताल रहेका छन् । यहाँका तिनाउ, दानो, कन्चन, रोहिणी नदि र डण्डा नदीका जल क्षेत्रहरु र लुम्बिनीमा रहेको धापिलो घाँसे क्षेत्र ९सारस संरक्षण क्षेत्र० पनि सिमसारको दृष्टिले महत्वपूर्ण छन् । नवलपरासी जिल्लामा बुद्धमंगल ताल, नन्दन ताल, झरही खोला, तुरिया खोला र गण्डक नहरको कारणले बनेका धापिला खेत र पोखरीहरु रहेका छन् ।

जलाधार क्षेत्रको हिसाबले दांग जिल्ला सबैभन्दा धनी छ । राप्ती र ववई यस जिल्ला भै वग्ने ठूला नदिहरुको रुपमा परिचित छन् । यी नदीहरु वाहेक यस जिल्ला भएर वग्ने खोलानालाहरुमा कटुवा खोला, सिस्ने खोला, सेवार खोला, हापुर खोला, पत्रे खोला, संग्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, आदि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, तप्त कुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटे दह, किचेनी दह, ज्यामिरे दह, मयुर ताल पर्दछन् । दांग जिल्लामा नदि र ताल तलैयाहरु भएपनि तिनीहरुको उपयोग न्यून छ । बबई र राप्ती नदीको पानीलाई सिचाइमा प्रयोग गर्न सकिने भएपनि ठूला आयोजनाको अभावले गर्दा सिचाइमा समस्या छ । पछिल्ला वर्षहरुमा धारापानी ताल र जखोरा तालमा पर्यटकीय चहलपहल भएपनि राजपुर् गाउपालिकाको खंग्रा नाका नजिक रहेको मनोरम मयुर तालमा अहिलेसम्म आन्तरिक र वाह्य पर्यटक पुग्न सकेका छैनन् । जिल्लामा भएका अन्य तालहरुको संरक्षण र व्यवसायिक प्रयोग हुन् सकेको देखिँदैन ।

बर्दिया जिल्लामा कर्णाली र बबई नदीको बहाव क्षेत्रमा थुप्रै धापिला क्षेत्रहरु छन् । यी धापिला क्षेत्रहरुले वर्दिया राष्ट्रिय निकुन्जका जीवजन्तुलाई पानी उपलब्ध गराउनुको साथै निकुन्जलाई हराभरा राख्न मद्दत गरेका छन् । यस बाहेक बढैयाताल, गोनाना, सतखोलवा ताल, ताराताल रहेका छन् । बढैया ताललाई पर्यटकीय गन्तब्य बनाउन स्थानीय सरकार कम्मर कसेर लागेको छ र आन्तरिक पर्यटकको गन्तब्य बनिरहेको छ । बाँके जिल्लामा बनकट्टा, फुलटेग्रा, टेहरी जस्ता सिमसार भएपनि ठूला तालहरु छैनन् । तर राष्ट्रिय ताल संरक्षण समितिका अनुसार यहाँ २४३ वटा साना ताल तलैयाहरु रहेका छन् । यी बाहेक बाँके जिल्लामा राप्ती, बबई र मानखोलाको जलाधार क्षेत्रमा प्रसस्त साना तालहरु र धापिला जमिनहरु पाइन्छन् । राष्ट्रिय निकुन्जलाई हराभरा बनाउन र परम्परागत सिचाइमा सहयोग पु¥याउने काम बाहेक बाँके र बर्दियाका नदि, तालहरुको व्यवसायिक उपयोग हुन सकेको भने देखिँदैन ।


लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा जिल्लामा ठूला सिमसार कम भएपनि जैविक विविधता र अन्य दृष्टिले ती महत्वपूर्ण छन् । पाल्पा जिल्लाको अन्न भण्डार भनिने माडी र झडेवा फाँटको दलदल जमिन ठूलो प्राकृतिक सिमसार क्षेत्र तिनाउ नदीको मुहान हो । प्रभासमा रहेको कमल पोखरी, पाल्पाकै उच्च पहाडी भागमा रहेको सत्यवती ताल र जिल्लाको पूर्वी केन्द्र रामपुरमा रहेको तालपोखरा अहिले धार्मिक र पर्यटकीय गन्तब्य बनिरहेका छन् । अर्घाखाँची जिल्लामा रहेका पाणिनी दह र ठाडाको दह धार्मिक रुपबाट महत्वपूर्ण मानिन्छन भने गुल्मी जिल्लामा रहेको दिब्रुङ र ठिमुरे दह प्रवल पर्यटकीय सम्भावना बोकेको ताल हुँदाहुँदै पनि कुनै उपयोगमा आउन सकेको देखिदैन । रोल्पा जिल्लामा माडीखोला, लुग्रींखोला, जिनावाङखोला लगायत एक दर्जन खोलाहरु रहेका छन् भने प्युठान जिल्लामा भिंग्री दह, तिराम दह, धर्मावती (झिम्रुक), माण्डवी, राप्ती र यिनका सहायक नदीका आसपासका समतल भुभागहरु सिमसारका रुपमा रहेका छन् । रुकुम पूर्वमा सानी भेरी नदि र नेपालकै प्रसिद्ध कमल दहकासाथै छिप्री दह रहेका छन् । विगतमा कमलको डाँठ र फूल संकलन गर्ने थलोको रुपमा मात्र सिमित कमल दह पछिल्लो समयमा पर्यटकीय गन्तब्य पनि बनिरहेको छ ।

सिमसार क्षेत्रलाई कृषि उत्पादनको दृष्टिले उर्वर भूमि र जैविक विविधताको दृष्टिले अत्यन्तै धनी क्षेत्रका रुपमा लिइन्छ । पारिस्थितिक पद्धतिको सन्तुलन गर्न, भूमिगत जलस्रोत र पानीका अन्य स्रोतहरू कायम राख्न, पहिरो रोकथाम गर्न र पोषकतत्वको चुहावट रोक्न सिमसारको अह्म भूमिका रहन्छ । कृषि उत्पादन, पर्यटन, जलविद्युत र पर्यावरण सन्तुलनमा सबै किसिमका सिमसारहरुलाई उपयोग गर्न सकिने भएपनि अहिलेसम्म लुम्बिनी प्रदेशका सिमसारहरुबाट अति न्यून मात्रामामात्र लाभ लिन सकिएको छ । पछिल्लो समयमा यहाँका ताल र प्राकृतिक पोखरीहरुमा पर्यटकको आकर्षण बढेको पाइएको छ । रुपन्देहीकै नन्द भाउजु, गैडहवा र दानापुर ताल, कपिलवस्तुको जगदीशपुर ताल र राजापानी क्षेत्र, अर्घाखाँचीको ठाडा दह, गुल्मीको ठिमुरे दह, दांगको जखोरा ताल र बाह्रकुने तालमा विस्तारै पर्यटकहरु बढ्न थालेका छन् । केहि तालहरुमा समुदायको चासो बढेकोले संरक्षण र प्रचार प्रसारका कार्यहरु हुँदै जाँदा पर्यटकीय लाभ लिन सकिने भएको छ तर अधिकांश ताल तलैयाहरु समुदाय र सरकारकै वेवास्ताको कारणले अतिक्रमण परेर, भूक्षयको चपेटामा परेर नासिदै पुरिदै गैरहेका छन् । खोला र नदि किनारका धापिला जग्गा, जलाधार क्षेत्र, ताल÷पोखरी अतिक्रमण गर्ने, सिमसार पुरिने गरि भौतिक निर्माण गर्ने जस्ता कार्यहरु प्रदेशभरि निर्वाध चलिरहेको छ । यस्ता गतिविधिले प्रदेशको सिमसार र जलाधारको भविस्य नै संकटपूर्ण बनेको छ ।

लुम्बिनी प्रदेशमा सिमसारको संख्या र वहुप्रयोगको सम्भावना भएपनि प्रदेश सरकारबाट अहिलेसम्म सिमसारको अभिलेखीकरण, संरक्षण, व्यवस्थापन र उपयोगका योजनाहरु आउन सकेका छैनन् । प्रदेशको पहिलो आवधिक योजनामा जैविक विविधता र जलाधार संरक्षणका साथै सिमसारको संरक्षण र प्रयोगलाई जोड दिने कुरा उल्लेख भएको पाइन्छ । हरेक वर्षका नीति कार्यक्रममा गाउँ र वनमा पोखरी खन्ने कुराहरु आउने गरेका छन् । तर प्रदेशले अहिलेसम्म सिमसार सम्बन्धि नीति, निर्देशिका र कानून निर्माण गरेको छैन ।

प्रदेश वन मन्त्रालयले वन विधेयकको मस्यौदा तयार गर्दा परिच्छेद १८ मा सिमसार र ताल तलैया सम्बन्धि व्यवस्था समेत समावेश गरिएको थियो । तर प्रदेश सभामा प्रस्तुत गर्दा त्यो दफालाई नै हटाएर वन ऐन तयार गरिसकिएको छ । यसले प्रदेश सरकारको सिमसार प्रतिको वेवास्ता झल्काउँछ । स्थानीय क्षेत्रमा रहेका सिमसार र ताल तलैयाको संरक्षण, व्यवस्थापन र उपयोग गर्ने दायित्व स्थानीय सरकारको हो। तर स्थानीय सरकारहरु विकास र समृद्धिको नाममा यस्ता ताल/पोखरी र सिमसारमा पूर्ण अग्रसर भैरहेका छन् । समुदाय जाग्दा केहि ठाउँमा ताल तलैया संरक्षण, सौन्दर्यिकरण र प्रचार प्रसार गर्ने कामहरु गरेकोले सिमसारहरुले मुहान फेर्न पाएका छन् र लाभ समेत प्राप्त हुन् थालेको छ । तरपनि कानूनी अपर्याप्तता, स्थानीय सरकार र राजनैतिक दलहरुको गैरजिम्मेवारीपन, सरकारी निकायहरुको असहयोग र चेतनाको कमिले गर्दा सिमसार क्षेत्रहरु ओझेलमा परेका छन् अनि मासिँदै गएका छन् । सिमसार मासिँदै जाँदा धेरै सभ्यता र सम्भावनाहरु पनि मासिने निश्चित छ । त्यसैले प्रदेशमा उपलब्ध सबै जलक्षेत्र र सिमसारको उचित संरक्षण र उपयोग गर्ने कुरामा स्थानीय र प्रदेश सरकार तत्कालै अघि सर्नु आवस्यक छ । प्रदेशमा रहेका सम्पूर्ण तालतलैयाको नक्शांकन, तालिकिकरण र संरक्षणका कामहरु बेलैमा थालिएन भने केहि वर्ष भित्रमा अधिकांश ताल तलैयाहरु चौर र खेतबारीमा परिणत नहोलान् भन्न सकिँदैन ।

प्रकाशित मितिः     २७ माघ २०७८, बिहीबार ११:३९  |